Siraha Times
ताजा समाचार

नेशनल मेडिकल कलेजमा ६ दिने फ्याकल्टी डेभलपमेन्ट तालिम सम्पन्न

  • असार १२, २०८३
  • ३४५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रंजित चौरसिया, वीरगंज १२ असार। नेशनल मेडिकल कलेज, वीरगञ्जको आयोजनामा तथा इन्स्टिच्युट अफ मेडिसिन (आईओएम), काठमाडौंको चिकित्सा शिक्षा विभागको सहकार्यमा सञ्चालन गरिएको ६ दिने फ्याकल्टी डेभलपमेन्ट ट्रेनिङ (Faculty Development Training–FDT) सफलतापूर्वक सम्पन्न भएको छ।

असार ७ देखि १२ गतेसम्म सञ्चालन गरिएको उक्त तालिम चिकित्सा शिक्षाको गुणस्तर अभिवृद्धि गर्नुका साथै शिक्षकहरूको शिक्षण क्षमता, अनुसन्धान अभिमुखता र व्यावसायिक दक्षता विकास गर्ने उद्देश्यका साथ आयोजना गरिएको थियो।

कलेजको आईबीएमएस (IBMS) ब्लकस्थित कन्फरेन्स हलमा आयोजित समापन समारोहको अध्यक्षता नेशनल मेडिकल कलेजका प्रिन्सिपल प्रा. डा. के.एन. सिंहले गर्नुभएको थियो। कार्यक्रममा कलेजका अध्यक्ष प्रा. डा. जैनुद्दीन अन्सारी प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो भने इन्स्टिच्युट अफ मेडिसिनका प्रा. डा. निर्जु रञ्जित, प्रा. डा. संघरत्न बज्राचार्य तथा प्रा. डा. रमेश आचार्य विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

समारोहमा अस्पताल निर्देशक डा. इशरत जहान, एडमिसन तथा मार्केटिङ निर्देशक अबिद हुसेन अन्सारी, उप–प्राचार्य डा. रविशंकर गुप्ता तथा नेशनल मेडिकल कलेज नर्सिङ क्याम्पसकी उप–प्राचार्य प्रा. डा. बबिता सिंहलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

समापन समारोहमा सहभागी प्रशिक्षार्थीहरूले तालिमबाट प्राप्त अनुभव र सिकाइ साझा गरेका थिए। वक्ताहरूले फ्याकल्टी डेभलपमेन्ट कार्यक्रमले आधुनिक शिक्षण पद्धति, प्रभावकारी विद्यार्थी मूल्याङ्कन, अनुसन्धान प्रवर्द्धन तथा चिकित्सा शिक्षाको समग्र गुणस्तर सुधारमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

प्रमुख अतिथि प्रा. डा. जैनुद्दीन अन्सारीले शैक्षिक उत्कृष्टता कायम राख्न यस्ता क्षमता अभिवृद्धिमूलक कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्दै प्रशिक्षक तथा सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो। कार्यक्रमको समापनसँगै तालिम सफलतापूर्वक सम्पन्न गरेका सहभागीहरूलाई प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूद्वारा प्रमाणपत्र वितरण गरिएको थियो। अन्त्यमा उप–प्राचार्य डा. रविशंकर गुप्ताले धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन भएको घोषणा गर्नुभयो।

छ दिनसम्म सञ्चालन भएको उक्त तालिममा चिकित्सा शिक्षासँग सम्बन्धित विभिन्न विषयमा विशेषज्ञ प्रशिक्षकहरूले सहजीकरण गरेका थिए। तालिमले सहभागी शिक्षकहरूको ज्ञान, सीप तथा प्रभावकारी शिक्षण क्षमतामा उल्लेखनीय अभिवृद्धि भएको विश्वास आयोजकले व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस

खडक नगरपालिकाद्वारा ...

ओम प्रकाश यादव लहान, असार १२ । सप्तरीको खडक नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूको जीवनयापन सहज बनाउ ...

खडक–५ बालमैत्री स्था ...

ओम प्रकाश यादव लहान, असार ११ । सप्तरी जिल्लाको खडक नगरपालिका वडा नं. ५ लाई औपचारिक रूपमा ‘बाल ...

खडक नगरपालिकाको १८औँ ...

ओम प्रकाश यादव लहान, असार ११ । “खडक नगरपालिकाको अभियान, समाजवाद उन्मुख आधार निर्माण” भन् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१