Siraha Times
ताजा समाचार

औरही गाउँपालिकामा शिक्षा, कृषि र पूर्वाधारमा तीव्र लगानी: ३.३९ करोडको छात्रावास–पुस्तकालय भवन शिलान्यास, ६ तले प्रशासकीय भवन पनि निर्माणाधीन

  • असार २४, २०८३
  • ११० पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल,लहान , २४ असार सिरहाको औरही गाउँपालिकाले शिक्षा, कृषि तथा भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै विभिन्न महत्वाकांक्षी योजना अघि बढाएको छ। यसैक्रममा गाउँपालिकास्थित सुन्दर जनता माध्यमिक विद्यालयमा तीन कोठे छात्रावास, पुस्तकालय तथा महिला–पुरुषका लागि छुट्टाछुट्टै शौचालय सहितको भवन निर्माण कार्यको शिलान्यास गाउँपालिका अध्यक्ष शिवजी यादवले गरेका छन्।

हाल कक्षा १२ (+२) सम्म अध्ययन–अध्यापन हुँदै आएको विद्यालयमा उच्च शिक्षाको पहुँच विस्तार गर्ने उद्देश्यले आवश्यक भौतिक संरचना निर्माण भइरहेको अध्यक्ष यादवले बताए। उनका अनुसार भविष्यमा स्नातक (ब्याचलर) तहसम्मको अध्ययन सञ्चालन गर्न सक्ने वातावरण तयार गर्ने लक्ष्यका साथ स्थानीय सरकारले पूर्वाधार विकासमा लगानी बढाएको हो। निर्माणाधीन भवन ए.पी. ब्रेभ सी.ए. कन्स्ट्रक्सन जेभीले निर्माण गरिरहेको छ। दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित निर्माण सुरु भएको उक्त परियोजनाको कुल लागत ३ करोड ३९ लाख रुपैयाँ रहेको अध्यक्ष यादवले जानकारी दिए।

शिलान्यास कार्यक्रममा अध्यक्ष यादवले गाउँपालिकाको समग्र विकास योजनाबारे पनि धारणा राख्दै सिरहा जिल्लामै नमुना बन्ने गरी गाउँपालिकाको आफ्नै लगानीमा ६ तले प्रशासकीय भवन निर्माण भइरहेको बताए। भवन सम्पन्न भएपछि गाउँपालिकाका विभिन्न वडाबाट समेत सहजै देख्न सकिने ऐतिहासिक संरचनाका रूपमा विकास गरिने उनको भनाइ थियो। साथै, आगामी सरस्वती पूजाको अवसरमा उक्त प्रशासकीय भवन उद्घाटन गर्ने लक्ष्य रहेको समेत उनले उल्लेख गरे।

अध्यक्ष यादवले आफ्नो चार वर्षे कार्यकालमा अघिल्ला स्थानीय सरकारको तुलनामा भौतिक पूर्वाधार निर्माण, सडक विस्तार, कृषि सडक, कृषि विद्युतीकरण तथा किसानमुखी कार्यक्रमलाई विशेष प्राथमिकता दिएको दाबी गरे। युवामुखी, महिलामुखी, बालबालिकामुखी तथा लक्षित वर्गका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिएको, खानेपानीको समस्या समाधानतर्फ उल्लेखनीय प्रगति भएको उनको भनाइ थियो।

उनले शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ तथा वातावरण संरक्षणका क्षेत्रमा पनि महत्वपूर्ण काम भएको उल्लेख गर्दै किसानका लागि सिँचाइ विद्युत् मिटरको महसुल गाउँपालिकाले तिर्ने व्यवस्था गरिएको बताए। हाल करिब ६०० वटा बोरिङ सञ्चालनमा रहेको र त्यसमार्फत औरही गाउँपालिका मात्र नभई सीमावर्ती भारतको बिहार राज्यको मधुबनी क्षेत्रसम्म पनि सिँचाइ सुविधा पुगेको दाबी उनले गरे।

कृषि उत्पादनलाई व्यवस्थित बजारसँग जोड्न सुविधा सम्पन्न कृषि तथा पशुपन्छी प्रयोगशाला सहितको भवन निर्माण गरिएको जानकारी दिँदै उनले कृषि बजारीकरणलाई थप प्रभावकारी बनाउने योजनामा गाउँपालिका अघि बढिरहेको बताए। सामाजिक सुरक्षा तथा समावेशी विकासलाई समेत प्राथमिकतामा राखिएको उल्लेख गर्दै अध्यक्ष यादवले दलित, गरिब, मुस्लिम तथा अतिविपन्न परिवारलाई ३० युनिटसम्मको विद्युत् निःशुल्क उपलब्ध गराउने व्यवस्था गरिएको जानकारी दिए।

उनले आगामी आर्थिक वर्षमा शिक्षा, कृषि, पूर्वाधार, रोजगारी, सामाजिक विकास तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने नयाँ योजनाहरू कार्यान्वयन गरिने बताउँदै औरही गाउँपालिकालाई समृद्ध, आत्मनिर्भर र नमुना स्थानीय तहका रूपमा स्थापित गर्ने लक्ष्य रहेको स्पष्ट पारे।

प्रतिक्रिया दिनुहोस

विश्व भलिबल दिवस विभ ...

ओम प्रकाश यादव लहान, असार २३ । "राष्ट्रको लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद" तथा "खेली मधेस, जिति ...

रौतहट प्रहरीले एक रा ...

रामअधार यादव, रौतहट अषाढ २३ गते । प्रहरीका अनुसार गरुडा नगरपालिका–५ झाझपुलस्थित गौतम सहनीले सञ ...

अदालतको ताकेता हुँदा ...

रन्जित चौरसिया वीरगंज २३ असार । बारा जिल्लाको कलैया उपमहानरपालिका वडा नं. २३ निवासी धर्मराज महतोको छ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१