ओम प्रकाश यादव, लहान, साउन २७ । ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तरगत आज लहानको वडा न.२४ मा घरबाट सुरु हुने सरसफाइको अभ्यासलाई समुदाय हुँदै सार्वजनिक स्थलसम्म विस्तार गर्ने उद्देश्यले लहान नगरपालिका २४ स्थित राय टोल मलहनमामा सरसफाइ तथा स्वच्छता अभियान सञ्चालन गरिएको थियो। ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत बुधबार आयोजित कार्यक्रममा र्याली, सडक नाटक, नृत्य तथा मनोरञ्जनात्मक प्रस्तुतिसँगै सार्वजनिक स्थलको सरसफाइ गरी स्थानीयवासीलाई स्वच्छता, सुरक्षित शौचालयको प्रयोग, फोहोर व्यवस्थापन तथा वातावरण संरक्षणबारे सचेत गराइएको हो।

लहान नगरपालिका–२४ का वडा सदस्यआशा महतोको नेतृत्व तथा नगरपालिकाको WASH Unit को समन्वयमा सञ्चालन गरिएको अभियानमा स्थानीय बासिन्दा, जनप्रतिनिधि, महिला स्वास्थ्यकर्मी, नगरपालिका पदाधिकारी, सामाजिक संघसंस्थाका प्रतिनिधि तथा विभिन्न सरोकारवाला निकायको सहभागिता रहेको थियो। कार्यक्रमका क्रममा राय टोलका विभिन्न क्षेत्रमा सचेतनामूलक र्याली निकालिएको थियो। र्यालीमा सहभागीहरूले घर तथा वरपरको वातावरण सफा राख्न, सुरक्षित शौचालयको नियमित प्रयोग गर्न, फोहोर जथाभावी नफाल्न तथा सार्वजनिक स्थलको संरक्षणमा ध्यान दिन स्थानीयवासीलाई आग्रह गरेका थिए। स्वच्छता केवल घरभित्र सीमित नभई टोल, सडक, बजार तथा सार्वजनिक स्थलसम्म विस्तार गर्नुपर्ने सन्देश र्यालीमार्फत दिइएको थियो।

र्यालीपछि सार्वजनिक स्थलमा सरसफाइ कार्यक्रम सञ्चालन गरिएको थियो। अभियानमा सहभागी जनप्रतिनिधि, स्थानीयवासी तथा सरोकारवालाहरू आफैं फोहोर संकलन तथा व्यवस्थापनमा जुटेका थिए। यसले सरसफाइ गर्ने जिम्मेवारी स्थानीय सरकारको मात्र नभई प्रत्येक नागरिकको पनि समान दायित्व भएको सन्देश दिएको थियो।

कार्यक्रममा दलित जनकल्याण युवा क्लबका अध्यक्ष विनोद विसुनके तथा लहान नगरपालिका २४ का वडा सदस्य आशा महतो लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा मिथिला युवा बैठार समुहले सडक नाटक, नृत्य तथा मनोरञ्जनात्मक प्रस्तुतिमार्फत स्वच्छता र सरसफाइसम्बन्धी सचेतनामूलक सन्देश प्रस्तुत गरेको थियो। मिथिला कला नाटक बैठारको प्रस्तुतिले कार्यक्रममा सहभागी स्थानीयवासीलाई मनोरञ्जन प्रदान गर्नुका साथै स्वच्छता, सुरक्षित शौचालयको प्रयोग, व्यक्तिगत सरसफाइ, फोहोर व्यवस्थापन तथा वातावरण संरक्षणका विषयमा व्यवहार परिवर्तनका लागि प्रेरित गरेको थियो। सडक नाटकमार्फत सरसफाइमा बेवास्ता गर्दा तथा फोहोर जथाभावी फाल्दा स्वास्थ्य र वातावरणमा पर्न सक्ने नकारात्मक असरलाई सरल र मनोरञ्जनात्मक ढंगले प्रस्तुत गरिएको थियो।

कार्यक्रममा सहभागीहरूले स्वच्छतासम्बन्धी जानकारी हासिल गर्नु मात्र पर्याप्त नभई त्यसलाई दैनिक जीवनमा व्यवहारका रूपमा लागू गर्नुपर्नेमा जोड दिएका थिए। घर सफा राखेर मात्र समुदाय स्वच्छ बन्न नसक्ने भएकाले टोल, सडक, सार्वजनिक स्थल तथा आसपासको वातावरण सफा राख्न सामूहिक प्रयास आवश्यक रहेको उनीहरूको भनाइ थियो।

