ओम प्रकाश यादव लहान, असोज ९ । खडक नगरपालिकाको आयोजनामा ज्येष्ठ नागरिकका अधिकार, स्वास्थ्य, सामाजिक सुरक्षा, संरक्षण तथा स्थानीय तहबाट प्रदान गरिने सेवा–सुविधाका विषयमा केन्द्रित ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
खडक नगरपालिकाको बैठक हलमा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख तथा संरक्षण समितिका अध्यक्ष रिता कुमारी चौधरीको अध्यक्षता तथा नगर प्रमुख जय प्रकाश चौधरीको प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रममा विशिष्ट अतिथि सुशिला कुमारी साह, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका बाल कल्याण अधिकारी अनिता कुमारी साह, स्वास्थ्य शाखा प्रमुख जीव नारायण चौधरी, गया प्रसाद चौधरी, ज्येष्ठ नागरिक महासंघका केन्द्रीय अध्यक्ष देव नारायण साह, सामाजिक अभियन्ता अशोक कुमार साह लगायतको उपस्थिति रहेको थियो। त्यसैगरी खडक नगरपालिका वडा नं. १ देखि ११ सम्मका ज्येष्ठ नागरिकसम्बन्धी शाखा/संस्थाका अध्यक्ष, सचिव, कोषाध्यक्ष तथा सदस्यहरूको समेत सहभागिता रहेको थियो।
ज्येष्ठ नागरिकका समस्या र अधिकारबारे अन्तरक्रिया कार्यक्रमको मुख्य उद्देश्य ज्येष्ठ नागरिकका अधिकार, सम्मान, स्वास्थ्य, सामाजिक सुरक्षा तथा संरक्षणसम्बन्धी जानकारी प्रदान गर्नुका साथै उनीहरूले दैनिक जीवनमा भोगिरहेका समस्या, आवश्यकता तथा चुनौतीबारे प्रत्यक्ष रूपमा छलफल गर्नु रहेको थियो। कार्यक्रममा ज्येष्ठ नागरिकको स्वास्थ्य, सामाजिक सुरक्षा, सरकारी सेवामा पहुँच, परिवार तथा समाजमा सम्मानजनक व्यवहार र स्थानीय तहबाट उपलब्ध गराइने सेवा–सुविधाका विषयमा जानकारी तथा अन्तरक्रिया गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख तथा प्रमुख अतिथि जय प्रकाश चौधरीले खडक नगरपालिकाले ज्येष्ठ नागरिकको सम्मान, स्वास्थ्य, सामाजिक सुरक्षा तथा संरक्षणलाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो। नगर प्रमुख चौधरीले नगरपालिकाले ज्येष्ठ नागरिकको स्वास्थ्य तथा सामाजिक सुरक्षामा पहुँच अभिवृद्धि गर्न स्वास्थ्य सेवा, सामाजिक सुरक्षा, जनचेतनामूलक कार्यक्रम तथा आवश्यक समन्वयका कार्यहरू गर्दै आएको बताउनुभयो। उहाँले ज्येष्ठ नागरिकका आवश्यकता र समस्यालाई स्थानीय तहको नीति तथा कार्यक्रममा समेट्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने प्रयास भइरहेको जानकारी दिनुभयो।
उहाँले हालसम्म नगरपालिकाले ज्येष्ठ नागरिकको स्वास्थ्य तथा सामाजिक सुरक्षासँग सम्बन्धित कार्यक्रम सञ्चालन, आवश्यक स्वास्थ्य सेवामा सहजीकरण, सामाजिक सुरक्षा सेवामा पहुँच तथा ज्येष्ठ नागरिकका समस्या र गुनासो सम्बोधनका लागि सम्बन्धित शाखा तथा सरोकारवाला निकायसँग समन्वय गर्दै आएको बताउनुभयो। नगर प्रमुख चौधरीले आगामी दिनमा ज्येष्ठ नागरिक लक्षित कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै स्वास्थ्य परीक्षण तथा उपचारमा सहज पहुँच, आवश्यक औषधि तथा स्वास्थ्य सेवामा सहजीकरण, सामाजिक सुरक्षा सेवामा सहज पहुँच, ज्येष्ठ नागरिकमैत्री सेवा प्रवाह, सचेतना तथा अन्तरक्रिया कार्यक्रम र ज्येष्ठ नागरिकको सम्मान तथा सामाजिक सहभागिता बढाउने कार्यक्रमहरूलाई प्राथमिकताका साथ अघि बढाउने जानकारी दिनुभयो।
उहाँले ज्येष्ठ नागरिकबाट प्राप्त सुझाव र गुनासोलाई आगामी नीति, योजना तथा बजेट निर्माणका क्रममा प्राथमिकताका साथ समेटिने प्रतिबद्धता व्यक्त गर्नुभयो। नगर उपप्रमुख तथा कार्यक्रमका अध्यक्ष रिता कुमारी चौधरीले ज्येष्ठ नागरिकको सम्मान, स्वास्थ्य सुरक्षा तथा सामाजिक संरक्षणका लागि वडा तथा नगरस्तरमा थप कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले खडक नगरपालिकाका नागरिकलाई स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउने उद्देश्यले नोबेल मेडिकल कलेजसँग २५ प्रतिशत तथा काठमाडौं मेडिकल कलेजसँग ५० प्रतिशत छुटसम्बन्धी सम्झौता गरिएको जानकारी दिनुभयो।
साथै नेपाल सरकारबाट सञ्चालित स्वास्थ्य बीमा, आमा सुरक्षा कार्यक्रम, विपन्न नागरिक औषधि उपचार कोष लगायतका स्वास्थ्यसम्बन्धी सेवा तथा सुविधाबारे समेत सहभागीलाई जानकारी गराइएको थियो। ज्येष्ठ नागरिकसम्बन्धी कानुनी विषयमा सहजीकरण कार्यक्रममा खडक नगरपालिकाको न्यायिक समितिका कानुनी सल्लाहकार अजय कुमार चौधरीले ज्येष्ठ नागरिकसम्बन्धी कानुनी व्यवस्था, अधिकार तथा कानुनी परामर्शका विषयमा सहजीकरण गर्नुभएको थियो। उहाँले ज्येष्ठ नागरिकको अधिकार संरक्षण, परिवार तथा समाजको दायित्व र आफ्नो अधिकार प्राप्तिका लागि अपनाउन सकिने कानुनी प्रक्रियाबारे सहभागीलाई जानकारी गराउनुभयो।
कार्यक्रममा सहभागी ज्येष्ठ नागरिकहरूले स्वास्थ्य सेवा, औषधि, सामाजिक सुरक्षा भत्ता, सार्वजनिक सेवामा पहुँच, परिवार तथा समाजबाट पाउनुपर्ने सम्मान तथा स्थानीय तहबाट अपेक्षित सहयोगलगायतका विषयमा आफ्ना समस्या, गुनासा तथा सुझाव प्रस्तुत गरेका थिए। सहभागीबाट प्राप्त सवाल तथा सुझावमाथि सम्बन्धित सहजकर्ताले जवाफ दिँदै समस्या समाधानका सम्भावित उपायबारे दोहोरो अन्तरक्रिया गरिएको थियो।
कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाबाट स्वागत तथा कार्यक्रमको उद्देश्यबारे जानकारी गराइएको थियो। ज्येष्ठ नागरिक महासंघका केन्द्रीय अध्यक्ष देव नारायण साह तथा ज्येष्ठ नागरिक नगर अध्यक्ष सूर्य नारायण साहले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
अन्तरक्रियाबाट प्राप्त सुझावलाई आगामी योजना तथा कार्यक्रममा समेट्दै ज्येष्ठ नागरिकका समस्या समाधानका लागि नगरपालिका, वडा कार्यालय तथा सम्बन्धित सरोकारवाला निकायबीच थप समन्वय गर्ने विषयमा समेत जोड दिइएको थियो। कार्यक्रमले ज्येष्ठ नागरिकका समस्या, अधिकार र आवश्यकतालाई स्थानीय तहको नीति, योजना तथा कार्यक्रमसँग जोड्दै उनीहरूको सम्मान, संरक्षण, स्वास्थ्य सुरक्षा तथा सामाजिक सहभागिता अभिवृद्धि गर्न महत्वपूर्ण आधार तयार गरेको सहभागीहरूले बताएका छन्।
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic