Siraha Times
ताजा समाचार

सिरहामा “सबल बालिका सबल समुदाय” परियोजनाको संयुक्त अनुगमन, अर्नमा गाउँपालिकाबाट सुरुआत

  • वैशाख ६, २०८३
  • ७०१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान बैशाख ६ । सिरहा जिल्लाको अर्नमा गाउँपालिका–५ मा सञ्चालन भइरहेको “सबल बालिका सबल समुदाय” परियोजनाअन्तर्गत विभिन्न सामुदायिक विकास कार्यक्रमहरूको संयुक्त अनुगमन गरिएको छ। बाल विकास, पोषण, खानेपानी, सरसफाइ तथा स्वच्छता जस्ता महत्वपूर्ण क्षेत्रमा केन्द्रित यस परियोजनाले स्थानीय समुदायमा सकारात्मक प्रभाव पारिरहेको सरोकारवालाहरूले बताएका छन्।

समाज कल्याण परिषद्को नियमअनुसार जिल्लामा सञ्चालित कार्यक्रम तथा परियोजनाको अनुगमनका लागि जिल्ला परियोजना सल्लाहकार समितिबाट पत्र प्राप्त भएपछि निर्धारित मिति, स्थान र समयमा सरोकारवाला निकायहरूको उपस्थितिमा फिल्ड अनुगमन सम्पन्न गरिएको हो। उक्त अनुगमन कार्यक्रमले परियोजनाको प्रभावकारिता, कार्यान्वयनको अवस्था तथा स्थानीय सहभागिताको मूल्याङ्कनमा महत्वपूर्ण योगदान पुर्‍याएको छ।

“सबल बालिका सबल समुदाय” परियोजनाअन्तर्गत विशेष गरी बालबालिकाको पोषण अवस्था सुधार, गर्भवती तथा सुत्केरी आमाहरूका लागि पौष्टिक आहार व्यवस्थापन, नियमित स्वास्थ्य परीक्षण, करेसाबारी प्रवर्द्धन तथा शिक्षा क्षेत्रमा भइरहेका गतिविधिहरूको अनुगमन गरिएको थियो। कार्यक्रममा सहभागीहरूले यी गतिविधिहरूले समुदायमा चेतना वृद्धि हुनुका साथै व्यवहारिक परिवर्तन ल्याउन सहयोग पुगेको बताएका छन्।

अनुगमन कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति दिनेश महतो, उपसभापति दिलिप लामा, जिल्ला समन्वय समितिका अधिकारी सन्तोष यादव, स्वास्थ्य शाखा सिरहाका अधिकृत प्रेम दास, प्लान इन्टरनेशनलका प्रदेश प्रमुख रवि पण्डित, कृषि ज्ञान केन्द्रका प्रतिनिधि, सिरहा गैसस अध्यक्ष गोविन्द विष्ट लगायतको सहभागिता रहेको थियो। त्यस्तै दलित जनकल्याण युवा क्लब लहानका अध्यक्ष उमेश विसुन्के, निर्देशक विनोद विसुन्के, परियोजनाका संयोजक दिपेन्द्र चौधरी, प्लान इन्टरनेशनलका लहान कार्यक्रम विशेषज्ञ तथा फोकल पर्सन काजल झा समेत कार्यक्रममा उपस्थित थिए।

स्थानीय तहका जनप्रतिनिधिहरू, गाउँपालिकाका प्रमुख तथा उपप्रमुखको सक्रिय सहभागितासहित करिब २५ जना आमा समूहका सदस्यहरूसँग अन्तरक्रिया र छलफल समेत गरिएको थियो। छलफलका क्रममा आमाहरूले परियोजनाबाट प्राप्त ज्ञान र सीपले आफ्नो दैनिकीमा सकारात्मक परिवर्तन आएको अनुभव सुनाएका थिए। विशेषगरी बालबालिकाको खानपान, सरसफाइ र स्वास्थ्यप्रति सचेतना बढेको उनीहरूको भनाइ थियो।

कार्यक्रमका क्रममा सरोकारवालाहरूले स्थानीय तहसँग समन्वय गर्दै यस्ता कार्यक्रमहरूलाई अझ प्रभावकारी बनाउन सुझाव दिएका थिए। उनीहरूले दीर्घकालीन रूपमा समुदायको जीवनस्तर सुधार गर्न यस्ता परियोजनाहरूको निरन्तरता आवश्यक रहेकोमा जोड दिएका छन्।

यस प्रकारको संयुक्त अनुगमन कार्यक्रम जिल्लामै पहिलो पटक अर्नमा गाउँपालिकामा आयोजना गरिएको आयोजकले जानकारी दिएका छन्। आगामी दिनहरूमा यस्तै कार्यक्रम सिरहा जिल्लाका अन्य ५ वटा पालिकामा समेत सञ्चालन गरिने योजना रहेको छ।

परियोजनाले बालबालिका र महिलाको सशक्तीकरणसँगै समग्र समुदायको विकासमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। स्थानीय सरकार, गैरसरकारी संस्था तथा समुदायबीचको सहकार्यले यस्ता कार्यक्रमलाई अझ प्रभावकारी बनाउने विश्वास सहभागीहरूले व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

बोदे बर्साईनमा जेन–ज ...

उमेश कुमार साह सप्तरी भदौ २४ । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मरण तथा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१