Siraha Times
ताजा समाचार

अपाङ्गता भएका महिला तथा किशोरीहरूको अधिकार प्रवर्द्धनका लागि दुईदिने क्षमता अभिवृद्धि तालिम सम्पन्न

  • असार १०, २०८३
  • ९३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान, असार १०। मधेश प्रदेशको पर्सा जिल्लामा अपाङ्गता भएका महिला तथा किशोरीहरूको अधिकार, न्यायमा पहुँच तथा हिंसा रोकथामलाई सुदृढ बनाउने उद्देश्यले आयोजित दुईदिने क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ।

नेपाल अपाङ्ग महिला संघ (NDWA), सीबीएम ग्लोबल तथा मुक्ति नेपालको सहकार्यमा सञ्चालित IGNITE परियोजना अन्तर्गत आयोजना गरिएको उक्त तालिममा VRG (Village Resource Group), SWD (Self Help Women with Disabilities) तथा WaHRDs (Women Human Rights Defenders) का महिला अधिकारकर्मीहरू गरी ३० जनाको सहभागिता रहेको थियो।

वीरगञ्जमा सम्पन्न तालिममा अपाङ्गता भएका महिला तथा किशोरीहरूले भोग्नुपरेका विभिन्न प्रकारका विभेद, लैङ्गिक हिंसा, सामाजिक बहिष्करण तथा न्यायमा पहुँचका चुनौतीबारे विस्तृत छलफल गरिएको थियो। सहभागीहरूलाई अपाङ्गता अधिकारसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी व्यवस्था, लैङ्गिक समानता, मानव अधिकार, हिंसा न्यूनीकरणका उपाय, नेतृत्व विकास तथा समुदायस्तरमा पैरवी गर्ने सीपका विषयमा प्रशिक्षण प्रदान गरिएको आयोजकले जनाएको छ।

तालिमका क्रममा सहभागीहरूले अपाङ्गता भएका महिला तथा किशोरीमाथि हुने हिंसाका घटनाहरू पहिचान गर्ने, पीडितलाई आवश्यक सहयोग तथा परामर्श उपलब्ध गराउने, सम्बन्धित निकायसँग समन्वय गरी न्यायमा पहुँच सुनिश्चित गराउने तथा समुदायमा सचेतना अभिवृद्धि गर्ने विषयमा अनुभव आदानप्रदान गरेका थिए। कार्यक्रममा बोल्दै आयोजक संस्थाका प्रतिनिधिहरूले अपाङ्गता भएका महिला तथा किशोरीहरू अझै पनि समाजमा बहुआयामिक विभेद र हिंसाको जोखिममा रहेको उल्लेख गर्दै उनीहरूको अधिकार संरक्षणका लागि स्थानीय तह, सरोकारवाला निकाय तथा समुदायको सक्रिय भूमिका आवश्यक रहेको बताए।

IGNITE परियोजनामार्फत मधेश प्रदेशका विभिन्न जिल्लामा महिला अधिकारकर्मी तथा समुदायस्तरका अगुवाहरूको क्षमता अभिवृद्धि गर्दै अपाङ्गता भएका महिला तथा किशोरीहरूको अधिकार सुनिश्चित गर्न पहल भइरहेको जनाइएको छ। यस तालिमसँगै मधेश प्रदेशका सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा गरी सबै ८ जिल्लामा क्षमता अभिवृद्धि तालिम सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ।

परियोजनाले आगामी दिनमा पनि अपाङ्गता भएका महिला तथा किशोरीहरूको अधिकार संरक्षण, हिंसा रोकथाम तथा न्यायमा पहुँच अभिवृद्धिका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने जनाएको छ। कार्यक्रमका सहभागीहरूले यस्ता तालिमले आफ्नो नेतृत्व क्षमता, अधिकारसम्बन्धी ज्ञान तथा समुदायमा प्रभावकारी रूपमा काम गर्ने आत्मविश्वास बढाएको बताएका छन्। साथै, प्राप्त ज्ञान र सीपलाई समुदायस्तरसम्म पुर्‍याई अपाङ्गता भएका महिला तथा किशोरीहरूको सशक्तीकरणमा योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस

धनगढीमाई नगर अस्पताल ...

ओम प्रकाश यादव,​लहान, ९ असार । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ९ स्थित नगर अस्पतालमा उपचा ...

गोली प्रहार गरी लागु ...

ओम प्रकाश यादव लहान , असार ७। सिरहाको सीमावर्ती क्षेत्रबाट प्रहरीले गोली प्रहार गरी ब्राउनसुगरसहित द ...

हिट एन्ड रन घटनापछि ...

रहमुल, सिरहा, ७ असार । सिरहाको धनगढीमाई नगरपालिका क्षेत्रमा भएको सवारी दुर्घटनामा एक व्यक्तिको मृत्य ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१