Siraha Times
ताजा समाचार

भगवानपुरमा हाउस वायरिङ तालिम सम्पन्न : सीपसहित स्वरोजगारतर्फ उन्मुख भए युवा

  • असार ७, २०८३
  • ५६६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान, असार ७ । युवाहरूलाई सीपयुक्त, आत्मनिर्भर र स्वरोजगारमुखी बनाउने उद्देश्यले सिरहाको भगवानपुर गाउँपालिका–३ मा सञ्चालन गरिएको २० दिने हाउस वायरिङ तालिम कार्यक्रम शुक्रबार सम्पन्न भएको छ। सगरमाथा सामुदायिक विकास केन्द्र नेपाल, बलान बिहुल गाउँपालिका–४ सप्तरीको आयोजनामा तथा भगवानपुर गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालन गरिएको उक्त तालिम जेठ १८ गतेदेखि असार ६ गतेसम्म वडा नं. ३ कार्यालयको सभा हलमा सञ्चालन गरिएको थियो।

तालिम समापन समारोह भगवानपुर गाउँपालिका–३ का वडाध्यक्ष विनोद कुमार यादवको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्र नारायण यादव प्रमुख अतिथि, कृष्ण देव यादव विशिष्ट अतिथि तथा वडा सचिव एवं जिन्सी शाखा प्रमुख राजेन्द्र यादव अतिथिका रूपमा उपस्थित थिए। समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष उग्र नारायण यादवले सीपमूलक शिक्षा र तालिम आजको आवश्यकता भएको बताए। उनले बढ्दो बेरोजगारीको समस्यालाई न्यूनीकरण गर्न यस्ता व्यावसायिक तालिम प्रभावकारी माध्यम बन्न सक्ने उल्लेख गर्दै तालिमबाट सिकेको ज्ञानलाई व्यवहारमा उतार्न सहभागी युवाहरूलाई आग्रह गरे।

“रोजगारी खोज्ने मात्र होइन, रोजगारी सिर्जना गर्ने युवा उत्पादन गर्नु आजको आवश्यकता हो,” अध्यक्ष यादवले भने, “हाउस वायरिङ जस्ता प्राविधिक सीपले युवाहरूलाई आफ्नै गाउँठाउँमा बसेर सम्मानजनक आम्दानी गर्ने अवसर प्रदान गर्छ।” कार्यक्रमका अध्यक्ष तथा वडाध्यक्ष विनोद कुमार यादवले तालिमले स्थानीय युवाहरूको क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्या एको बताए। उनले गाउँपालिकाले आगामी दिनमा पनि सीपमूलक तथा उत्पादनमूलक कार्यक्रमलाई प्राथमिकता दिँदै युवाहरूको आर्थिक सशक्तीकरणका लागि आवश्यक सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरे।

तालिममा प्रशिक्षक विजय कुमार मिश्रले सहभागीहरूलाई घर तथा भवनमा गरिने विद्युत जडान, वायरिङ प्रणाली, विद्युत सुरक्षा मापदण्ड, स्विच तथा सर्किट जडान, मिटर जडान, उपकरणहरूको प्रयोग र मर्मतसम्भार लगायतका विषयमा सैद्धान्तिक तथा व्यावहारिक प्रशिक्षण प्रदान गरेका थिए। सहभागीहरूले प्रत्यक्ष अभ्यासमार्फत विद्युतसम्बन्धी कार्यको अनुभवसमेत प्राप्त गरेका छन्।

कार्यक्रममा बोल्दै विशिष्ट अतिथि तथा अन्य वक्ताहरूले सीपमूलक तालिमले युवाहरूलाई वैदेशिक रोजगारीको विकल्प खोज्न प्रेरित गर्ने तथा स्थानीय स्तरमै रोजगार र स्वरोजगारका अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरे। उनीहरूले तालिमलाई केवल प्रमाणपत्र प्राप्त गर्ने माध्यमका रूपमा नभई जीवन उपयोगी सीपका रूपमा ग्रहण गर्न सुझाव दिए।

तालिममा राधेकृष्ण यादव, शम्भु कुमार यादव, वीरेन्द्र कुमार यादव, जितेन्द्र कुमार यादव, राज नारायण यादव, शिव नारायण यादव, देव नारायण यादव, अमरेश कुमार यादव, मिथलेश कुमार यादव, जिवछ यादव, मुसहरु यादव, मुकेश कुमार यादव, परमानन्द यादव, दिपु कुमार यादव, राम बिहारी यादव, रामेश्वर यादव, सुदिप कुमार यादव, सन्तोष कुमार यादव, नवीन कुमार यादवलगायत स्थानीय युवाहरूको सक्रिय सहभागिता रहेको थियो।

सहभागीहरूले तालिमबाट प्राप्त ज्ञान र सीपले भविष्यमा स्वरोजगार बन्न ठूलो सहयोग पुग्ने बताएका छन्। उनीहरूले विद्युत जडान तथा मर्मतसम्भार सम्बन्धी कामलाई व्यवसायका रूपमा अगाडि बढाउने योजना रहेको पनि सुनाए। आयोजक संस्था सगरमाथा सामुदायिक विकास केन्द्र नेपालले युवाहरूलाई सीपयुक्त जनशक्तिका रूपमा विकास गरी आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले यस्ता तालिम सञ्चालन गर्दै आएको जनाएको छ। संस्थाले स्थानीय तहसँगको सहकार्यमा आगामी दिनमा पनि समुदायको आवश्यकता अनुसार विभिन्न व्यावसायिक तथा आयमूलक तालिम सञ्चालन गर्ने जनाएको छ।

स्थानीय सरकार, सामाजिक संस्था र समुदायबीचको सहकार्यमा सञ्चालन भएको उक्त हाउस वायरिङ तालिमले युवाहरूमा नयाँ उत्साह, आत्मविश्वास र व्यवसायिक सम्भावना जगाएको सहभागीहरूको भनाइ छ। तालिम सम्पन्न भएसँगै सहभागी युवाहरू सीपलाई व्यवहारमा उतार्दै स्वरोजगारको यात्रामा अघि बढ्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

विद्यालयस्तरमा दलित ...

ओम प्रकाश यादव लहान २ साउन । विद्यालय तहमा दलित छात्रवृत्ति रकमको वितरण, प्रभावकारी कार्यान्वयन तथा ...

नेशनल मेडिकल कलेजमा ...

वीरगंज २ भदौ। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जमा GTA Foundation को सहकार्यमा एम्बुलेन्स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१