Siraha Times
ताजा समाचार

जबरजस्ती विवाहको विवादपछि ७ महिनादेखि छोरीमाथि अमानवीय व्यवहारको आरोप

  • वैशाख ४, २०८३
  • ६४९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान वैशाख ०४। सप्तरी जिल्लाको सुरुंगा नगरपालिका–१०, थलहा गाउँमा एक युवतीमाथि विगत ७ महिनादेखि खान–पानी र आधारभूत सुविधाबाट वञ्चित गर्दै अमानवीय व्यवहार गरिएको गम्भीर आरोप सार्वजनिक भएको छ। स्थानीय तारा चन्द्र यादवले आफ्नी छोरी प्रियंका यादवमाथि ससुराली पक्षले चरम उपेक्षा र दुर्व्यवहार गरेको बताएका छन्।

परिवारका अनुसार करिब ७ महिना अघि प्रियंका यादव र सोही गाउँका नागेन्द्र यादवबीच गाउँलेहरूको उपस्थितिमा विवाह गराइएको थियो। तर उक्त विवाहको वैधता र सहमतिलाई लिएर अहिले ठूलो विवाद उत्पन्न भएको छ। नागेन्द्र यादवले उक्त विवाह आफूलाई स्वीकार्य नभएको स्पष्ट पार्दै यसलाई “जबरजस्ती गराइएको” बताएका छन्।

सञ्चारकर्मीसँग भिडियो संवाद गर्दै नागेन्द्र यादवले आफू पेशाले स्वास्थ्यकर्मी रहेको र घटनाको दिन घर नजिकैको अर्को गाउँमा बाख्रालाई औषधि दिन गएको बेला गाउँलेहरूले जबरजस्ती बोलाएर विवाह गराएको दाबी गरे। “म त्यो विवाहलाई न कानुनी रूपमा मान्छु, न सामाजिक रूपमा। प्रियंकासँग मेरो कुनै सम्बन्ध थिएन र अहिले पनि छैन,” उनले स्पष्ट पारे।

नागेन्द्रका परिवारले पनि आफूमाथि लगाइएका आरोपहरू अस्वीकार गरेका छन्। उनका दाजुले नयाँ वर्षको अवसरमा घर सरसफाइ गर्ने क्रममा काम नलाग्ने सामान मात्र फालेको बताएका छन्। “हामीले फोहोर मात्र फालेका हौं, कसैको कपडा जलाइएको भन्ने आरोप निराधार हो,” उनले भने। यस्तै, नागेन्द्रका बुवा बमभोलि यादवले यो विषयलाई राजनीतिक प्रतिशोधको रूपमा व्याख्या गरेका छन्। “हामीलाई योजनाबद्ध रूपमा फसाउने प्रयास भइरहेको छ, यो व्यक्तिगत होइन, राजनीतिक विषय हो,” उनले जिकिर गरे।

तर पीडित युवती प्रियंका यादवको भनाइ भने निकै पीडादायी छ। उनका अनुसार विवाहपछि आफू ससुराली घरमा बस्दै आएकी भए पनि उनलाई न त नियमित खान–पानी दिइन्छ, न त लगाउनका लागि पर्याप्त कपडा नै उपलब्ध गराइएको छ। “म यहाँ आएको ७ महिना भयो, तर मलाई कहिल्यै राम्रोसँग खाना दिइएको छैन। अहिले त लगाउने कपडा समेत छैन,” उनले गुनासो गरिन्।

प्रियंकाले आफ्नो केही कपडा समेत जलाईएको दाबी गर्दै ती कपडा आफ्नै बुवाले दिएको बताएकी छन्। “अब मसँग लगाउने केही छैन, कसरी बस्ने, के खाने भन्ने अवस्था छ,” उनले भनिन्। कठिन अवस्थाका बाबजुद पनि उनी अझै आफ्नो श्रीमान फर्कने आशामा सोही घरमा बसिरहेको बताउँछिन्।

यो घटनाले थलहा गाउँमा सामाजिक तनाव बढाएको छ भने मानवअधिकार उल्लंघनको गम्भीर प्रश्न उठाएको छ। स्थानीय बासिन्दा तथा सरोकारवालाहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न र पीडितलाई तत्काल राहत तथा सुरक्षा उपलब्ध गराउन सम्बन्धित निकायसँग माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस

कर्जन्हामा ब्राउन सु ...

ओम प्रकाश यादव लहान साउन ३। सिरहाको कर्जन्हा नगरपालिका–११ स्थित नयाँ टोल, आइस फ्याक्ट्री क्षेत ...

६४औँ इन्जिनियर्स डेम ...

वीरगंज ३ साउन। ६४औँ इन्जिनियर्स डेको अवसरमा नेपाल इन्जिनियर्स एशोसिएसन (NEA) वीरगञ्ज केन्द्रको आयोजन ...

कल्याणपुरमा ७ वर्षीय ...

ओम प्रकाश यादव लहान साउन ३ । सिरहाको कल्याणपुर नगरपालिका–१२ बेल्हामा ७ वर्षीय बालकको मृत्यु प् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१