रहमुल, लहान, २१ असार। स्वास्थ्यसम्बन्धी सूचना नागरिकसम्म सही, तथ्यपरक र प्रभावकारी रूपमा पुर्याउने उद्देश्यले मिडियाकर्मीहरूका लागि आयोजित "स्वास्थ्य प्रवर्द्धनसम्बन्धी सञ्चार तथा पैरवी कार्यक्रम" सिरहाको मिर्चैयामा सम्पन्न भएको छ। मधेश प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालय, सपही (धनुषा) को आयोजनामा तथा नेपाल पत्रकार महासंघ, सिरहा शाखाको समन्वयमा सम्पन्न कार्यक्रममा जिल्लाभरका पत्रकार तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको उद्घाटन नेपाल पत्रकार महासंघ सिरहा शाखाकी उपाध्यक्ष उषा यादवको अध्यक्षतामा भएको थियो। प्रमुख अतिथिका रूपमा डा. युगल किशोर यादव सहभागी रहेका थिए भने वरिष्ठ पत्रकार अनिल कर्णले स्वास्थ्य पत्रकारिता, सञ्चारको प्रभावकारिता तथा जिम्मेवार समाचार सम्प्रेषणका विषयमा प्रस्तुति दिएका थिए। कार्यक्रममा स्वास्थ्य प्रवर्द्धन, व्यवहार परिवर्तन सञ्चार (Behaviour Change Communication), जोखिम सञ्चार (Risk Communication), स्वास्थ्यसम्बन्धी समाचार लेखन, तथ्य परीक्षण (Fact-checking), स्रोत प्रमाणीकरण, सामाजिक सञ्जालको जिम्मेवार प्रयोग तथा स्वास्थ्य नीतिमा सञ्चारमाध्यमको पैरवी भूमिकाबारे विस्तृत छलफल गरिएको थियो।
आयोजकका अनुसार कार्यक्रमको मुख्य उद्देश्य पत्रकार तथा सञ्चारकर्मीलाई स्वास्थ्यसम्बन्धी विषयमा सही, सन्तुलित र जनहितमुखी समाचार सम्प्रेषण गर्न सक्षम बनाउनुका साथै स्वास्थ्य नीतिको प्रभावकारी कार्यान्वयनका लागि सञ्चारमार्फत सार्वजनिक पैरवी गर्ने क्षमता विकास गर्नु रहेको थियो। कार्यक्रममा खोप, पोषण, मातृ तथा शिशु स्वास्थ्य, नसर्ने रोग, मानसिक स्वास्थ्य, सरसफाइ, तम्बाकू तथा मदिरा नियन्त्रण, महामारी व्यवस्थापन लगायतका सार्वजनिक स्वास्थ्यका महत्वपूर्ण विषयमा सञ्चारमाध्यमले खेल्नुपर्ने भूमिका बारे पनि जोड दिइएको थियो।
साथै गलत सूचना (मिसइन्फर्मेसन) र अफवाह नियन्त्रणमा सञ्चारकर्मीको जिम्मेवारी अझ महत्वपूर्ण रहेको धारणा वक्ताहरूले व्यक्त गरेका थिए। प्रमुख अतिथि डा. युगल किशोर यादवले मधेश प्रदेशमा स्वास्थ्य क्षेत्रले पछिल्ला वर्षहरूमा उल्लेखनीय प्रगति गर्दै नागरिकलाई सेवा प्रवाह गरिरहेको उल्लेख गर्दै त्यससम्बन्धी सत्य, तथ्य र सन्तुलित सूचना नागरिकसम्म पुर्याउन सञ्चारकर्मीहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताए। उनले स्वास्थ्यसम्बन्धी समाचार तयार गर्दा तथ्यमा आधारित, विश्वसनीय र जनउत्तरदायी पत्रकारितालाई प्राथमिकता दिन आग्रह गरेका थिए।
वरिष्ठ पत्रकार अनिल कर्णले स्वास्थ्य पत्रकारिता केवल समाचार लेख्ने विषय नभई जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको जिम्मेवारीपूर्ण क्षेत्र भएकाले तथ्य पुष्टि, स्रोत प्रमाणीकरण र संवेदनशील विषयमा सन्तुलित प्रस्तुति अनिवार्य रहेको धारणा राखेका थिए। कार्यक्रमको समापन गर्दै नेपाल पत्रकार महासंघ सिरहा शाखाकी उपाध्यक्ष उषा यादवले महासंघको पहलमा सिरहाका पत्रकारहरूलाई स्वास्थ्य पत्रकारितासम्बन्धी ज्ञान, सीप र नयाँ दृष्टिकोण प्रदान गर्ने अवसर उपलब्ध गराएकोमा आयोजकप्रति धन्यवाद व्यक्त गरिन्।
यस्ता क्षमता अभिवृद्धिमूलक कार्यक्रमले पत्रकारहरूको व्यावसायिक दक्षता बढाउनुका साथै नागरिकसम्म गुणस्तरीय स्वास्थ्य सूचना पुर्याउन महत्वपूर्ण योगदान पुग्ने विश्वास उनले व्यक्त गरेकी थिइन्। कार्यक्रममा सहभागी पत्रकारहरूले पनि स्वास्थ्यसम्बन्धी विषयमा तथ्यपरक, अनुसन्धानमुखी र जनहितमैत्री पत्रकारिता प्रवर्द्धन गर्न आफूहरू प्रतिबद्ध रहेको बताएका थिए। स्वास्थ्यसम्बन्धी सही सूचना प्रवाह, जनचेतना अभिवृद्धि, स्वास्थ्य सेवाका समस्या र उपलब्धि उजागर गर्ने तथा सरोकारवालालाई जवाफदेही बनाउने दिशामा यस्ता कार्यक्रम प्रभावकारी हुने सहभागीहरूको धारणा थियो।
प्रतिक्रिया दिनुहोस
स्वास्थ्य प्रवर्द्धनमा सञ्चारको भूमिका सुदृढ गर्न मिडियाकर्मीलाई अभिमुखीकरण, मिर्चैयामा सञ्चार तथा पैरवी कार्यक्रम सम्पन्न
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic