Siraha Times
ताजा समाचार

मिथिला कला क्षेत्रलाई राष्ट्रिय पहिचान दिलाउने तयारी : असोज १० गतेदेखि ‘नेशनल अवार्ड’ आयोजना हुँदै

  • साउन २, २०८३
  • ४२३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान साउन २ । मिथिला क्षेत्रको कला, संगीत, मनोरञ्जन तथा सिर्जनात्मक क्षेत्रमा सक्रिय कलाकार र प्रतिभाहरूलाई राष्ट्रिय स्तरमा पहिचान तथा सम्मान प्रदान गर्ने उद्देश्यले संयुक्त मिथिला कलाकार नेपालले ‘नेशनल अवार्ड’ आयोजना गर्ने भएको छ।

आगामी २०८३ साल असोज १० गतेदेखि सुरु हुने नेशनल अवार्ड कार्यक्रमबारे जानकारी गराउन शनिबार, २०८३ साल साउन २ गते प्रेस मिट कार्यक्रम सम्पन्न भएको हो। संयुक्त मिथिला कलाकार नेपालका अध्यक्ष राजाराम साहको अध्यक्षतामा आयोजित कार्यक्रममा संस्थाका पदाधिकारी, वरिष्ठ सल्लाहकार, सल्लाहकार, कलाकार तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा अध्यक्ष राजाराम साह, उपाध्यक्ष रीना कुमारी चौधरी, सचिव गङ्गा परियार, सहसचिव अर्जुन पासवान, कोषाध्यक्ष श्याम सिंह तथा सदस्यहरू अरुण कुमार चौधरी, प्रमोद कुमार चौधरी, रमेश बि.क., दीपक बि.क. र कपिल दस्स्यालको उपस्थिति रहेको थियो। त्यसैगरी संस्थाका वरिष्ठ सल्लाहकार कुशेश्वर साह, सल्लाहकार महेश सेन्चुरीसहित विभिन्न कलाकार तथा पत्रकारहरूको समेत सहभागिता रहेको आयोजकले जनाएको छ।

आयोजकका अनुसार यस वर्षको नेशनल अवार्डमा कला तथा मनोरञ्जन क्षेत्रका विभिन्न विधालाई समेटेर ९ वटा विधामा अवार्ड प्रदान गरिनेछ। अवार्डका विधाहरूमा: बेस्ट म्युजिक भिडियो अवार्ड बेस्ट मोडल अफ भिडियो अवार्ड बेस्ट गायक (अल्ल भाषा) अवार्ड बेस्ट टिकटक भिडियो अवार्ड बेस्ट संगीतकार अवार्ड बेस्ट कोरियोग्राफर अवार्ड बेस्ट निर्देशक अवार्ड बेस्ट गीतकार अवार्ड बेस्ट क्यामेराम्यान अवार्ड रहेका छन्।

आयोजकले विभिन्न विधामा उत्कृष्ट योगदान पुर्‍याउने कलाकार, गायक, संगीतकार, निर्देशक, गीतकार, मोडल, कोरियोग्राफर तथा प्राविधिक जनशक्तिलाई सम्मान गर्ने जनाएको छ। नेशनल अवार्डका लागि सहभागी तथा प्रतिस्पर्धीहरूको नोमिनेशन अनलाइन प्रणालीमार्फत गरिने आयोजकले जनाएको छ। आवेदन तथा नोमिनेशन खुल्ने मितिबारे जमजम लहान र संयुक्त मिथिला कलाकार नेपालको आधिकारिक फेसबुक पेजमार्फत जानकारी सार्वजनिक गरिने बताइएको छ।

आयोजकका अनुसार अवार्ड कार्यक्रममा सहभागी हुन इच्छुक कलाकार तथा सिर्जनाकर्मीहरूले खल्ती एपमार्फत आफ्नो स्थान सुरक्षित गर्न सक्नेछन्। आवेदन प्रक्रिया सुरु भएपछि आवश्यक जानकारी सम्बन्धित आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिनेछ। त्यस्तै, नोमिनेशन तथा अवार्डसम्बन्धी आवश्यक सूचनाहरू एसएमएस तथा जमजम लहान र संयुक्त मिथिला कलाकार नेपालको आधिकारिक फेसबुक आईडीमार्फत जानकारी गराइने आयोजकले जनाएको छ।

संयुक्त मिथिला कलाकार नेपालका अनुसार मिथिला क्षेत्रमा लामो समयदेखि कला, संगीत, भिडियो निर्माण तथा मनोरञ्जन क्षेत्रमा सक्रिय रहेर योगदान पुर्‍याइरहेका प्रतिभाहरूलाई एउटै मञ्चमा ल्याई उनीहरूको योगदानको मूल्याङ्कन तथा सम्मान गर्नु अवार्डको मुख्य उद्देश्य हो। स्थानीय तथा क्षेत्रीय स्तरमा उत्कृष्ट काम गरिरहेका धेरै कलाकारहरू उचित पहिचान र अवसरबाट वञ्चित हुँदै आएको अवस्थामा यस प्रकारको अवार्ड कार्यक्रमले नयाँ प्रतिभालाई प्रोत्साहन गर्नुका साथै उनीहरूलाई राष्ट्रिय स्तरमा स्थापित हुन सहयोग पुग्ने आयोजकको विश्वास छ।

मिथिला क्षेत्रको मौलिक कला, भाषा, संगीत तथा सांस्कृतिक पहिचानलाई प्रवर्द्धन गर्दै कलाकारहरूबीच सहकार्य र प्रतिस्पर्धाको वातावरण निर्माण गर्ने उद्देश्यसमेत कार्यक्रमले लिएको आयोजकले जनाएको छ। नेशनल अवार्ड कार्यक्रमको आयोजना संयुक्त मिथिला कलाकार नेपालले गर्नेछ भने जमजम लहान मुख्य प्रायोजकका रूपमा रहेको छ। अवार्डमा सहभागी हुने कलाकार तथा सिर्जनाकर्मीहरूले आवेदन, नोमिनेशन, विधा तथा छनोट प्रक्रियासम्बन्धी सम्पूर्ण जानकारी आयोजक संस्था तथा प्रायोजकको आधिकारिक सामाजिक सञ्जालमार्फत प्राप्त गर्न सक्नेछन्।

आयोजकले कलाकार तथा सिर्जनाकर्मीहरूलाई समयमै आवेदन तथा नोमिनेशन प्रक्रियामा सहभागी हुन आग्रह गर्दै कार्यक्रमलाई सफल बनाउन सबैको सहयोग आवश्यक रहेको जनाएको छ। असोज १० गतेदेखि सुरु हुने भनिएको नेशनल अवार्डले मिथिला क्षेत्रका कलाकार तथा सिर्जनाकर्मीलाई राष्ट्रिय पहिचान दिलाउने अपेक्षा गरिएको छ

प्रतिक्रिया दिनुहोस

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१