Siraha Times
ताजा समाचार

आदर्श कोतवालमा नेशनल मेडिकल कलेजको बृहत निःशुल्क स्वास्थ्य शिविर, १०८२ जनाले पाए सेवा; सहकार्यका लागि MoU हस्ताक्षर

  • वैशाख ११, २०८३
  • ३६१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रंजित चौरसिया,कलैया ११ वैशाख। बारा जिल्लाको आदर्श कोतवाल गाउँपालिकामा नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जको आयोजनामा “बृहत निःशुल्क स्वास्थ्य शिविर” सफलतापूर्वक सम्पन्न भएको छ। वैशाख ११ गते बिहान ९:३० बजेदेखि सञ्चालन भएको उक्त शिविरमार्फत ग्रामीण भेगका सर्वसाधारणलाई लक्षित गरी व्यापक तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरिएको थियो। शिविरमा निःशुल्क स्वास्थ्य परीक्षण, औषधि वितरणका साथै ECG, ECHO र USG जस्ता महत्वपूर्ण सेवा उपलब्ध गराइएको थियो।

विभिन्न विशेषज्ञ चिकित्सकहरूको सहभागितामा सञ्चालन गरिएको शिविरमा जनरल फिजिसियन, मुटुरोग, छालारोग, स्त्री तथा प्रसूति, हाडजोर्नी तथा नसारोग, बालरोग र रेडियोलोजीसम्बन्धी सेवा प्रदान गरिएको आयोजकले जनाएको छ। उक्त शिविरबाट कुल १०८२ जना बिरामीले प्रत्यक्ष लाभ लिएको जनाइएको छ, जसले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याएको छ। कार्यक्रममा गाउँपालिका अध्यक्ष जवाहर प्रसाद साह, प्रमुख प्रशासकीय अधिकृत विजय कुमार चौरसिया, स्वास्थ्य शाखा प्रमुख पारस राय यादव तथा कार्यक्रम संयोजक रमाकान्त साहलगायतको उपस्थिति रहेको थियो। त्यसैगरी नेशनल मेडिकल कलेजको तर्फबाट अस्पताल निर्देशक डा. इशरत जहाँ अन्सारी, प्रमुख सूचना अधिकृत इ. प्रदीप कुमार चौधरी, मार्केटिङ म्यानेजर जितेश चन्द्र दास, कार्डियोलोजिस्ट डा. जितेन्द्र मिश्र तथा वरिष्ठ मिडिया सल्लाहकार आशिक अन्सारीको सक्रिय सहभागिता रहेको थियो।

यसै अवसरमा आदर्श कोतवाल गाउँपालिका र नेशनल मेडिकल कलेज, वीरगञ्जबीच स्वास्थ्य सेवाको विस्तार र सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले समझदारीपत्र (MoU) मा हस्ताक्षर गरिएको छ। उक्त सम्झौतामा गाउँपालिका अध्यक्ष जवाहर प्रसाद साह र अस्पताल निर्देशक डा. इशरत जहाँ अन्सारीले हस्ताक्षर गरेका हुन्। “सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रत्येक नागरिकसम्म” भन्ने लक्ष्यसहित आयोजना गरिएको यस शिविरले ग्रामीण समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै स्थानीय तह र स्वास्थ्य संस्थाबीचको सहकार्यलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस

बोदे बर्साईनमा जेन–ज ...

उमेश कुमार साह सप्तरी भदौ २४ । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मरण तथा ...

कटहरियामा जेन–जी शही ...

रामअधार यादव, रौतहट, भदौ २४ गते । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मरण तथा सम ...

गोलबजारमा मधेस प्रदे ...

रहमुल सिरहा, २४ भदौ । सिरहाको गोलबजार नगरपालिका–चोहोर्वास्थित श्री सृजना सामुदायिक भवनमा आयोजन ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१