Siraha Times
ताजा समाचार

विश्व भलिबल दिवस विभिन्न कार्यक्रमसहित लाहानमा भव्य रूपमा मनाइयो

  • असार २३, २०८३
  • ५१८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान, असार २३ । "राष्ट्रको लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद" तथा "खेली मधेस, जिति मधेस" भन्ने मूल नारासहित विश्व भलिबल दिवस सिरहाको लहानमा विभिन्न कार्यक्रम आयोजना गरी उत्साहपूर्वक मनाइएको छ।

वीर युवा क्लब, लहान–७ को आयोजनामा पशुपति आदर्श माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा जिल्लाभरिका खेलाडी, प्रशिक्षक, खेलकर्मी तथा खेलप्रेमीहरूको  सहभागिता रहेको थियो।

कार्यक्रमको अध्यक्षता  राजकुमार चौधरी (राजु) ले गर्नुभएको थियो। वीर युवा क्लबका अध्यक्ष विरेन्द्र (विरु) यादवका अनुसार विश्व भलिबल दिवसको अवसरमा भलिबल खेलप्रति जनचासो अभिवृद्धि गर्ने, युवापुस्तालाई खेलकुदमार्फत स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने तथा समाजमा खेल संस्कृतिको विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रमको शुभारम्भ राष्ट्रिय खेलकुद परिषद्का कर्मचारी, मधेश प्रदेश तथा सिरहा जिल्लाका विभिन्न खेल संघका पदाधिकारी, कराँतेका वरिष्ठ प्रशिक्षक राजेश गुप्तालगायतले भलिबल खेलाडीहरूलाई अबिर लगाएर सम्मान गर्दै र्‍यालीको उद्घाटन गरेका थिए। पशुपति आदर्श माध्यमिक विद्यालय, लहान–७ बाट सुरु भएको र्‍याली पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत पर्ने शहीद रमेश चौक हुँदै पुनः विद्यालय परिसरमै पुगेर सम्पन्न भएको थियो।

र्‍यालीमा करिब १०० जना भलिबल खेलाडी, प्रशिक्षक, विद्यार्थी तथा खेलप्रेमीहरूको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ। सहभागीहरूले खेलकुदको विकास, युवालाई खेलप्रति आकर्षित गर्नुपर्ने आवश्यकता तथा स्वस्थ समाज निर्माणमा खेलको भूमिकाबारे विभिन्न नारासहित जनचेतनामूलक प्रदर्शन गरेका थिए। कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका प्रतिनिधि सुनिल कामती, भलिबल प्रशिक्षक देवनारायण चौधरी, राजकुमार चौधरी (राजु), मधेश प्रदेश क्रिकेट प्रशिक्षक अनिल शर्मा, जिल्ला क्रिकेट संघ सिरहाका उपाध्यक्ष लक्ष्मी सहनी, बास्केटबल सिरहा जिल्ला अध्यक्ष ओमप्रकाश चौधरीलगायत विभिन्न खेलका वरिष्ठ प्रशिक्षक, खेलाडी, खेल पदाधिकारी तथा खेलकर्मीहरूको उपस्थिति रहेको थियो।

वक्ताहरूले खेलकुदले युवालाई अनुशासित, जिम्मेवार र स्वस्थ बनाउने उल्लेख गर्दै लागूऔषध दुव्र्यसन, सामाजिक विकृति तथा हिंसाबाट युवालाई टाढा राख्न खेलकुद प्रभावकारी माध्यम बन्न सक्ने धारणा व्यक्त गरेका थिए। उनीहरूले भलिबललगायत सबै खेलको विकासका लागि स्थानीय तह, प्रदेश सरकार र सम्बन्धित निकायले पूर्वाधार निर्माण, नियमित प्रतियोगिता सञ्चालन तथा खेलाडीको क्षमता विकासमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याए। विश्व भलिबल दिवसको अवसरमा आयोजित कार्यक्रमले खेलप्रतिको आकर्षण बढाउनुका साथै सामाजिक एकता, सद्भाव र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्न महत्वपूर्ण योगदान पुग्ने आयोजकको विश्वास रहेको छ।

इतिहासअनुसार भलिबल खेलका आविष्कारक William G. Morgan ले सन् १८९५ मा यस खेलको विकास गरेका थिए भने सन् १८९६ जुलाई ७ मा पहिलो पटक सार्वजनिक रूपमा यसको प्रदर्शन गरिएको थियो। सोही ऐतिहासिक दिनको सम्झनामा जुलाई ७ लाई विश्व भलिबल दिवसका रूपमा मनाउन थालिएको हो। मोर्गनलाई भलिबल खेलका पिता (Father of Volleyball) का रूपमा समेत सम्मान गरिन्छ।

प्रतिक्रिया दिनुहोस

सर्पदंशबाट घाइते भगव ...

ओम प्रकाश यादव लहान भदौ ५ । सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाका स्थानीय अशोक भगतका दुई छो ...

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१