लहान साउन २६ । नेपाल अपाङ्ग महिला संघ र मुक्ति नेपालको साझेदारी तथा Disability Rights Fund (DRF) को सहयोगमा सञ्चालन भइरहेको “सशक्त न्याय : अपाङ्गता भएका महिला तथा किशोरीहरूका न्याय” परियोजनाअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिकामा समन्वयात्मक तथा परियोजना परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ।
कर्जन्हा नगरपालिकाका नगर उपप्रमुख श्री लक्ष्मी श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पालिकाका कर्मचारी, विभिन्न सरोकारवाला निकायका प्रतिनिधि, अपाङ्गता भएका व्यक्तिहरू तथा सम्बन्धित संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा परियोजनाको उद्देश्य, आवश्यकता, कार्यक्षेत्र तथा आगामी गतिविधिबारे जानकारी गराइएको थियो। विशेषगरी अपाङ्गता भएका महिला तथा किशोरीहरूले भोग्दै आएका न्यायमा पहुँच, अधिकारको संरक्षण, हिंसा तथा विभेदबाट सुरक्षा, कानुनी सहायता र राज्यका सेवा–सुविधामा पहुँच लगायतका विषयमा कार्यक्रममार्फत छलफल गरिएको थियो।
परियोजनाले अपाङ्गता भएका महिला तथा किशोरीहरूलाई आफ्नो अधिकारबारे सचेत बनाउँदै उनीहरूले न्याय प्राप्त गर्ने प्रक्रियामा सहज पहुँच स्थापित गर्ने लक्ष्य राखेको आयोजकले जनाएको छ। साथै, अपाङ्गता भएका महिलाहरूले भोगिरहेका समस्या पहिचान गरी स्थानीय तह, सरोकारवाला निकाय तथा सम्बन्धित संघ–संस्थाबीच समन्वय र सहकार्यलाई प्रभावकारी बनाउने उद्देश्यसमेत परियोजनाको रहेको बताइएको छ।
कार्यक्रममा सहभागी सरोकारवालाहरूले अपाङ्गता भएका महिला तथा किशोरीहरूको अधिकार सुनिश्चित गर्न स्थानीय तहको भूमिका महत्वपूर्ण रहेको धारणा व्यक्त गरेका थिए। उनीहरूले अपाङ्गता भएका व्यक्तिहरूका लागि उपलब्ध सेवा, सुविधा तथा कानुनी अधिकार प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित सबै पक्षबीच निरन्तर समन्वय आवश्यक रहेको बताएका थिए।
त्यस्तै, अपाङ्गता भएका महिला तथा किशोरीहरूले न्याय प्राप्त गर्नका लागि आवश्यक पर्ने सूचना, परामर्श, कानुनी सहयोग तथा अन्य सहयोगी सेवाहरू स्थानीयस्तरमै सहज रूपमा उपलब्ध गराउनुपर्नेमा पनि जोड दिइएको थियो। कार्यक्रममा सहभागी अपाङ्गता भएका व्यक्तिहरू तथा संस्थाका प्रतिनिधिहरूले आफ्ना अनुभव, समस्या तथा अपेक्षाहरू राख्दै स्थानीय तहसँग सहकार्य गरी अपाङ्गता भएका महिला तथा किशोरीहरूको अधिकार संरक्षण र न्यायमा पहुँच अभिवृद्धि गर्नुपर्ने बताएका थिए।
कार्यक्रमले कर्जन्हा नगरपालिकाभित्र अपाङ्गता भएका महिला तथा किशोरीहरूको अधिकार, न्यायमा पहुँच र संरक्षणका विषयमा स्थानीय तह तथा सरोकारवालाबीच साझा समझदारी निर्माण गर्न महत्वपूर्ण आधार तयार गरेको आयोजकको भनाइ छ। “सशक्त न्याय” परियोजना धनुषाको जनकनन्दनी गाउँपालिका र सिरहाको कर्जन्हा नगरपालिकामा केन्द्रित रही अपाङ्गता भएका महिला तथा किशोरीहरूको न्यायमा पहुँच, अधिकार संरक्षण र सशक्तीकरणका लागि विभिन्न गतिविधि सञ्चालन गर्ने उद्देश्यले अघि बढाइएको हो।
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic