लहान नगरपालिकामा “Nutrition For Life (N4L)” कार्यक्रमको शुभारम्भ

  • चैत ९, २०८२
  • १३६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान,चैत ९ । लहान नगरपालिकामा “Nutrition For Life (N4L)” अर्थात् “जीवनका लागि पोषण” कार्यक्रमको औपचारिक शुभारम्भ गरिएको छ। दलित विकास मञ्च (DDF), गोलबजार सिरहाको आयोजनामा, Helen Keller International को सहयोग तथा लहान नगरपालिकाको समन्वयमा उक्त कार्यक्रम पालिका स्तरीय परिचयात्मक कार्यक्रमका रूपमा सम्पन्न भएको हो।

कार्यक्रम लहान नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रकाश साह हलुवाईको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा विभिन्न शाखाका प्रमुखहरू, वडा अध्यक्षहरू, सरोकारवाला निकाय तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। लहान नगरपालिका अन्तर्गतका १ देखि २४ वडासम्मका वडा अध्यक्षहरूको सक्रिय सहभागिताले कार्यक्रमलाई थप प्रभावकारी बनाएको थियो।

कार्यक्रममा दलित विकास मञ्च (DDF) सिरहाका कार्यकारी निर्देशक संजय महराले संस्थाको परिचय तथा कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै “Nutrition For Life” कार्यक्रमले विशेष गरी विपन्न, दलित तथा सीमान्तकृत समुदायमा पोषण सुधार गर्ने लक्ष्य लिएको बताए। उनले पोषणको अभावले बालबालिका, किशोरी तथा गर्भवती महिलामा दीर्घकालीन असर पर्ने भएकाले यस कार्यक्रमले ती समुदायलाई लक्षित गरी सचेतना र व्यवहार परिवर्तनमा जोड दिने बताए।

त्यस्तै, कार्यक्रम संयोजक खगेन्द्र विष्टले कार्यक्रमको विस्तृत कार्ययोजना प्रस्तुत गर्दै आगामी दिनमा सञ्चालन हुने गतिविधिहरूबारे जानकारी गराएका थिए। उनका अनुसार कार्यक्रम अन्तर्गत समुदायमा पोषणसम्बन्धी शिक्षा, स्वास्थ्य परीक्षण, आहार सुधार, सरसफाइ प्रवर्द्धन तथा स्थानीय स्रोत साधनको उपयोगमार्फत पोषण अवस्था सुधार गर्ने योजना रहेको छ।

Helen Keller International का प्रतिनिधि अमितराज साहले पनि कार्यक्रममा आफ्नो धारणा राख्दै नेपालमा पोषण सुधारका लागि विभिन्न साझेदार संस्थासँग सहकार्य गर्दै आएको र लहान नगरपालिकामा सुरु गरिएको यो कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरे। उनले स्थानीय तहसँगको समन्वय र समुदायको सक्रिय सहभागिताले मात्र यस्ता कार्यक्रम सफल हुने बताए।

कार्यक्रममा सहभागी विभिन्न शाखाका प्रमुखहरूले पनि पोषणसम्बन्धी समस्या समाधानका लागि बहु-क्षेत्रीय सहकार्य आवश्यक रहेको धारणा राखेका थिए। उनीहरूले शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रबीच समन्वय गरेर मात्रै दीर्घकालीन उपलब्धि हासिल गर्न सकिने बताए।

समग्रमा, “Nutrition For Life (N4L)” कार्यक्रमले लहान नगरपालिकामा पोषण सुधारका लागि महत्वपूर्ण कदमको रूपमा लिइएको छ। स्थानीय सरकार, विकास साझेदार तथा समुदायबीचको सहकार्यले यस कार्यक्रमलाई सफल बनाउने विश्वास व्यक्त गरिएको छ। कार्यक्रममार्फत विशेष गरी दलित तथा विपन्न समुदायका बालबालिका, किशोरी र महिलाको पोषण अवस्थामा सुधार आउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

सप्तरीमा होस्टेलभित् ...

रहमुल, लहान ९ चैत । सप्तरीको खडक नगरपालिका-७ कल्याणपुर स्थित फुलेश्वर बोडिङ स्कुलको होस्टेलमा बस्दै ...

सप्तरीमा नाबालिग दलि ...

रहमुल, लहान ९ चैत ।  सप्तरीको सुरुङ्गा नगरपालिका–३ लक्ष्मीपुरमा एक १४ वर्षीया दलित बालिका ...

बरकी पोखरीमा महा विष ...

रहमुल, लहान ९ चैत्र । सप्तरीको बलान बिहुल गाउँपालिका–६ स्थित बरकी पोखरी (ठाकुर बाबा पोखरी)को ड ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१