रहमुल, लहान, १५ असोज । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाका ग्रामीण महिलाको आर्थिक सशक्तीकरणसँगै दाउरा तथा इन्धनको खपत घटाउने उद्देश्यले सुधारिएको चुलो सहयोग कार्यक्रम सञ्चालन गरिएको छ।
‘दिदीबहिनी’ नामक संस्थाको आयोजनामा सखुवानन्कारकट्टी गाउँपालिकाका वडा नम्बर २, ३ र ४ का १३ वटा महिला कृषक समूहमा आबद्ध ३७८ महिलालाई सुधारिएको चुलो सहयोग गर्ने कार्यक्रम अघि बढाइएको हो। कार्यक्रमका संयोजक विपिन अर्यालका अनुसार ग्रामीण महिलाको दैनिक जीवनमा प्रत्यक्ष प्रभाव पार्ने गरी कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रमअन्तर्गत वितरण गरिएको वायुपंखी चुलोलाई नेपालमा ‘टियर–३’ स्तरको सुधारिएको चुलोका रूपमा प्रस्तुत गरिएको छ।
आयोजकका अनुसार यस चुलोको प्रयोगबाट परम्परागत चुलोको तुलनामा दाउराको खपत करिब ७५ प्रतिशत सम्म घटाउन सकिने, खाना पकाउने समय तथा श्रममा समेत उल्लेख्य बचत हुने र धुवाँको मात्रा करिब ८५ प्रतिशतसम्म कम गर्न सकिने दाबी गरिएको छ। त्यस्तै, चुलोबाट कार्बन मोनोअक्साइडजस्ता विषालु ग्यासको उत्सर्जन कम हुने र एक स्थानबाट अर्को स्थानमा सजिलै सारेर प्रयोग गर्न सकिने भएकाले ग्रामीण परिवारका लागि उपयोगी हुने आयोजकको भनाइ छ।
संयोजक अर्यालका अनुसार कार्यक्रम ग्रामीण महिलाको आर्थिक सशक्तीकरण सँगै जलवायु परिवर्तनका नकारात्मक असर न्यूनीकरण गर्ने उद्देश्यले सञ्चालन गरिएको हो। “चुलोको प्रयोगले दाउरा तथा इन्धनमा हुने खर्च घटाउनुका साथै खाना पकाउन लाग्ने समय र श्रम बचत हुन्छ,” उनले भने, “त्यसैगरी खेर गइरहेका इन्धनजन्य वस्तुको सदुपयोग मार्फत वातावरण संरक्षणमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ।” कार्यक्रममा सखुवानन्कारकट्टी गाउँपालिकाले पनि सक्रिय सहभागिता र सहयोग गरिरहेको जनाइएको छ।
गाउँपालिकाले ‘कला संस्कृति हाम्रो स्वाभिमान, समृद्ध सखुवानन्कारकट्टी हाम्रो पहिचान’ भन्ने मूल नारालाई अघि सार्दै ग्रामीण महिला तथा कृषि क्षेत्रसँग सम्बन्धित कार्यक्रमलाई प्राथमिकता दिएको अर्यालले बताए। अर्यालका अनुसार World Food Programme (WFP) लगायतका साझेदार संस्थामार्फत सखुवानन्कारकट्टी गाउँपालिकामा कृषि क्षेत्रसँग सम्बन्धित विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएका छन्। कृषकलाई कृषि सामग्री तथा उन्नत बीउबिजन वितरण, जैविक विधिबाट खेती गर्ने प्रविधि, कृषि सचेतना, ज्ञान तथा तालिम र गोष्ठीजस्ता कार्यक्रम सञ्चालन भइरहेको उनले बताए।
यी कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउन केदारनाथ यादवको नेतृत्वमा स्थानीय तह बाट समेत सहयोग भइरहेको अर्यालको भनाइ छ। ग्रामीण क्षेत्रका अधिकभन्दा अधिक नागरिकलाई कार्यक्रमको पहुँचमा ल्याउने स्थानीय सरकारको सोच रहेको उनले बताए। सुधारिएको चुलो सहयोग कार्यक्रम हाल वडा नम्बर २, ३ र ४ मा महिला कृषक समूहको माध्यम बाट सञ्चालन भइरहेको छ। आगामी दिनमा आवश्यकता र उपलब्धताका आधारमा कार्यक्रमलाई अन्य वडा तथा थप महिला समूहसम्म विस्तार गरिने संयोजक अर्यालले जानकारी दिए।
यो कार्यक्रम ‘Joint Programme: Accelerating Progress towards Rural Women’s Economic Empowerment (JP-RWEE)’ अन्तर्गत ग्रामीण महिलाको आर्थिक सशक्तीकरणमा केन्द्रित रहेको जनाइएको छ। कार्यक्रमसँग UN Women, FAO, IFAD र World Food Programme लगायतका निकायको सहकार्य रहेको सामग्रीमा उल्लेख छ।
ग्रामीण भान्सामा सुधारिएको प्रविधिको प्रयोग बढाउँदै महिलाको समय र श्रम बचत, घरायसी खर्च न्यूनीकरण तथा वातावरणीय प्रदूषण घटाउने उद्देश्यले यस्ता कार्यक्रमलाई आगामी दिनमा थप प्रभावकारी बनाउने आवश्यकता देखिएको छ।
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved