ओम प्रकाश यादव लहान असार २०। महिलाहरूलाई सीपमार्फत आत्मनिर्भर बनाउने उद्देश्यले सुरुङ्गा नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित १८० घण्टे एडभान्स सिलाइ–कटाइ तालिम सम्पन्न भएको छ। ‘सीप सिकौं, आत्मनिर्भर बनौं’ भन्ने मूल नारासहित सञ्चालन गरिएको तालिम **पर्फेक्ट म्यानपावर ट्रेनिङ सेन्टर प्रा.लि.**ले सञ्चालन गरेको हो।
तालिम समापन कार्यक्रममा सुरुङ्गा नगरपालिकाकी नगर प्रमुख गीता चौधरीको अध्यक्षता रहेको थियो। कार्यक्रममा नगर उपप्रमुख रुद्रबहादुर कार्की, प्रमुख प्रशासकीय अधिकृत विकाश सुन्दास, वडा नं. ५ का अध्यक्ष दिलाराम चौधरी, समाजसेवी चन्द्रभूषण चौधरी, महिला तथा बालबालिका शाखा प्रमुख रिन्कु कुमारी यादव, कार्यपालिका सदस्य शान्तीदेवी मण्डल, प्रशासन शाखा प्रमुख घनश्याम पोखरेललगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन विश्वम्भर पासमानले गरेका थिए।
समापन समारोहमा प्रशिक्षक शर्मिला विश्वकर्माले १८० घण्टासम्म निरन्तर सिकाइमा सहभागी भएका प्रशिक्षार्थीहरूको मेहनतको प्रशंसा गर्दै अब सिकेको ज्ञानलाई व्यवहारमा उतार्नुपर्ने बताइन्। उनले सीपलाई निरन्तर अभ्यासमार्फत अझ परिष्कृत गर्दै स्वरोजगारको आधार बनाउन सहभागीहरूलाई प्रेरित गरिन्।
तालिम सञ्चालन गर्ने संस्था **पर्फेक्ट म्यानपावर ट्रेनिङ सेन्टर प्रा.लि.**का संयोजक रमेश कुमार चौधरीले नगरपालिकाले आफूहरूको संस्थामाथि विश्वास गरेर तालिम सञ्चालन गर्ने अवसर दिएकोमा धन्यवाद व्यक्त गरे। उनले प्रशिक्षक र सहभागी सबैको सक्रियताको प्रशंसा गर्दै सीप भनेको प्रमाणपत्रमा सीमित नरही आम्दानीको माध्यम बन्नुपर्ने धारणा राखे।
प्रमुख प्रशासकीय अधिकृत विकाश सुन्दासले छोटो अवधिको तालिमले पूर्ण दक्ष जनशक्ति उत्पादन गर्न नसक्ने भए पनि आत्मनिर्भरतातर्फको महत्वपूर्ण सुरुवात हुने बताए। उनले स्थानीय सरकारले आगामी दिनमा अझ लामो अवधिका सीपमूलक तालिम सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउँदै सहभागीहरूलाई सिकेको सीपलाई निरन्तर अभ्यास गर्न आग्रह गरे।
"प्रमाणपत्रले अवसरको ढोका खोल्छ, तर सफलता निरन्तर अभ्यास र मेहनतले मात्र सम्भव हुन्छ," उनले भने। आगामी दिनमा यस्ता कार्यक्रमलाई थप प्रभावकारी बनाइने प्रतिबद्धता पनि उनले व्यक्त गरे। नगर उपप्रमुख रुद्रबहादुर कार्कीले सिलाइ व्यवसाय महिलाहरूका लागि मात्र सीमित नरहेको उल्लेख गर्दै पुरुषका पोसाक सिलाउने दक्षता पनि विकास गर्नुपर्ने बताए। उनले घरमै बसेर सम्मानजनक आम्दानी गर्न सकिने व्यवसायका रूपमा सिलाइ–कटाइलाई लिन आग्रह गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख गीता चौधरीले नगरपालिकाले सञ्चालन गरेका विभिन्न सीपमूलक तालिमबाट धेरै नागरिकको जीवनमा सकारात्मक परिवर्तन आएको बताइन्। तालिमपछि आफ्नै व्यवसाय सञ्चालन गरी सफल भएका व्यक्तिहरूको उदाहरण प्रस्तुत गर्दै उनले नयाँ प्रशिक्षार्थीहरूलाई पनि आत्मनिर्भर बन्न प्रेरित गरिन्। "हामी तालिम दिएर मात्रै रोकिने छैनौं। सीप सिकेर व्यवसाय गर्न चाहनेहरूलाई आवश्यक परामर्श, सहजीकरण र समूहगत रूपमा काम गर्नेहरूलाई बजारीकरणमा समेत नगरपालिकाले साथ दिनेछ," उनले भनिन्।
उनले सहभागी महिलाहरूलाई गुणस्तरीय र आकर्षक डिजाइनका पोसाक उत्पादन गरेर स्थानीय उत्पादनलाई पहिचान दिलाउन आग्रह गर्दै सुरुङ्गामा उत्पादित पोसाकले राष्ट्रिय स्तरमै आफ्नो पहिचान बनाउन सक्ने विश्वास व्यक्त गरिन्। कार्यक्रममा उत्कृष्ट प्रदर्शन गर्ने प्रशिक्षार्थीहरूलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो। प्रथम शर्मिला कुमारी चौधरी र द्वितीय अमिला कुमारी चौधरी उत्कृष्ट प्रशिक्षार्थी घोषित भएका थिए।
कार्यक्रममा वक्ताहरूले महिलालाई आर्थिक रूपमा सबल बनाउन सीपमूलक तालिम प्रभावकारी माध्यम भएको उल्लेख गर्दै तालिममा सिकेको ज्ञानलाई व्यवहारमा उतारेर स्वरोजगार सिर्जना गर्न सहभागीहरूलाई आग्रह गरेका थिए। सहभागीहरूले समेत तालिमबाट आफूहरूमा आत्मविश्वास बढेको र आगामी दिनमा आफ्नै व्यवसाय सञ्चालन गर्ने लक्ष्यका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic