ताजा समाचार

नेपाल प्रेस युनियन सिराहाको अध्यक्षमा शम्भुकुमार यादव सर्वसम्मत निर्वाचित

  • भदौ ७, २०८३
  • ६०३ पटक पढिएको
  • रहमुल
alt

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरेको छ। लहानस्थित उद्योग वाणिज्य संघको सभाकक्षमा सम्पन्न अधिवेशनको बन्दसत्रले युनियनको नयाँ नेतृत्व चयन गरेको हो। मुख्य निर्वाचन अधिकृत वसन्तकुमार चौधरीका अनुसार दुई उपाध्यक्षमा एलिना हिमाङ चौधरी र एम. महतो, सचिवमा सविनबाबु यादव, सहसचिवमा चन्द्रु चौधरी तथा कोषाध्यक्षमा सञ्जय विश्वकर्मा निर्वाचित भएका छन्।

त्यसैगरी कार्यसमिति सदस्यहरूमा श्रीकान्त झा, दिलीप सहनी, श्यामकुमार ठाकुर, वीरेन्द्रकुमार यादव, विजयकुमार यादव र मेनुका गौतम यादव चयन भएका छन्। महाधिवेशन प्रतिनिधिमा सन्तोषकुमार सुवेदी, रामबाबु यादव, भरत जर्घामगर, परमेश्वर साह र सञ्जीय उपाध्याय निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

नवनिर्वाचित अध्यक्ष शम्भुकुमार यादवले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, पत्रकारको पेसागत सुरक्षा र पत्रकारिताप्रतिको जनविश्वास कायम राख्न आफूले सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले जिल्लामा क्रियाशील पत्रकार तथा अन्य पेसागत संगठनसँग सहकार्य गर्दै पत्रकारका साझा सवाललाई प्राथमिकताका साथ उठाउने बताए।

अधिवेशनको उद्घाटन सत्रमा सहभागी वक्ताहरूले पछिल्लो समय पत्रकारिता क्षेत्रमा बढ्दै गएको दबाब, धम्की, धरपकड तथा विभिन्न प्रकारका हस्तक्षेपप्रति चिन्ता व्यक्त गर्दै प्रेस स्वतन्त्रताको पूर्ण प्रत्याभूति गर्न सरकारसँग माग गरेका छन्। वक्ताहरूले लोकतन्त्रको आधारस्तम्भका रूपमा रहेको प्रेसलाई स्वतन्त्र, निर्भीक र जिम्मेवार रूपमा काम गर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए। पत्रकारमाथि हुने कुनै पनि किसिमको दबाब वा हस्तक्षेप स्वीकार्य नहुने उनीहरूको भनाइ थियो।

कार्यक्रममा संविधानसभा सदस्यसमेत रहेका नेपाली कांग्रेस सिरहाका जिल्ला सभापति रामचन्द्र यादवले प्रेसमाथिको हस्तक्षेप लोकतान्त्रिक मूल्य–मान्यताविपरीत हुने बताए। उनले पत्रकारलाई स्वतन्त्र रूपमा समाचार सम्प्रेषण गर्ने वातावरण बनाउन राज्य गम्भीर हुनुपर्ने धारणा राखे। नेपाल प्रेस युनियनका महासचिव दिलीप पौडेलले बदलिँदो सञ्चार प्रविधिसँगै पत्रकारले आफ्नो क्षमता र सीपलाई समयअनुसार अद्यावधिक गर्नुपर्ने बताए। उनले डिजिटल पत्रकारिताको बढ्दो प्रभावलाई ध्यानमा राख्दै पत्रकारले नयाँ प्रविधि र डिजिटल माध्यमसम्बन्धी ज्ञान हासिल गर्नुपर्नेमा जोड दिए।

अधिवेशनका वक्ताहरूले प्रेस स्वतन्त्रताको अधिकारसँगै पत्रकारको जिम्मेवारी पनि उत्तिकै महत्वपूर्ण रहेको उल्लेख गरे। उनीहरूले पत्रकारले पेसागत आचारसंहिताको पालना गर्दै सत्य, तथ्य, सन्तुलित र प्रमाणमा आधारित समाचार सम्प्रेषण गर्नुपर्ने बताए। उद्घाटन सत्रमा प्रेस चौतारी नेपाल सिरहाका अध्यक्ष शिवकुमार साह, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य आशिष विश्वकर्मा, जिल्ला अध्यक्ष रामभरोसी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सिकिन्द्र पासवान, जिल्ला शाखा सहसचिव धर्मेन्द्र पासवान, नेपाल प्रेस युनियनका संस्थापक जिल्ला अध्यक्ष उद्धव हमाल तथा मधेश प्रदेश अध्यक्ष सत्यप्रसाद श्रेष्ठलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

वक्ताहरूले पत्रकारको पेसागत तथा भौतिक सुरक्षाको सुनिश्चितता, प्रेस स्वतन्त्रताको संरक्षण र पत्रकारितालाई थप जिम्मेवार तथा विश्वसनीय बनाउन सबै पक्षबीच सहकार्य आवश्यक रहेको धारणा राखे। नवनिर्वाचित नेतृत्वले जिल्लाका पत्रकारका पेसागत समस्या समाधान, प्रेस स्वतन्त्रताको संरक्षण र पत्रकारिताको गुणस्तर अभिवृद्धिका लागि प्रभावकारी रूपमा काम गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

नरहाको राजनीतिमा स्व ...

लहान, कार्तिक १ । सिरहाको नरहा गाउँपालिकाको राजनीतिमा आगामी स्थानीय निर्वाचनलाई लिएर सम्भावित नेतृत ...

तीन महिनादेखि सञ्चाल ...

ओम प्रकाश यादव लहान, कार्तिक १ । घर–घरको शान, स्वच्छता अभियानअन्तर्गत विगत तीन महिनादेखि गाउँ& ...

नरहा गाउँपालिकामा कि ...

ओम प्रकाश यादव, लहान असोज ३० । सिरहाको नरहा गाउँपालिकामा किशोरीहरूको अधिकार संरक्षण, सशक्तीकरण तथा उ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