Siraha Times
ताजा समाचार

भगवानपुर सबस्टेसन बाट विद्युत् आपूर्तिमा बारम्बार अवरोध, कमसल उपकरण र हस्तान्तरण नहुँदा स्थानीय आक्रोशित

  • साउन १, २०८३
  • १०६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल,लहान १ साउन । सिरहाको भगवानपुर गाउँपालिका–१ स्थित नेपाल विद्युत् प्राधिकरणको भगवानपुर सबस्टेसनबाट विद्युत् आपूर्ति हुने क्षेत्रमा बारम्बार विद्युत् अवरुद्ध हुने समस्या गम्भीर बन्दै गएको छ। छिनछिनमै विद्युत् काटिने समस्याले दैनिक जनजीवन, कृषि, शिक्षा तथा व्यवसायमा प्रत्यक्ष असर परेको भन्दै स्थानीयवासीले तत्काल समाधानको माग गरेका छन्।

भगवानपुर सबस्टेसनबाट भगवानपुर गाउँपालिकाका पाँचवटै वडा, नवराजपुर गाउँपालिकाका पाँचवटै वडा, सखुवानन्कारकट्टी गाउँपालिकाका चार वडा तथा लहान नगरपालिकाका केही गाउँमा विद्युत् आपूर्ति हुँदै आएको छ। स्थानीयका अनुसार सबस्टेसन सञ्चालनमा आएदेखि नै सामान्य हावा चले पनि वा हल्का वर्षा भए पनि पटक–पटक विद्युत् आपूर्ति बन्द हुने समस्या नियमितजस्तै बनेको छ।

संयुक्त मिडिया हाउस, लहानका पत्रकारहरूको टोलीले स्थलगत रूपमा गरेको अवलोकन तथा सरोकारवालासँगको कुराकानीका क्रममा समस्या प्राविधिक कमजोरीसँग जोडिएको देखिएको छ। नाम उल्लेख नगर्ने सर्तमा सबस्टेसनका एक कर्मचारीले ठेकेदार कम्पनीले हालसम्म आयोजना नेपाल विद्युत् प्राधिकरणलाई औपचारिक रूपमा हस्तान्तरण नगरेको बताए।

उनका अनुसार सबस्टेसनमा जडान गरिएका केही उपकरण कमसल गुणस्तरका छन् भने आवश्यक प्राविधिक जनशक्तिको पनि अभाव छ। प्रसारण लाइन नजिक रुखका हाँगाहरू व्यवस्थापन नगरिएकाले सामान्य हावाहुरीमै लाइनमा अवरोध हुने गरेको छ। साथै, सानो लोड असन्तुलन हुँदा उपकरणले धान्न नसकी फ्युज झर्ने, आगलागीको जोखिम उत्पन्न हुने तथा प्रणाली स्वतः बन्द हुने समस्या दोहोरिने गरेको उनले जानकारी दिए।

स्थानीय किसानका अनुसार अनियमित विद्युत् आपूर्तिका कारण सिँचाइका लागि प्रयोग हुने विद्युतीय मोटरहरू पटक–पटक बिग्रिने र जल्ने गरेका छन्। विद्युत्को भोल्टेज घटबढ हुँदा घरायसी विद्युतीय उपकरणमा समेत क्षति पुगेको उनीहरूको गुनासो छ। साँझ र बिहानजस्ता अत्यधिक खपत हुने समयमा नियमित रूपमा विद्युत् अवरुद्ध हुँदा विद्यार्थीको अध्ययन प्रभावित भएको, साना उद्योग तथा व्यवसाय सञ्चालनमा कठिनाइ भएको र अत्यावश्यक सेवा समेत प्रभावित हुने गरेको स्थानीयवासी बताउँछन्।

किसानहरूले धान रोपाइँ तथा सिँचाइको संवेदनशील समयमा यस्तै अवस्था कायम रहे उत्पादनमा समेत प्रत्यक्ष असर पर्ने चेतावनी दिएका छन्। उनीहरूका अनुसार यसअघि लहानबाट विद्युत् आपूर्ति हुँदा सामान्य प्राविधिक समस्या बाहेक यति धेरै अवरोध हुने गरेको थिएन। भगवानपुर सबस्टेसनबाट विद्युत् वितरण सुरु भएपछि भने समस्या झन् बढ्दै गएको उनीहरूको दाबी छ। स्थलगतरूपमा भेटिएका स्थानीय युवाहरूले सबस्टेसन अझैसम्म ठेकेदार कम्पनीबाट नेपाल विद्युत् प्राधिकरणलाई किन हस्तान्तरण हुन सकेन भन्ने विषयमा प्रश्न उठाएका छन्।

कमसल तथा पुराना उपकरण जडान गरिएको हो वा होइन भन्ने विषयमा निष्पक्ष प्राविधिक छानबिन गर्नुपर्ने उनीहरूको माग छ। स्थानीय स्रोतका अनुसार सबस्टेसनमा ३३ केभी लाइनको प्रत्यक्ष जडान रहेकाले सुरक्षासम्बन्धी जोखिमका कारण कर्मचारीहरू समेत उच्च सतर्कताका साथ काम गर्न बाध्य छन्। पर्याप्त सुरक्षा मापदण्ड र आवश्यक संरचना अभावमा प्राविधिक कर्मचारीले समेत असहज अवस्था झेल्नुपरेको बताइएको छ। स्थानीयवासीले सम्बन्धित निकायलाई पटक–पटक जानकारी गराउँदा पनि समस्या समाधानमा प्रभावकारी पहल नभएको गुनासो गरेका छन्।

उनीहरूले नेपाल विद्युत् प्राधिकरण, निर्माण कम्पनी तथा सम्बन्धित सरकारी निकायसँग सबस्टेसनको प्राविधिक अवस्था, निर्माण गुणस्तर, हस्तान्तरण प्रक्रियालगायत विषयमा छानबिन गरी दीर्घकालीन समाधान गर्न माग गरेका छन्। बढ्दो विद्युत् निर्भरताका बीच आधारभूत सेवा नै अनियमित हुँदा नागरिकले अनावश्यक सास्ती भोग्नुपरेको भन्दै स्थानीयहरूले जिम्मेवार निकायको शीघ्र ध्यानाकर्षण गराएका छन्।

साथै, वर्तमान सरकार र सम्बन्धित निकायले नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको यस समस्याको दीर्घकालीन समाधानका लागि तत्काल प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता औँल्याएका छन्।

प्रतिक्रिया दिनुहोस

दैनिक ज्यालादारी कर् ...

रामअधार यादव, रौतहट, साउन १  । पूर्वाधार विकास कार्यालय रौतहटले आर्थिक वर्ष २०८२/०८३ मा दैनिक ज ...

अनुदान भुक्तानीमा सह ...

रामअधार यादव, रौतहट, १ साउन । सरकारी उखु अनुदान रकम भुक्तानीमा भएको ढिलाइपछि आन्दोलनमा उत्रिएको ...

सडक नाटकबाट लहानमा स ...

लहान असार ३२ । स्वच्छ घरबाट स्वस्थ परिवार र स्वस्थ परिवारबाट सभ्य समाज निर्माण हुने विश्वाससहित लहान ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१