Siraha Times
ताजा समाचार

खडक–५ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार सुनिश्चित गर्न सबैको प्रतिबद्धता

  • असार ११, २०८३
  • ९५५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान, असार ११ । सप्तरी जिल्लाको खडक नगरपालिका वडा नं. ५ लाई औपचारिक रूपमा ‘बालमैत्री स्थानीय शासन वडा’ घोषणा गरिएको छ। “बालमैत्री स्थानीय शासन पद्धति र व्यवहारः समृद्ध खडक नगरपालिकाको आधार” भन्ने मूल नाराका साथ बिहीबार श्री जनता माध्यमिक विद्यालय खोजपुरमा आयोजित विशेष समारोहबीच वडा घोषणा सभा–२०८३ सम्पन्न भएको हो।

बालअधिकार संरक्षण, संवर्द्धन तथा बालबालिकाको सर्वाङ्गीण विकासका लागि आवश्यक सूचकहरू पूरा गरेपछि वडा नं. ५ लाई बालमैत्री वडा घोषणा गरिएको हो। बालमैत्री स्थानीय शासन वडा समिति खडक नगरपालिकाको आयोजना तथा वडा नं. ५ को सहयोगमा सम्पन्न कार्यक्रमलाई विकास साझेदार संस्था Save the Children र SABAL Nepal ले समन्वय तथा सहकार्य गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि तथा खडक नगरपालिकाका नगर प्रमुख जय प्रकाश चौधरीले वडालाई औपचारिक रूपमा बालमैत्री घोषणा गर्दै बालबालिकाको अधिकार, गुणस्तरीय शिक्षा, स्वास्थ्य, सुरक्षा तथा अर्थपूर्ण सहभागितालाई सुनिश्चित गर्नु स्थानीय सरकारको प्रमुख दायित्व रहेको बताए।

उनले बालमैत्री वडा घोषणाले खडक नगरपालिकालाई अझ जिम्मेवार, व्यवस्थित र समृद्ध स्थानीय सरकारका रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे। साथै आगामी दिनमा नगरपालिकाका अन्य वडाहरूलाई समेत क्रमशः बालमैत्री बनाउँदै लैजाने प्रतिबद्धता जनाए।

वडा नं. ५ का वडा अध्यक्ष विजय कुमार साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय सरकारका प्रतिनिधि, विभिन्न संघसंस्थाका पदाधिकारी तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। विशिष्ट अतिथिका रूपमा सहभागी रोजगार शाखाका देवेन्द्र चौधरीले बालमैत्री अवधारणालाई दिगो रूपमा कार्यान्वयन गर्न निरन्तर प्रयास आवश्यक रहेको बताए।

कार्यक्रममा विभिन्न वडाका जनप्रतिनिधिहरूले समेत ऐक्यबद्धता जनाउँदै बालबालिकामैत्री वातावरण निर्माणका लागि सहकार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए। यस अवसरमा श्री जनता माध्यमिक विद्यालय खोजपुरका प्रधानाध्यापक नागेश्वर प्रसाद साह, प्राथमिक विद्यालय रञ्जितपुरका अरविन्द कुमार साह, राष्ट्रिय प्राथमिक विद्यालय खरचुहियाका प्रधानाध्यापक तथा शिक्षक महासंघ सप्तरीका अध्यक्ष दिनेश कुमार मण्डल, प्राथमिक विद्यालय मेघवारीका प्रधानाध्यापक अशोक कुमार खंग तथा सिम्रिक योद्धा समाज युवा क्लबका अध्यक्ष सत्यनारायण मण्डल लगायतले बालमैत्री वडा निर्माणका लागि चालिएका कदमहरूको प्रशंसा गरेका थिए।

त्यसैगरी, Save the Children का वरिष्ठ कार्यक्रम संयोजक मकरबहादुर सार्की तथा SABAL Nepal का फिल्ड संयोजक अशोककुमार साहले बालमैत्री स्थानीय शासनका सूचकहरूलाई दीर्घकालसम्म कायम राख्न नियमित अनुगमन, मूल्यांकन र समुदायको सक्रिय सहभागिता आवश्यक रहेको धारणा राखे। वक्ताहरूले बालअधिकार संरक्षण, बालश्रम न्यूनीकरण, बालबालिकाको अनिवार्य शिक्षा, बालविवाह अन्त्य तथा सुरक्षित बालमैत्री वातावरण निर्माणमा विशेष जोड दिएका थिए। स्थानीय शासन प्रणालीमा बालबालिकाको आवाजलाई प्राथमिकता दिँदा सकारात्मक सामाजिक परिवर्तन सम्भव भएको उनीहरूको भनाइ थियो।

वडा नं. ५ लाई बालमैत्री वडा घोषणा गरिनुलाई स्थानीय सरकार, विद्यालय, अभिभावक, बाल क्लब, नागरिक समाज तथा विभिन्न सरोकारवाला निकायबीचको दीर्घकालीन सहकार्य र संयुक्त प्रयासको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षक, बुद्धिजीवी, अभिभावक, बाल क्लबका प्रतिनिधि तथा सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको थियो। बालबालिकाहरूले चेतनामूलक सांस्कृतिक प्रस्तुति समेत प्रदर्शन गरेका थिए। कार्यक्रमको सञ्चालन श्री जनता माध्यमिक विद्यालय खोजपुरकी शिक्षिका सरिता कुमारी साहले गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

विद्यालयस्तरमा दलित ...

ओम प्रकाश यादव लहान २ साउन । विद्यालय तहमा दलित छात्रवृत्ति रकमको वितरण, प्रभावकारी कार्यान्वयन तथा ...

नेशनल मेडिकल कलेजमा ...

वीरगंज २ भदौ। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जमा GTA Foundation को सहकार्यमा एम्बुलेन्स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१