Siraha Times
ताजा समाचार

सिरहा भन्सार कार्यालय खैरटोका अगाडि साना व्यापारीको प्रदर्शन

  • जेठ ४, २०८३
  • ५०८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान, जेठ ४ । सिरहा जिल्लाको खैरटोकास्थित सिरहा भन्सार कार्यालयको मूल गेट अगाडि आइतबार साना व्यापारीहरुले प्रदर्शन गरेका छन्। सशस्त्र प्रहरी बलले जिप स्टेण्ड क्षेत्रबाट करिब ८/९ वटा साइकलमार्फत ल्याइँदै गरेको मालसामान नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाएको भन्दै व्यापारीहरु आन्दोलनमा उत्रिएका हुन्।

स्थानीय स्रोतका अनुसार भारतबाट दैनिक उपभोग्य सामान सानो परिमाणमा ल्याएर जीविकोपार्जन गर्दै आएका व्यापारीहरुको सामान अचानक नियन्त्रणमा लिएपछि उनीहरु आक्रोशित बनेका हुन्। प्रदर्शनमा सहभागी व्यापारीहरुले आफूहरु ठूला तस्कर नभई दैनिक गुजारा चलाउन सानो स्तरको व्यापार गर्दै आएको बताएका छन्।

प्रदर्शनकारीहरुले “गरिबमाथि अन्याय बन्द गर”, “सामान फिर्ता गर”, “साना व्यापारीलाई दुःख दिन बन्द गर” जस्ता नाराबाजी गर्दै भन्सार कार्यालय अगाडि केही समय धर्ना दिएका थिए। उनीहरुले नियन्त्रणमा लिइएको सामान तत्काल फिर्ता गर्न तथा भविष्यमा साना व्यापारीमाथि अनावश्यक कडाइ नगर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

एक स्थानीय व्यापारीले भने, “हामी दिनभरि दुःख गरेर परिवार पालिरहेका छौं। ठूलो तस्करी रोक्न नसक्ने निकायले गरिबको सामान समातेर दुःख दिइरहेको छ।” प्रदर्शनका क्रममा केही समय भन्सार कार्यालय परिसर तनावग्रस्त बनेको थियो भने सुरक्षाकर्मीको उपस्थिति समेत बढाइएको थियो।

स्थानीयवासीहरुले सीमावर्ती क्षेत्रमा साना व्यापारीहरुको व्यापार नै मुख्य आम्दानीको स्रोत भएकाले उनीहरुको समस्यालाई संवेदनशील ढंगले समाधान गर्नुपर्ने बताएका छन्। उनीहरुले कानुनी प्रक्रिया पालनासँगै गरिब तथा दैनिक ज्यालादारी प्रकृतिका व्यापारीप्रति मानवीय व्यवहार आवश्यक रहेको धारणा राखेका छन्।

यता, घटनाबारे सिरहा भन्सार कार्यालय तथा सशस्त्र प्रहरी बलको आधिकारिक प्रतिक्रिया आउन बाँकी रहेको छ। सम्बन्धित निकायले नियन्त्रणमा लिइएको सामानको प्रकृति, भन्सार प्रक्रिया तथा कारबाहीबारे औपचारिक जानकारी सार्वजनिक नगरेका कारण व्यापारीहरु थप अन्योलमा रहेका छन्। प्रदर्शनपछि व्यापारीहरुले आफ्नो माग सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी समेत दिएका छन्।

प्रतिक्रिया दिनुहोस

कर्जन्हामा ब्राउन सु ...

ओम प्रकाश यादव लहान साउन ३। सिरहाको कर्जन्हा नगरपालिका–११ स्थित नयाँ टोल, आइस फ्याक्ट्री क्षेत ...

६४औँ इन्जिनियर्स डेम ...

वीरगंज ३ साउन। ६४औँ इन्जिनियर्स डेको अवसरमा नेपाल इन्जिनियर्स एशोसिएसन (NEA) वीरगञ्ज केन्द्रको आयोजन ...

कल्याणपुरमा ७ वर्षीय ...

ओम प्रकाश यादव लहान साउन ३ । सिरहाको कल्याणपुर नगरपालिका–१२ बेल्हामा ७ वर्षीय बालकको मृत्यु प् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१