प्रदेश २ को नाम र राजधानीका लागि फेरी भोट हुने

  • पुस २८, २०७८
  • ५८६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जनकपुरधाम । प्रदेश २ को नाम र राजधानीको निर्णय फेरि हुन सक्ने संभावना कमजोर भएको छ ।प्रदेशको नाम र राजधानीमा सहमति जुटाउन प्रदेश सभामुख सरोजकुमार यादवको संयोजकत्वमा गठित समितिले गरेको प्रयास असफल भएको छ । विशेष समितिको बैठकमा प्रदेश २ को नामकरण र राजधानीसम्बन्धी प्रस्ताव पुनः मतदानमै लैजाने दलहरूबीच सहमति भएको छ । १५ दिनदेखि सहमति जुटाउन समितिको बैठक विभिन्न चरणमा बसेको थियो ।केही सभासदहरुका अनुसार प्रदेश सरकारको तर्फबाट मुख्यमन्त्री लालबाबु राउतले चासो नदेखाएको कारण सहमति नजिक पुगे पनि निष्कर्ष निस्कन नसकेको आरोप लगाएका छन् । नाम र राजधानीमा सहमति जुट्न नसकेपनि दलहरू बीच मतदानका लागि प्रदेशसभामा प्रस्ताव लैजाने सहमति जुटेको छ ।

दलगत रुपमा र व्यक्तिगत रुपमा राखिएका प्रस्तावहरुलाई अब प्रदेशसभामा मतदानका लागि प्रस्तुत गरिने छ । प्रदेश सभाका सचिव रञ्जित यादवका अनुसार बैठकमा दलगत र व्यक्तिगत रुपमा प्रदेशसभा सदस्यबाट नाम र राजधानीका लागि आएका प्रस्ताव माघ २ गते टेबल गर्ने कार्यसूची बनाइनेछ । नाम र राजधानीको विषयमा माघ ३ गते मतदान गर्ने दलहरूबीच सहमति भएको सभासद राजेश्वर प्रसाद साहले जनाए ।‘दलहरुबीच नाम र राजधानीमा सहमति जुट्न सकेन्’ उनले भने, अब प्रदेश सभाको बैठकबाट भोटद्वारा निर्णय हुनेछ । विशेष समितिको पहलमा बसेको सर्वदलीय बैठकमा प्रदेशको नाम र राजधानीको प्रस्तावलाई मतदानमै लैजाने सहमति भएको प्रदेशसभाका सचिव यादवले जनाए ।

समितिले प्रदेशसभामा दर्ता भएको प्रदेशको नाम मधेश प्रदेश, जानकी, मिथिला– भोजपुरा, मध्य–मधेश प्रदेश सभामा निर्णायार्थ प्रस्तुत हुने छ । त्यसैगरी राजधानीकालागि जनकपुर र वीरगन्ज प्रस्ताव गरिएकाले त्यसमाथि पनि मतदान हुनेछ । प्रदेशको नाम र स्थायी राजधानीको प्रस्ताव पारित हुन प्रदेशसभामा दुई तिहाई बहुमत अनिवार्य छ । यसअघि गत २०७७ चैत ५ गते प्रदेश २ को नाम र राजधानीको विषयमा प्रदेशसभामा मतदान भएको थियो ।तर नाम र राजधानी दुबै प्रस्तावमा दुई तिहाई मत नपुगेपछि अस्वीकृत भएको थियो । नाममा दलहरुबीच तत्कालीन समयमा राजधानीका लागि जनकपुरधाममा सहमति भएको थियो ।तर मधेश प्रदेशमा सहमति जुट्न नसकेपछि दुबै प्रस्ताव अस्वीकृत भएको थियो । प्रदेशको राजधानी जनकपुरधाम राख्नेमा पाँच दलबीच सहमति जुटेको थियो ।तर नाममा सहमति नभएपछि राजधानीका लागि पनि सहमति जुटेको छैन् ।

प्रदेश २ मा १ सय ७ सदस्य रहेका छन् ।त्यस मध्ये ३ जना निलम्बित भइसकेकाले हाल १ सय ४ जना सभासद छन् ।नाम र राजधानीको प्रस्ताव दुई तिहाईबाट पारित गर्न ७० जना सभासदको समर्थन चाहिन्छ ।‘मधेश प्रदेश’को पक्षमा ६३ जना सभासद छन् ।त्यसमा ७ जना अपुग छन् ।तर राजधानी जनकपुरधाम राख्न दुई तिहाई भन्दा बढी सभासदको समर्थन रहेको छ । प्रदेशको नाम जानकी राख्न सत्तारुढ नेकपा एकीकृत समाजवादी (एस) र र नेकपा एमालेले प्रस्ताव गरेका छन् ।त्यसको पक्षमा एसका १३ र एमालेका ८ जना गरी २१ जना मात्र छन् । नेपाली कांग्रेसले प्रस्ताव गरेको प्रदेशको नाम‘मिथिला–भोजपुरा’को पक्षमा अन्य कुनै दलको समर्थन छैन् ।त्यसमा कांग्रेसको कुल १९ जना मध्ये १८ जनाको मात्र समर्थन रहेको छ ।
 
कांग्रेसकै राजेश्वरप्रसाद साहले प्रदेशको नाम ‘मध्य–मधेश’ प्रस्ताव गरेका छन् । तर त्यसलाई कांग्रेसको समर्थन छैन् ।साहले राजधानी वीरगञ्ज र प्रदेशको नाम मध्य– मधेश राख्नु पर्नेमा अडेका छन् ।स्रोतहरुका अनुसार कांग्रेस, एमाले र नेकपा एस मध्ये कुनै एउटा दलले ‘मध्य–मधेश प्रदेश’मा समर्थन जनाए साहका प्रस्ताव पारित गर्न सत्तारुढ दल जसपा, प्रमुख प्रतिपक्षी लोसपा र नेकपा माओवादी केन्द्र लचिलो देखिएका छन् । जसपाकै कतिपय सभासदहरुले मुख्यमन्त्री लालबाबु राउतकै कारण प्रदेशको नाम अड् किएको आरोप लगाएका छन् ।‘उनी नाम पारित गराउन चासो नदेखाएर जनकपुरधामलाई राजधानी हुनबाट रोक्न चाहेका छन्’जसपाका एकजना सभासदले नाम सार्वजनिक नगर्ने शर्तमा भने, प्रदेशको नाम भन्दा मुख्यमन्त्रीको चासो जनकपुरधाम राजधानी नबन्नुमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सिरहाको लहान नगरपालि ...

लहान वैशाख ६ । सिरहाको लहान नगरपालिका वडा न. १९ मा आज दिउसो करिब ४ बजे स्कारपियो दुर्घटना भएको हो । ...

अधिकृत श्रीवास्तव र ...

रंजित चौरसिया वीरगंज ६ बैशाख । पोखरिया नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास ...

भु.पु. न्यायाधीश कमल ...

रहमुल लहान ५ बैशाख भु.पु. न्यायाधीश कमलनरायण दासले पैगम्बर मोहम्मद (स) को बिषयमा दिएको गैरजिम्मेवारी ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१