Siraha Times
ताजा समाचार

लहानमा ‘विल्डअन’सँग सहकार्य : पाँच आधारभूत विद्यालयका भवन निर्माण तीव्र, दुई विद्यालयमा शिलान्यास

  • वैशाख ११, २०८३
  • २८७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहाटाइम्स वैशाख ११ । विद्यालय भवनको अभाव र जीर्ण अवस्थालाई मध्यनजर गर्दै लहान नगरपालिकाले अन्तर्राष्ट्रिय गैरसरकारी संस्था buildOn नेपालसँगको सहकार्यमा एकैपटक पाँच वटा आधारभूत विद्यालयका भवन निर्माण कार्यलाई तीव्रता दिएको छ। यस पहलले सामुदायिक विद्यालयहरूको भौतिक पूर्वाधार सुदृढ गर्दै ग्रामीण क्षेत्रमा गुणस्तरीय शिक्षाको पहुँच विस्तार गर्ने अपेक्षा गरिएको छ।

यसअन्तर्गत लहान नगरपालिका–१५ स्थित राजदेवी आधारभूत विद्यालय तथा सोभापुरस्थित बाबा सन्यासी आधारभूत विद्यालयमा तीन कोठे विद्यालय भवन र दुई कोठे शौचालय निर्माणको संयुक्त रूपमा शिलान्यास गरिएको छ। शिलान्यास कार्यक्रममा buildOn नेपालकी केन्द्रीय निर्देशक निर्मला चौधरी र लहान नगरपालिकाका नगरप्रमुख Mahesh Prasad Chaudhary महेशप्रसाद चौधरी सहभागी थिए। सो अवसरमा संस्था, नगरपालिका र स्थानीय समुदायबीच त्रिपक्षीय सम्झौतामा हस्ताक्षरसमेत गरिएको छ।

यसअघि गत चैत महिनामा लहान नगरपालिका वडा नं. १, २ र ४ मा क्रमशः सिंगराही मटियर्वा आधारभूत विद्यालय, भानु आधारभूत विद्यालय तथा मधेस शहीद विजय सहनी आधारभूत विद्यालय भवन निर्माणको शिलान्यास सम्पन्न भइसकेको छ। यससँगै लहानमा पाँच वटा विद्यालय भवन निर्माण अभियान औपचारिक रूपमा अघि बढेको हो।

कार्यक्रममा बोल्दै buildOn नेपालकी केन्द्रीय निर्देशक निर्मला चौधरीले विद्यालय भवन अभाव, जीर्ण अवस्था तथा विद्यार्थी सङ्ख्यालाई आधार बनाएर विद्यालय छनोट गरिएको बताइन्। “ग्रामीण क्षेत्रमा शिक्षाको पहुँच विस्तार गर्ने उद्देश्यले हामीले विद्यालय भवन निर्माणमा सहयोग गर्दै आएका छौँ। लहानबाट यो अभियान सुरु भइसकेको छ, र अन्य स्थानमा पनि विद्यालय व्यवस्थापन समिति तथा स्थानीय प्रशासनसँग छलफल भइरहेको छ,” उनले भनिन्।

उनका अनुसार निर्माण कार्य तीन महिना १६ दिनभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। यी आयोजना सम्पन्न भएपछि आगामी वर्षहरूमा पनि थप विद्यालय भवन निर्माणलाई निरन्तरता दिइनेछ। प्रत्येक विद्यालय भवन निर्माणका लागि अनुमानित ४९ लाख ९८ हजार रुपैयाँ लागत लाग्नेछ। यसमध्ये buildOn नेपालले ३३ लाख ९७ हजार रुपैयाँ व्यहोर्नेछ भने लहान नगरपालिकाले १५ लाख रुपैयाँ योगदान गर्नेछ। निर्माण कार्यका लागि छड, सिमेन्ट तथा फर्निचरजस्ता सामग्री संस्थाले उपलब्ध गराउनेछ। स्थानीय तहले बालुवा, गिट्टी र ढुङ्गाको व्यवस्था गर्नेछ भने स्थानीय समुदायको अपनत्व र दिगोपना सुनिश्चित गर्न जनश्रमदानलाई अनिवार्य गरिएको छ।

विद्यालय छनोटका लागि न्यूनतम १२० जना विद्यार्थी सङ्ख्या हुनुपर्ने मापदण्ड तय गरिएको buildOn नेपालले जनाएको छ। नगरप्रमुख महेशप्रसाद चौधरीले सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारविना गुणस्तरीय शिक्षा सम्भव नहुने उल्लेख गर्दै संस्थाप्रति आभार व्यक्त गरे। “यस प्रकारको साझेदारीले सामुदायिक विद्यालयहरूको शैक्षिक स्तर उकास्न महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ। नगरपालिकाको तर्फबाट आवश्यक स्रोतसाधन र सहकार्यमा कुनै कमी हुन दिइने छैन,” उनले बताए।

अमेरिकी अन्तर्राष्ट्रिय गैरनाफामूलक संस्था buildOn ले विकासोन्मुख देशहरूमा विद्यालय पूर्वाधार निर्माण गर्ने अभियानअन्तर्गत हालसम्म नेपालका सुदूरपश्चिम, लुम्बिनी लगायत विभिन्न प्रदेशमा ४५७ वटा विद्यालय भवन निर्माण गरिसकेको छ। हाल बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा थप १५ वटा विद्यालय भवन निर्माणाधीन छन्।

सन् १९९४ देखि विद्यालय संरचना निर्माण तथा साक्षरता अभियानमा सक्रिय रहँदै आएको buildOn ले समाज कल्याण परिषद्को स्वीकृतिपछि मात्र निर्माण कार्य अघि बढाउने गरेको छ। संस्थाका स्वयंसेवकहरू प्रत्यक्ष रूपमा फिल्डमा खटिएर स्थानीय समुदायसँगको सहकार्यमा निर्माण सम्पन्न गर्ने विशेष कार्यशैलीका लागि परिचित छन्।

लहान नगरपालिकामा सुरु भएको यो अभियानले सामुदायिक विद्यालयहरूको भौतिक अवस्था सुधार्नुका साथै विद्यार्थीलाई सुरक्षित, व्यवस्थित र प्रेरणादायी सिकाइ वातावरण प्रदान गर्ने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस

नवराजपुरका भूमिहीन द ...

जेठ २७ । भूमिहीन दलित परिवारलाई लिजमा लिइएको जग्गामा खेतीपाती गर्न हाते ट्याक्टर उपलब्ध गराइएको छ। प ...

गोलबजारमा किशोरी सञ् ...

सिरहाटाइम्स जेठ २७ । गोलबजार नगरपालिकामा बालविवाह रोकथाम, किशोरीको शिक्षा, सुरक्षा, स्वास्थ्य र सशक् ...

मधेसी समुदायमा नेतृत ...

रहमुल,लहान, २७ जेठ । मधेसी समुदायको हक, अधिकार तथा समग्र सशक्तीकरणलाई केन्द्रमा राख्दै मधेसी आयोगले ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१