Siraha Times
ताजा समाचार

सिरहामा प्रहरी र लागुऔषध कारोबारीबीच गोली हानाहान, भारतीय नागरिक घाइते, १२२ ग्राम ब्राउन सुगर बरामद

  • असार २०, २०८३
  • ३७० पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान असार २०। सिरहाको नवराजपुर गाउँपालिका–५ स्थित नेपाल–भारत सीमावर्ती क्षेत्रमा शुक्रबार नेपाल प्रहरी र लागुऔषध कारोबारी समूहबीच गोली हानाहान भएको छ। घटनामा एक भारतीय नागरिक घाइते भएका छन् भने प्रहरीले १२२ ग्रामभन्दा बढी ब्राउन सुगर र एकथान कटुवा पेस्तोल बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार सीमावर्ती क्षेत्रमा लागुऔषधको अवैध कारोबार भइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय महेशपुर पतारबाट प्रहरी निरीक्षक विशाल मल्लको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको थियो। प्रहरी टोलीले शंकास्पद गतिविधिमा संलग्न व्यक्तिहरूलाई निगरानी गर्दै नियन्त्रणमा लिन खोजेको बेला लागुऔषध कारोबारी समूहले अचानक प्रहरीमाथि गोली प्रहार गरेको थियो।

प्रहरीका अनुसार कारोबारी समूहबाट एक राउन्ड गोली प्रहार भएपछि प्रहरीले आत्मरक्षाका लागि दुई राउन्ड गोली चलाएको थियो। प्रहरीको जवाफी फायरिङका क्रममा भारतको बिहार राज्य, मधुवनी जिल्लाका अब्दुल कलामको खुट्टामा गोली लागेको हो। उनी घटनास्थलमै प्रहरी नियन्त्रणमा परेका थिए।

घाइते कलामलाई तत्काल उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल सिरहा पठाइएको प्रहरीले जनाएको छ। उनको अवस्था खतरामुक्त रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ भने उपचारपछि थप बयान लिई घटनाको विस्तृत अनुसन्धान गरिने प्रहरीले जनाएको छ।

घटनास्थलको खानतलासीका क्रममा प्रहरीले १२२ ग्रामभन्दा बढी ब्राउन सुगर तथा एकथान कटुवा पेस्तोल बरामद गरेको छ। बरामद लागुऔषध र हतियारलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी परीक्षण तथा अनुसन्धानका लागि सुरक्षित राखिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घटनामा संलग्न अन्य व्यक्तिहरू भने प्रहरीलाई छल्दै फरार भएका छन्। उनीहरूको पहिचान खुलाउने, पक्राउ गर्ने तथा सम्भावित लुक्ने स्थानहरूमा खोजी अभियान तीव्र पारिएको छ। सीमावर्ती क्षेत्र भएकाले भारतीय सुरक्षा निकायसँग समेत आवश्यक समन्वय गरी अनुसन्धान अघि बढाइने तयारी भइरहेको स्रोतले जनाएको छ।

नेपाल–भारत खुला सीमाको फाइदा उठाउँदै केही समूहले लागुऔषध ओसारपसार तथा अवैध कारोबार गर्ने गरेको भन्दै प्रहरीले पछिल्लो समय सीमावर्ती क्षेत्रमा निगरानी बढाएको जनाएको छ। विशेष सूचनाका आधारमा सञ्चालन गरिएका अपरेशनका क्रममा लागुऔषध, हतियार तथा तस्करीमा संलग्न व्यक्तिमाथि निगरानी र कारबाहीलाई थप प्रभावकारी बनाइएको प्रहरीको भनाइ छ।

जिल्ला प्रहरी कार्यालय सिरहाले घटनाबारे थप अनुसन्धान जारी रहेको जानकारी दिँदै फरार रहेका व्यक्तिहरू पक्राउ परेपछि घटनाको थप विवरण सार्वजनिक गरिने जनाएको छ। साथै सीमावर्ती क्षेत्रमा हुने लागुऔषध कारोबार नियन्त्रणका लागि सुरक्षा व्यवस्था अझ कडा पारिएको र नियमित रूपमा विशेष अपरेशन सञ्चालन गरिने प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

मधेश प्रदेशकै दोस्रो ...

ओम प्रकाश यादव लहान असार २०। सप्तरीको खडक नगरपालिका मधेश प्रदेशकै दोस्रो बालमैत्री स्थानीय शासनयुक्त ...

सुरुङ्गामा १८० घण्टे ...

ओम प्रकाश यादव लहान असार २०। महिलाहरूलाई सीपमार्फत आत्मनिर्भर बनाउने उद्देश्यले सुरुङ्गा नगरपालिकाको ...

असारे बजेट खर्चको अन ...

रहमुल लहान, १९ असार। आर्थिक वर्षको अन्त्य नजिकिँदै गर्दा स्थानीय तहहरूमा विकास निर्माणका काम, भुक्ता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१