Siraha Times
ताजा समाचार

आज (वटसावित्री) बर्साइत पर्व मनाउँदै मिथिलानी

  • जेठ २७, २०७८
  • १५८५ पटक पढिएको
  • रामएकवाल राम
alt

जनकपुरधाम- आज विवाहित हिन्दू मैथिल नारी बर्साइत (वटसावित्री) पर्व मनाइरहेका छन् ।ज्येष्ठकृष्ण औँसीका दिन अटल सौभाग्यको कामना गर्दै मनाइने यो पर्व मिथिलानी (मिथिलाका नारी) ले आज मनाइरहेका हुन् ।

सत्ययुगमा सती सावित्रीले आफ्नो तपस्या र साधनाले आजकै दिन अटल सौभाग्यको वरदान पाएको विश्वासका आधारमा यो पर्व मनाउने मैथिल परम्परा छ । ज्येष्ठकृष्ण चतुर्दशीका दिन चोखोनितो खाई व्रत सङ्कल्प गरेपछि औँसीका दिन निराहार व्रत बसेर आफ्नो बस्ती नजीकको वटवृक्ष (वरको रुख) फेदमा व्रतालु मिथिलानीले सामूहिक रुपमा सावित्रीलाई सम्झँदै ब्रह्मा, विष्णु र महेशसहितका इष्टदेवको पूजा आराधना गर्दै यो पर्व मनाउँछन् ।

नयाँनयाँ वस्त्र परिधानमा सजिएर वटवृक्ष परिसर सरसफाइ गर्नेदेखि औँसीका दिन सावित्री कथा वाचन र श्रवण गर्ने व्रत परम्परा छ । साथीसँगीसँग नाच्दै, गाउँदै वटवृक्षमुनि बटसावित्री कथा सुनेर मनाइने यो पर्व मिथिलानीका लागि भेटघाट, हँसीमजाक र घरायसी दुःखसुख एकार्कालाई सुनाउने अवसरसमेत हुने गरे पनि यसपालि भने लकडाउनभित्र पर्व मनाउनु परेकाले घरघरै छुट्टाछुट्टै पर्व विधि सम्पन्न गर्नुपरेका छन् ।

मिथिलामा केही वर्ष पहिलेसम्म ब्राह्मण, कायस्थ र सोनार जातिका महिलाले मात्रै मनाउने यो पर्व अब सबै जातजातिले मनाउन थालेको देखिन थालेको छ । मिथिलामा पछिल्लो समय विभिन्न जातजातिको छ्यासमिसे बस्ती बढ्ने क्रमले एकार्काको संस्कृति एवं परम्परा सिक्ने क्रममा यो पर्व सबै जातजातिले मनाउन थालेको मिथिला परम्पराका जानकारहरु बताउँछन् ।

वटसावित्री अब पर्वते मूलका विवाहिता महिलाले पनि बाक्लै मनाइरहेका छन् । विवाहिता महिलाले मनाउने यो पर्व मिथिला लोकसंस्कृति र परम्पराको अभिन्न अङ्ग बनेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस

सवारी धनी बर्तौला वि ...

रंजित चौरसिया वीरगंज २४ भदौ । यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतोले ...

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१