रहमुल, लहान, १५ असार । जिम्मेवार, विश्वसनीय र मर्यादित पत्रकारिताको आधार पत्रकार आचारसंहिताको पालना र शुद्ध भाषा शैलीको प्रभावकारी प्रयोग भएको सरोकारवालाहरूले जोड दिएका छन्। मिडिया काउन्सिल मधेश प्रदेशले आइतबार लहानमा आयोजना गरेको ‘विश्वसनीय, मर्यादित र व्यावसायिक पत्रकारिता प्रवर्द्धनका लागि आचारसंहिता तथा भाषा शैली’ विषयक अभिमुखीकरण कार्यक्रममा वक्ताहरूले पत्रकारितालाई तथ्यपरक, सन्तुलित र उत्तरदायी बनाउन आचारसंहिता व्यवहारमै लागू गर्नुपर्ने आवश्यकता औँल्याएका हुन्।
कार्यक्रमको उद्घाटन गर्दै मधेश प्रदेशसभा सदस्य राजेन्द्र प्रसाद चौधरीले पछिल्लो समय पत्रकारिता मूल्यमान्यता, नैतिकता र आचारसंहिताबाट केही हदसम्म विचलित हुँदै गएको अनुभूति भइरहेको बताउनुभयो। उहाँले पत्रकारिताको विश्वसनीयता जोगाउन सत्यतथ्यमा आधारित समाचार, शुद्ध भाषा र जिम्मेवार प्रस्तुति अनिवार्य रहेको उल्लेख गर्नुभयो।
“मोबाइल पत्रकारिताको तीव्र विस्तारसँगै अपुष्ट सूचना, उत्तेजक शीर्षक र असावधानीपूर्वक प्रयोग गरिने भाषा समाजमा भ्रम फैलाउने माध्यम बन्न थालेको छ,” उहाँले भन्नुभयो, “पत्रकारले निरन्तर अध्ययन, तालिम र अभ्यासमार्फत आफ्नो क्षमता अभिवृद्धि गर्न सके मात्रै सञ्चार क्षेत्रप्रति जनविश्वास अझ मजबुत बन्छ।” मिडिया काउन्सिल मधेश प्रदेशका कार्यवाहक अध्यक्ष बन्दना झाले पत्रकारहरूको लेखन क्षमता, भाषिक शुद्धता र व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले प्रदेशका आठवटै जिल्लामा यस्ता अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो।
उहाँले पत्रकारिता केवल सूचना प्रवाह गर्ने माध्यम मात्र नभई समाजलाई सही दिशा दिने जिम्मेवार पेशा भएको उल्लेख गर्दै भन्नुभयो, “हामी आफैंले पत्रकारिताको असल अभ्यास गर्न सकेनौँ भने आगामी पुस्तालाई सही मूल्य र दृष्टिकोण हस्तान्तरण गर्न सक्दैनौँ। विश्वसनीय समाचार नै लोकतन्त्रको सबल आधार हो।” नेपाल पत्रकार महासङ्घ सिरहा शाखाका अध्यक्ष मनोजकुमार बनैता यादवले सिरहामा पनि भाषा शैली, तथ्य परीक्षण र विश्वसनीयतासम्बन्धी केही चुनौती देखिएकाले यस्ता कार्यक्रम अत्यन्तै उपयोगी भएको बताउनुभयो। उहाँले पत्रकारहरूलाई निरन्तर सिकाइ र आत्मअनुशासनमा जोड दिँदै यस्ता कार्यक्रम नियमित हुनुपर्ने धारणा व्यक्त गर्नुभयो।
नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्षसमेत रहनुभएका प्रशिक्षक धवेन्द्र झाले पत्रकारितामा देखिएका विकृति, एकपक्षीयता र अपुष्ट सामग्री प्रकाशन गर्ने प्रवृत्तिले सञ्चार क्षेत्रको विश्वसनीयतामाथि गम्भीर असर पारिरहेको बताउनुभयो। “विश्वसनीय स्रोतको पुष्टि नगरी समाचार लेख्ने, अनुमानलाई तथ्यका रूपमा प्रस्तुत गर्ने, पत्रकार आफैं न्यायाधीश बनेर निर्णय दिने शैली अपनाउने र मर्यादाविपरीत भाषा प्रयोग गर्ने प्रवृत्ति पत्रकारिताका लागि घातक हो,” उहाँले भन्नुभयो।
उहाँले पत्रकारले ‘परेवाको दृष्टि’ जस्तै समग्र परिदृश्य बुझ्ने र ‘भ्यागुताको दृष्टि’ जस्तै सूक्ष्म विवरणमा पनि ध्यान दिने क्षमता विकास गर्नुपर्ने उल्लेख गर्नुभयो। समाचार लेख्दा बहुपक्षीय धारणा समेट्ने, तथ्य पुष्टि गर्ने, प्रमाणमा आधारित सामग्री तयार गर्ने तथा सन्तुलित प्रस्तुति अपनाउनुपर्नेमा उहाँले जोड दिनुभयो। प्रशिक्षणका क्रममा उहाँले दोहोरो अर्थ लाग्ने शब्द प्रयोग नगर्न, भाषालाई सरल, स्पष्ट र शुद्ध बनाउन तथा सनसनी फैलाउने शैलीबाट टाढा रहन आग्रह गर्नुभयो। “आँखाले देखेको सबै कुरा सत्य नहुन सक्छ, त्यसैले प्रमाण, तथ्य र विश्वसनीय स्रोतको पुष्टि गरेर मात्र समाचार सम्प्रेषण गर्नुपर्छ,” उहाँले भन्नुभयो।
नेपाल पत्रकार महासङ्घ सिरहा शाखाका पूर्वअध्यक्ष दिनेश्वर प्रसाद गुप्ताले यस्तो प्रशिक्षणले नयाँ पुस्ताका पत्रकारलाई जिम्मेवार पत्रकारिताप्रति प्रेरित गर्नुका साथै अनुभवी पत्रकारलाई पनि आफ्नो पेशागत दायित्व, नैतिकता र सामाजिक उत्तरदायित्वप्रति थप सचेत बनाउने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा सिरहा जिल्लाका करिब चार दर्जन पत्रकारहरूको सहभागिता रहेको थियो। सहभागीहरूले पत्रकारिताको विश्वसनीयता अभिवृद्धि गर्न नियमित क्षमता विकास, तथ्य परीक्षण, भाषा शुद्धीकरण, आचारसंहिताको प्रभावकारी कार्यान्वयन तथा व्यावसायिक अनुशासनलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए।
प्रतिक्रिया दिनुहोस
माध्यमिक विद्यालय कचनारीद्वारा विजया दशमी तथा बडा दशैँ २०८३ को शुभकामना, आपसी सद्भाव र सांस्कृतिक एकताको सन्देश
बहुजन पार्टी नेपालको प्रथम राष्ट्रिय महाधिवेशनमा पूर्व गृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारी विशिष्ट अतिथिका रूपमा आमन्त्रित
लहानको शान र आस्थाको नयाँ प्रतीक बन्यो दुर्गा मन्दिर, पौने ५ करोडको परियोजना सम्पन्न; मेयर महेश चौधरीको प्रतिबद्धता पूरा
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved