सिरहा टाइम्स लहान वैशाख १ । “संगठित कुशवाहा, समृद्ध समाज” भन्ने मूल नारासहित नेपाल कुशवाहा कल्याण समाज, सिरहाको १०औं जिल्ला अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। मिति २०८२ साल चैत्र २७ र २८ गते आयोजना गरिएको उक्त अधिवेशन सिरहा जिल्लाको लहान नगरपालिका–३ स्थित श्री ल.ल. कुशवाहा माध्यमिक विद्यालय, रघुनाथपुरमा सम्पन्न भएको हो। विहान ११ बजेदेखि सुरु भएको कार्यक्रमले जिल्लाभरका कुशवाहा समुदायलाई एकै ठाउँमा ल्याउँदै संगठन सुदृढीकरण तथा नेतृत्व चयनको महत्वपूर्ण अवसर प्रदान गरेको थियो।
अधिवेशनलाई सफल बनाउन नेपाल कुशवाहा कल्याण समाज जिल्ला अधिवेशन तयारी कार्य समिति, सिरहाले व्यापक तयारी गरेको थियो। कार्यक्रममा समाजका केन्द्रिय सदस्यहरू, स्थानीय अगुवा, बुद्धिजीवी, शिक्षक, किसान, व्यापारी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूको उत्साहजनक उपस्थिति र सक्रियताले अधिवेशनलाई थप भव्य बनाएको आयोजक समितिले जनाएको छ।
निर्वाचन समितिद्वारा प्रकाशित अन्तिम परिणाम अनुसार मिति २०८२ चैत्र २९ गते सम्पन्न मतदानपछि नयाँ नेतृत्व चयन गरिएको हो। अध्यक्ष पदका लागि भएको प्रतिस्पर्धामा लहान–१६ का दुर्गा प्रसाद महतोले ९३ मत प्राप्त गरे तापनि पराजित भए भने कल्याणपुर–१२ का अशोक कुमार सिंहले १३६ मत प्राप्त गरी विजयी भएका छन्। अध्यक्षमा सिंहको विजयले संगठनमा नयाँ ऊर्जा र दिशा प्रदान गर्ने अपेक्षा गरिएको छ।
त्यसैगरी उपाध्यक्ष पदका लागि भएको चुनावमा अर्नामा–३ का ईन्द्रदेव महतोले ८५ मत प्राप्त गरेका थिए भने कल्याणपुर–१२ का बिजय नन्दन महतोले १४ मत प्राप्त गरेका थिए। धनगढीमाई–७ का ईन्द्र कुमार महतोले सबैभन्दा बढी १२३ मत प्राप्त गर्दै उपाध्यक्ष पदमा विजय हासिल गरेका छन्। उपाध्यक्ष पदमा उनको जितलाई संगठनात्मक अनुभव र सक्रियताको परिणामको रूपमा हेरिएको छ।
सचिव पदमा पनि कडा प्रतिस्पर्धा देखिएको थियो। अर्नामा–३ का रंजित सिंहले १०८ मत ल्याए तापनि पराजित भए भने गोलबजार–६ का विद्यानन्द सिंहले १२१ मत प्राप्त गरी सचिव पदमा विजयी भएका छन्। सचिव पदमा सिंहको चयनले संगठनको प्रशासनिक कार्यलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ।
कार्यक्रम व्यवस्थापनको पक्ष पनि उत्तिकै प्रशंसनीय रहेको थियो। कार्यक्रममा करिब १५०० जनाको लागि भोजनको व्यवस्था महतो मेडिकोका सञ्चालक राम अपतार महतो मेन्हा बालाले गरेका थिए भने नास्ता व्यवस्थापन चन्द्र नारायण कुशवाहाले गरेका थिए । ठूलो संख्यामा सहभागीहरूको व्यवस्थापन सहज रूपमा सम्पन्न हुनु आयोजकहरूको दक्षताको उदाहरण बनेको छ।
स्थानीय संयोजक फुलेश्वर महतोको नेतृत्वमा कार्यक्रम सञ्चालन गरिएको थियो। उनले सम्पूर्ण व्यवस्थापनलाई समन्वय गर्दै कार्यक्रमलाई व्यवस्थित र सफल बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए। त्यसैगरी नेपाल कुशवाहा कल्याण समाजका केन्द्रिय सदस्य तथा जिल्ला समन्वय समिति सिरहाका प्रमुख दिनेश कुमार महतोले कार्यक्रममा सक्रिय सहभागिता जनाउँदै अधिवेशनलाई अझ प्रभावकारी र भव्य बनाउन योगदान दिएका थिए।
कार्यक्रममा लहान क्षेत्रका व्यापारी, किसान, बुद्धिजीवी, माइजन, देवान, शिक्षक लगायत सम्पूर्ण कुशवाहा समुदायको उल्लेखनीय सहभागिता रहेको थियो। उनीहरूको सक्रिय उपस्थितिले समाजमा एकता, सहयोग र सामूहिक विकासप्रति प्रतिबद्धता झल्काएको देखिन्छ।
अधिवेशनको अन्त्यमा नेपाल कुशवाहा कल्याण समाज लहानका नगर अध्यक्ष रामु महतोले निर्वाचनमा सहभागी सम्पूर्ण उम्मेदवार तथा मतदातालाई धन्यवाद व्यक्त गरेका थिए। उनले नव–निर्वाचित पदाधिकारीहरूलाई सफल कार्यकालको शुभकामना दिँदै संगठनलाई अझ सशक्त, संगठित र प्रभावकारी बनाउने विश्वास व्यक्त गरेका छन्।
यो अधिवेशनले कुशवाहा समुदायभित्र एकता, नेतृत्व विकास र सामाजिक सशक्तिकरणको नयाँ सन्देश दिएको छ। नव–निर्वाचित नेतृत्वले समुदायको हित, अधिकार र विकासका लागि ठोस योजना र कार्यक्रम ल्याउने अपेक्षा गरिएको छ। समग्रमा, सिरहामा सम्पन्न यो अधिवेशन कुशवाहा समाजको संगठनात्मक मजबुतीकरणतर्फ महत्वपूर्ण कदमको रूपमा लिइएको छ।
प्रतिक्रिया दिनुहोस
संगठित कुशवाहा, समृद्ध समाजको नारासहित सिरहामा १०औं जिल्ला अधिवेशन सम्पन्न नयाँ नेतृत्वमा अशोक कुमार
लहानमा निःशुल्क मोतिबिन्दु उपचार अभियान प्रभावकारी, मेयर चौधरीद्वारा बिरामीलाई अस्पतालमै भेटेर सहयोग
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic