रहमुल, लहान, २८ साउन । विश्व आदिवासी दिवस २०८३ सिरहामा पनि विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको छ। आदिवासी जनजातिको अधिकार, पहिचान, भाषा, संस्कृति, परम्परा तथा मौलिक जीवनशैलीको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले बुधबार लहान नगरपालिका–१५ स्थित हातीदहमा कार्यक्रम आयोजना गरिएको थियो।
हरेक वर्ष अगस्ट ९ तारिखमा विश्वभर मनाइने विश्व आदिवासी दिवस आदिवासी जनजाति समुदायको अधिकार र पहिचान स्थापित गर्ने महत्वपूर्ण अवसरका रूपमा लिइन्छ। नेपालमा पनि विभिन्न आदिवासी जनजाति समुदायले सांस्कृतिक झाँकी, छलफल, अन्तरक्रिया तथा विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाउँदै आएका छन्। कार्यक्रममा प्रमुख अतिथिका रूपमा सिरहा निर्वाचन क्षेत्र नं. १(क) का प्रदेशसभा सदस्य राजेन्द्रप्रसाद चौधरी सहभागी भएका थिए। कार्यक्रममा बोल्दै चौधरीले आदिवासी जनजाति समुदायको मौलिक कला, संस्कृति, रहनसहन, भेषभूषा, खानपान, भाषा तथा परम्परा अन्य समुदायभन्दा विशिष्ट रहेको उल्लेख गर्दै यस्ता मौलिक सम्पदाको संरक्षणका लागि निरन्तर कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए।
उनले आदिवासी जनजातिका मौलिक पहिचान र परम्परालाई नयाँ पुस्तासम्म पुर्याउन समुदाय, स्थानीय तह र राज्यका सबै निकायले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए। आदिवासी जनजातिका आवाजलाई अझ प्रभावकारी रूपमा उठाउँदै संसद्सम्म पुर्याउन आफू पछि नहट्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरे। विशिष्ट अतिथिको रुपमा लहान नगर प्रमुख महेश प्रसाद चौधरीले नेपाल बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृतिक मुलुक भएकाले यहाँका विभिन्न आदिवासी जनजातिको भाषा, भेषभूषा, संस्कार, कला, संगीत, नृत्य तथा परम्परा देशको मौलिक पहिचानका महत्वपूर्ण आधार रहेको बताएका थिए।
उनले पछिल्लो समय तीव्र आधुनिकीकरण, बसाइँसराइ तथा सांस्कृतिक परिवर्तनका कारण कतिपय मौलिक भाषा, संस्कार र परम्परा संकटमा पर्दै गएकाले संरक्षणका लागि विशेष पहल आवश्यक रहेकोमा समेत जोड दिइएको थियो। नयाँ पुस्तालाई आफ्नो समुदायको इतिहास, भाषा, संस्कृति र परम्परासँग जोड्न सके मात्रै मौलिक पहिचानलाई दीर्घकालसम्म जोगाउन सकिने धारणा राखेका थिए।
उहाँ अगाडी थप्दै नगर भित्र रहेका सम्पूर्ण धर्म संस्कृति जातजातिलाई समान व्यवहार गर्दै सबैको पहुँच सरकार सम्म पुर्याउन जनबोलेको कदर गर्दै जनचाहना मुताविक स्थानीय सरकार सञ्चालन भइरहेकोले नगरवासी अलिकति बिचल्लीमा नपर्न आग्रह गर्दै हाल किशोर र युवा कुलतमा फसेर समुदाय स्तरमा विभिन्न विकृतिहरू फैलाई रहेको र किशोर युवा बिग्रिँदै गइरहेकोले हरेक नगरवासी देशबासी हरु अभियानमा सहभागी भइ यसको नियन्त्रणमा जुट्न आग्रह गरेका थिए।
कार्यक्रमा सहभागी अन्य वक्ताहरूले विश्व आदिवासी दिवसले आदिवासी जनजातिको अधिकार र पहिचानको सम्मानसँगै सामाजिक न्याय, समान अवसर, समावेशिता र राज्यका हरेक तहमा समान सहभागिताको आवश्यकता औँल्याउँदै आदिवासी समुदायले देशको कला, संस्कृति, प्रकृति संरक्षण तथा सामाजिक विकासमा पुर्याउँदै आएको योगदानलाई राज्यले उचित सम्मान र पहिचान दिनुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा आदिवासी जनजातिका अगुवा, स्थानीय तहका जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा समुदायका सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो। आदिवासी जनजाति महासंघ सिरहाका अध्यक्ष डेनोक मुत्तानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागीहरूले आदिवासी जनजातिको मौलिक पहिचान, अधिकार, भाषा, संस्कृति र परम्पराको संरक्षणका लागि सामूहिक पहललाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए।
विश्व आदिवासी दिवस केवल सांस्कृतिक उत्सव मनाउने दिन मात्र नभई आदिवासी जनजातिको अधिकार, पहिचान र समान सहभागिताका विषयमा राज्य तथा समाजलाई जिम्मेवार बनाउने अवसरका रूपमा स्थापित गर्नुपर्नेमा सहभागीहरूको जोड थियो।
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic