Siraha Times
ताजा समाचार

लहानमा ४० विद्यालय भवन निर्माणका लागि वाइल्ड'एन नेपालको योजना, त्रिपक्षीय सम्झौता सम्पन्न

  • चैत ७, २०८२
  • ७८८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान, ७ चैत । वाइल्ड'एन नेपालले मधेश प्रदेशभरि ४० वटा आधारभूत विद्यालय भवन निर्माण गर्ने महत्वाकांक्षी योजना अघि सारेको छ। सन् २०२६ भित्र उक्त लक्ष्य पूरा गर्ने उद्देश्यसहित संस्थाले कामलाई तीव्रता दिएको जनाएको छ। यसै सन्दर्भमा आज सिरहाको लहानमा आयोजित एक कार्यक्रममा वाइल्ड'एन नेपाल, लहान नगरपालिका र स्थानीय समुदायबीच त्रिपक्षीय सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ।

सम्झौताअनुसार लहान नगरपालिका–१ स्थित आधारभूत विद्यालय सिंग्राही मटिअरवा, लहान–४ को मधेश शहीद विजय सहनी आधारभूत विद्यालय चम्पापुर तथा लहान–२ को भानु आधारभूत विद्यालयमा भवन निर्माण गरिनेछ। ती विद्यालयमा तीन तले शैक्षिक भवन तथा दुई तले शौचालय निर्माण गरिने योजना रहेको छ। कार्यक्रमका क्रममा केन्द्रीय कार्यालय धनगढीकी निर्देशक निर्मला चौधरी र लहान नगरपालिकाका प्रमुख महेश प्रसाद चौधरीले संयुक्त रूपमा शिलान्यास गर्नुभयो।

कार्यक्रममा बोल्दै निर्देशक चौधरीले ग्रामीण क्षेत्रमा शिक्षाको पहुँच विस्तार गर्ने उद्देश्यले सिरहामा मात्र २० वटा र मधेश प्रदेशभरि ४० वटा विद्यालय भवन निर्माण गर्ने योजना रहेको बताउनुभयो। उहाँका अनुसार निर्माण कार्य तीन महिना १६ दिनभित्र सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको छ।

निर्माण प्रक्रियामा संस्थागत र स्थानीय दुवै पक्षको सक्रिय सहभागिता रहने बताइएको छ। वाइल्ड'एन नेपालले रड, सिमेन्ट, फल्याक, फर्निचर लगायतका आवश्यक सामग्री उपलब्ध गराउनेछ भने स्थानीय स्तरबाट बालुवा, गिट्टी तथा गोबरको व्यवस्था गरिनेछ। साथै, स्थानीय समुदायको सहभागिता सुनिश्चित गर्न श्रमदानलाई अनिवार्य गरिएको छ।

लहान नगरपालिकाका प्रमुख महेश प्रसाद चौधरीले शैक्षिक क्षेत्रमा संस्थाले पुर्‍याउँदै आएको योगदानप्रति कृतज्ञता व्यक्त गर्दै आवश्यक सहयोग गर्न नगरपालिका सधैं तयार रहेको बताउनुभयो। उहाँले “सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधार नगरी गुणस्तरीय शिक्षा सम्भव हुँदैन” भन्ने धारणा व्यक्त गर्दै यस्ता साझेदारीले शिक्षाको स्तर अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

वाइल्ड'एन नेपाल सन् १९९४ देखि विद्यालय संरचना निर्माण तथा साक्षरता अभियानमा सक्रिय संस्था हो। संस्थाले समाज कल्याण परिषद्बाट स्वीकृति लिएर मात्र निर्माण कार्य अघि बढाउने जनाएको छ। हालसम्म संस्थाले सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा गरी ४ सय ५७ विद्यालयका लागि भवन निर्माण गरिसकेको छ। यसैगरी बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लामा ६ वटा विद्यालय भवन निर्माणाधीन अवस्थामा रहेको जानकारी दिइएको छ।

यो पहलले मधेश प्रदेशका ग्रामीण क्षेत्रका बालबालिकालाई सुरक्षित र व्यवस्थित शैक्षिक वातावरण प्रदान गर्ने अपेक्षा गरिएको छ। साथै, स्थानीय तह, समुदाय र गैरसरकारी संस्थाबीचको सहकार्यले दिगो विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया दिनुहोस

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

बोदे बर्साईनमा जेन–ज ...

उमेश कुमार साह सप्तरी भदौ २४ । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मरण तथा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१