Siraha Times
ताजा समाचार

“तराईमधेश समृद्धि कार्यक्रम तराईकै विकासका लागि सञ्चालन भएको छ”–ओली

  • माघ १९, २०७५
  • १६८८ पटक पढिएको
  • राम नारायण पण्डित
alt

राम नारायण पंडित, सिरहा, १९ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले तराई मधेसको विकासका लागि सरकारले विभिन्न क्षेत्रमा काम अघि बढाएको बताएका छन् । शहीद हेमनारायण यादवको १५ औं स्मृतिसभालाई आज सिराहामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले मधेशका बारेमा विभिन्न हल्ला चलाइएपनि सरकारका कामले ती सबै कुराको जवाफ दिने बताएका छन् । ‘मधेसका बारेमा अनेक हल्ला चलाइएका छन् तर सरकारको कामले ति सबै कुराको जवाफ दिन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘हुलाकी सडकको निमार्ण, भैरवहा अन्तर्रा्ष्ट्रिय विमानस्थलको निर्माण, तराई मधेस समृद्धि कार्यक्रम सबै तराईकै विकासका लागि सञ्चालन भएका हुन् । केही दिनअघि झापा विमानस्थलमा रात्रीकालिन उडान सेवा सुरु भएको छ । जनकपुरमा केही महिनामा यस्तो सेवा सुरु हुँदैछ ।’ प्रधानमन्त्री ओलीले मधेसलाई काठमाडौंसँग जोड्ने द्रुत मार्ग, निजगढ विमानस्थल, कमला मरिन डाइभर्सनबाट तराईलाई सिचाईं गर्ने योजनाका कामहरु धमाधम भइरहेको बताए । 

 

तराईका जिल्लाका सदरमुकाम जोड्ने सडकहरुको स्तर वृद्धिका लागि आफू अघिल्लो पटक प्रधानमन्त्री भएका बेला सुरुवात गरिएको र अहिले काम धमाधम भइरहेको प्रधानमन्त्री ओलीले अवगत गराए । तराईको भौतिक विकास मात्र होइन सामाजिक विकासका लागि पनि आफू क्रियाशिल रहेको प्रधानमन्त्री ओलीको भनाइ छ । ‘यस जिल्लाबाट निरक्षरता उन्मुलन गर्नका लागि मैले नै पहलकदमी लिएको छु,’ प्रधानमन्त्री ओलीले भने, ‘त्यसका लागि गत वैशाख ५ गते यसै जिल्लाका दुईजना बालबालिकालाई विद्यालय भर्ना गरेर मैले अभिभावकत्व पनि ग्रहण गरेको छु ।’ प्रधानमन्त्री ओलीले वृद्धवृद्धाका हितका लागि सरकार सकारात्मक रहेको बताएका छन् । अघिल्लो सरकारले देशको ढुकुटी रित्तो पारेकोले अघिल्लो आर्थिक बर्षमा वृद्धभत्ता बढाउन नसकेको प्रधानमन्त्रीको भनाई छ । ‘वृद्धभत्ता बढेन भनेर निराश हुनुपर्ने अब धेर दिन छैन,’ प्रधानमन्त्री ओलीले ‘आउने आर्थिक बर्षमा वृद्धभत्ता अवश्य बढ्छ, भने । 

 

कार्यक्रममा भौतिक तथा योजना पूर्वाधार मन्त्री रघुविर महासेठले आउने चुनावसम्ममा मेची देखि महासम्मको हुलाकी राजमार्ग पूर्ण रुपमा बनिसक्ने प्रतिबद्धता जनाएका छन् । मन्त्री महासेठले यसअघिका कतिपय ठेकेदारले लापरवाही गरी पुल निर्माणको कार्य निर्माणमा अटेरी गरेकाले नयाँ ठेकेदार कम्पनीलाई हस्तान्तरण गरिसकिएकोले अबको एक वर्षभित्रमा सबै अधुरा पुलहरु निर्माण हुने बताए । 

 

मृतक हेमनारायण यादवका छोरा डा. नविन यादवले आफ्नो बुवाको हत्या भएको १५ वर्ष वितिसक्दा समेत हत्याराले सजाय नपाएको प्रति दुःख व्यक्त गरे । स्मृतिसभामा पूर्व मन्त्री, केन्द्र एवम् प्रदेश सभाका सभासद, नेकपाका नेता कार्यकर्ताहरुले शहीद हेमनारायण यादवको बारेमा चर्चा गरेका थिए । 

 

’२०६० साल माघ १९ गते तत्कालिन नेकपा (एमाले) सिराहा जिल्लाका अध्यक्ष एवं साँसद हेमनारयण यादवको धनुषा र सिराहाको सिमाना पर्ने कमला नदिमा रहस्यमय हत्या भएको थियो । प्रधानमन्त्री ओलीले आजै नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) जिल्ला पार्टी कार्यलय र चन्द्र माध्यमिक विद्यालयका छात्राबास भवनको पनि शिलान्यास गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

पोखराका गुरुकुलका ५० ...

विनोद अविरल, ३१ जेठ । पोखरा क्षेत्रमा रहेका विभिन्न गुरुकुलहरूमा अध्ययनरत बटुकहरूलाई शैक्षिक सामग्री ...

​किराना पसलमा अवैध र ...

विनोद अविरल,​सिराहा, ३१ जेठ । नेपाल सरकारद्वारा किसानहरूका लागि सहुलियत दरमा उपलब्ध गराइने अनुदानको ...

‘दोस्रो हिमालयन रिम ...

‘मार्शल आट्र्सले जोडिएको, सिनेम्याटिक प्रकाशले घेरिएको’ मूल नारासहित दोस्रो हिमालयन रिम ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१