अभियानमा सुरक्षित शौचालयको प्रयोगलाई विशेष प्राथमिकता दिइएको थियो। शौचालय निर्माण गरेपछि त्यसको नियमित प्रयोग, सरसफाइ तथा उचित व्यवस्थापनमा समेत ध्यान दिनुपर्ने बताइएको थियो। सुरक्षित र सफा शौचालयको पहुँच तथा प्रयोगले नागरिकको स्वास्थ्य, सुरक्षा र सम्मानसँग प्रत्यक्ष सम्बन्ध राख्ने भएकाले यसको प्रयोगलाई प्रत्येक परिवारको नियमित व्यवहार बनाउनुपर्नेमा जोड दिइएको थियो।

विशेषगरी महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा कमजोर अवस्थाका व्यक्तिहरूका लागि सुरक्षित शौचालयको महत्व बढी हुने भएकाले परिवार तथा समुदायले यस विषयलाई प्राथमिकताका साथ लिनुपर्ने सहभागीहरूले बताएका थिए। शौचालय प्रयोगपछि साबुनपानीले हात धुने, शौचालय नियमित सफा गर्ने तथा फोहोरको उचित व्यवस्थापन गर्ने बानी विकास गर्नुपर्नेमा समेत सचेत गराइएको थियो।

कार्यक्रममा फोहोर व्यवस्थापनलाई पनि स्वच्छता अभियानको महत्वपूर्ण पक्षका रूपमा प्रस्तुत गरिएको थियो। घरबाट निस्कने फोहोर छुट्याउने, निर्धारित स्थानमा मात्र फोहोर फाल्ने तथा सार्वजनिक स्थलमा प्लास्टिकजन्य सामग्रीलगायतका फोहोर नफाल्ने बानीको विकास गर्नुपर्नेमा जोड दिइएको थियो। स्थानीयस्तरमा फोहोर व्यवस्थापन प्रभावकारी बनाउन नागरिक र स्थानीय सरकारबीच सहकार्य आवश्यक रहेको सहभागीहरूले बताएका थिए।

अभियानका क्रममा प्रस्तुत सडक नाटक तथा सांस्कृतिक कार्यक्रमले स्वच्छता र स्वास्थ्यबीचको सम्बन्धलाई समेत उजागर गरेको थियो। सरसफाइको कमीका कारण विभिन्न रोग फैलिन सक्ने भएकाले व्यक्तिगत तथा वातावरणीय स्वच्छतालाई दैनिक जीवनको अभिन्न हिस्सा बनाउनुपर्ने सन्देश प्रस्तुतिमार्फत दिइएको थियो। कार्यक्रममा सहभागी स्थानीयवासीले स्वच्छता अभियानलाई एक दिनको कार्यक्रमका रूपमा मात्र सीमित नगरी निरन्तर अभियानका रूपमा अघि बढाउनुपर्ने बताएका थिए। उनीहरूले टोलका प्रत्येक घरपरिवारलाई सरसफाइ अभियानमा सहभागी गराउँदै सार्वजनिक स्थलको नियमित सरसफाइ तथा संरक्षणमा समेत ध्यान दिनुपर्ने आवश्यकता औँल्याएका थिए।

लहान नगरपालिकाले नगरका २४ वटै वडामा ‘घर–घरको शान, स्वच्छता अभियान’ सञ्चालन गर्दै आएको जनाएको छ। अभियानमार्फत नागरिकलाई व्यक्तिगत स्वच्छता, सुरक्षित शौचालयको प्रयोग, फोहोर व्यवस्थापन, सार्वजनिक स्थलको सरसफाइ तथा वातावरण संरक्षणका विषयमा निरन्तर सचेत गराउने उद्देश्य राखिएको नगरपालिकाले जनाएको छ।

नगरपालिकाका अनुसार स्वच्छ, स्वस्थ तथा व्यवस्थित समुदाय निर्माण गर्न स्थानीय सरकारको पहलसँगै नागरिकको सक्रिय सहभागिता अपरिहार्य छ। सरसफाइलाई अभियानको समयसम्म मात्र सीमित नगरी दैनिक जीवनको संस्कार बनाउन सकेमा यसको दीर्घकालीन प्रभाव देखिने नगरपालिकाको भनाइ छ। ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत सञ्चालन हुने यस्ता कार्यक्रमले नागरिकमा सरसफाइप्रतिको चेतना बढाउनुका साथै व्यवहार परिवर्तनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ। घरदेखि टोल हुँदै सार्वजनिक स्थलसम्म स्वच्छता कायम गर्ने संस्कार विकास गर्न सकेमा लहान नगरलाई स्वच्छ, स्वस्थ र व्यवस्थित नगरका रूपमा विकास गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic