Siraha Times
ताजा समाचार

सिद्धार्थनगर–४ का प्लस टु उत्तीर्ण विद्यार्थी सम्मानित, युवालाई शिक्षा र नेतृत्वसँग जोड्न आग्रह

  • असार २०, २०८३
  • ५६७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

भैरहवा, असार २० । युवा समाजसेवी सिद्धार्थनगर–४, रूपन्देहीले सिद्धार्थनगर नगरपालिका–वडा नम्बर ४ का प्लस टु (कक्षा १२) उत्तीर्ण विद्यार्थीलाई सम्मान गरेको छ । युवा समाजसेवी सिद्धार्थनगर ४ रुपन्देहीका अध्यक्ष रोशन बहादुर थापाको अध्यक्षता तथा लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोष पाण्डेको प्रमुख आतिथ्यतामा शनिबार भैरहवामा एक कार्यक्रमका बिच १६ जना बिद्यार्थीहरुलाई सम्मानपत्र, डायरी र कलम प्रदान गरी उनीहरूको आगामी शैक्षिक यात्राका लागि हौसला प्रदान गरिएको हो ।

बिद्यार्थीहरुलाई सम्मान गर्नु हुदै प्रमुख अतिथि मन्त्री पाण्डेले विद्यार्थीको सफलता व्यक्तिगत उपलब्धिमात्र नभई परिवार, विद्यालय र समाजका लागि पनि गौरवको विषय भएको बताउनु भएको छ । उहाले प्लस टु उत्तीर्ण गर्नु शिक्षा यात्राको अन्त्य नभई नयाँ अवसर र चुनौतीको सुरुवात भएको उल्लेख गर्दै युवाले उच्च शिक्षा, सीपमूलक तालिम र सकारात्मक सोचका साथ राष्ट्र निर्माणमा योगदान दिनुपर्ने धारणा राख्नु भयो ।

उहाले सरकारले युवालाई शिक्षा, खेलकुद, उद्यमशीलता र रोजगारीसँग जोड्ने विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिँदै अवसरको सदुपयोग गर्न विद्यार्थीलाई आग्रह गर्नु भएको छ । “आज सम्मानित हुनु गर्वको विषय हो, तर यसलाई अझ ठूलो जिम्मेवारीका रूपमा लिनुपर्छ। समाजले तपाईंहरूबाट धेरै अपेक्षा गरेको छ,” मन्त्री पाण्डेले भन्नु भयो ।

यस्तै गरी कार्यक्रमका संयोजक गोविन्द यादवले विद्यार्थीको मेहनत र सफलतालाई समाजले सम्मान गर्नुपर्छ भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनु भयो । उहाले शैक्षिक उत्कृष्टतालाई प्रोत्साहन गर्दा अन्य विद्यार्थीमा पनि सकारात्मक प्रतिस्पर्धा र अध्ययनप्रतिको आकर्षण बढ्ने विश्वास व्यक्त गर्नु भयो । उहाले आगामी वर्षहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता समेत गर्नु भएको छ ।

कार्यक्रमका अध्यक्ष रोशनबहादुर थापाले शिक्षित र सक्षम युवा नै समाज परिवर्तनका संवाहक भएको उल्लेख गर्दै युवामा अध्ययनसँगै नैतिकता, सामाजिक उत्तरदायित्व र नेतृत्व क्षमता विकास हुन आवश्यक रहेको बताउनु भएको छ । उहाले युवा समाजसेवी सिद्धार्थनगर–४ ले शिक्षा, स्वास्थ्य, सामाजिक सेवा तथा युवा सशक्तीकरणका क्षेत्रमा निरन्तर काम गर्दै आएको जानकारी दिनु भयो । उहाले आज प्रमाणपत्र पाउने बिद्यार्थीहरु ब्याचलर उत्तीर्ण भएमा युवा समाजसेवीले त्यो टिमलाई ल्यापटप प्रदान गर्ने प्रतिबद्धता गर्नु भयो ।

यस्तै गरी कार्यक्रममा बोल्दै विशिष्ट अतिथि समाजसेवी सतिशचन्द्र लाल श्रीवास्तवले सम्मानले विद्यार्थीमा थप आत्मविश्वास र जिम्मेवारीबोध बढाउने बताउनु भयो । उहाले उच्च शिक्षा हासिल गरी समाज र राष्ट्रको विकासमा योगदान दिन विद्यार्थीलाई आग्रह गर्दै सफलताको यात्रामा निरन्तर मेहनत र अनुशासन आवश्यक रहने बताउनु भयो ।

यस्तै गरी सम्मानित विद्यार्थी विष्णु कोहारले सम्मानले आगामी शैक्षिक यात्राका लागि थप प्रेरणा र ऊर्जा प्रदान गरेको बताउनु भयो । उहाले आफूजस्ता विद्यार्थीलाई समाजले गरेको सम्मानले अझ राम्रो नतिजा हासिल गर्न हौसला मिलेको उल्लेख गर्दै आयोजकप्रति आभार व्यक्त गर्नु भयो ।

कार्यक्रममा विद्यार्थीका अभिभावक, शिक्षक, समाजसेवी, युवा तथा स्थानीय बासिन्दाको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले शैक्षिक उपलब्धिको सार्वजनिक सम्मानले विद्यार्थीमा सकारात्मक सोच, प्रतिस्पर्धात्मक भावना र समाजप्रतिको उत्तरदायित्व विकास गर्न सहयोग पुग्ने धारणा व्यक्त गरेका थिए ।

आयोजकका अनुसार स्थानीय स्तरमा शैक्षिक उत्कृष्टतालाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको यो कार्यक्रमले विद्यार्थीलाई थप मेहनत गर्न प्रेरित गर्नुका साथै शिक्षा र सामाजिक उत्तरदायित्वबीचको सम्बन्धलाई अझ बलियो बनाउने अपेक्षा गरिएको छ। शिक्षा क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई सम्मान गर्ने संस्कृतिले आगामी पुस्तालाई पनि सकारात्मक सन्देश दिने विश्वास आयोजकले व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

विद्यालयस्तरमा दलित ...

ओम प्रकाश यादव लहान २ साउन । विद्यालय तहमा दलित छात्रवृत्ति रकमको वितरण, प्रभावकारी कार्यान्वयन तथा ...

नेशनल मेडिकल कलेजमा ...

वीरगंज २ भदौ। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जमा GTA Foundation को सहकार्यमा एम्बुलेन्स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१