Siraha Times
ताजा समाचार

रसुवा भन्सारका १३ कर्मचारी निलम्बित, मुस्ताङमा जाँचपास प्रक्रिया नियमसम्मत रहेको निष्कर्ष

  • असार ६, २०८३
  • ५७३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

काठमाडौं । भन्सार विभागले रसुवा भन्सार कार्यालयका तत्कालीन कार्यालय प्रमुखसहित १३ जना कर्मचारीलाई निलम्बन गर्दै विभागीय कारबाही प्रक्रिया अघि बढाएको छ । विभागले जारी गरेको प्रेस विज्ञप्तिअनुसा कानूनी प्रक्रिया पालना नगरी जाँचपास गरेको देखिएपछि तत्कालीन कार्यालय प्रमुखसहित १३ जना कर्मचारीलाई निलम्बन गर्दै विभागीय कारबाही प्रक्रिया अघि बढाइएको होे ।

यसैगरी, घटनामा संलग्न रहेको आरोप लागेका सवारी साधन आयातकर्ता कम्पनीहरू लक्ष्मी ई—मोबिलिटी प्रा. लि., सिमेक्स इंक प्रा. लि., सि.जी. मोटर्स प्रा. लि., पूजा इन्टरनेशनल नेपाल प्रा. लि. र पूजा कन्स्ट्रक्सन नेपाल प्रा. लि. लगायतका व्यवसायी तथा एजेन्ट नम्बर २४८, ८३३ र ४७८ सहितका भन्सार जाँचपास प्रतिनिधिलाई प्रचलित भन्सार कानुनअनुसार कारबाही प्रक्रिया अगाडि बढाउन रसुवा भन्सार कार्यालयलाई निर्देशन दिइएको विभागले जनाएको छ ।

विद्युतीय सवारी साधन (ईभी) आयात तथा भन्सार जाँचपास प्रक्रियाबारे सार्वजनिक रूपमा प्रश्न उठेपछि गरिएको छानबिनमा रसुवा भन्सार कार्यालयमा गम्भीर प्रक्रियागत कमजोरी भेटिएको छ भने मुस्ताङ भन्सार कार्यालयको जाँचपास प्रक्रिया नियमअनुसार भएको निष्कर्ष निकालिएको छ । विभागका अनुसार अर्थ मन्त्रालयको निर्देशनपछि रसुवा र मुस्ताङ भन्सार कार्यालयबाट भएको विद्युतीय सवारी साधनको जाँचपास सम्बन्धमा छुट्टाछुट्टै अनुगमन टोली गठन गरी अध्ययन गरिएको थियो ।

रसुवाका लागि विभागका निर्देशकको नेतृत्वमा जेठ १७ गते र मुस्ताङका लागि विभागका निर्देशकको नेतृत्वमा अर्थ मन्त्रालय, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका प्रतिनिधि सम्मिलित टोली जेठ २१ गते खटाइएको थियो । अनुगमन टोलीको प्रतिवेदनअनुसार मुस्ताङ भन्सार कार्यालयबाट जेठ १२ र १३ गते घोषणा गरिएका ६४९ वटा विद्युतीय सवारी साधन नौ वटा प्रज्ञापनपत्रमार्फत जाँचपास प्रक्रियामा प्रवेश गरेका थिए ।

आधिकारिक अभिलेख तथा सीसीटीभी फुटेजको विस्तृत अध्ययनपछि ती सबै सवारी साधन जेठ १४ गतेभित्र नेपाल प्रवेश गरिसकेको र सोही अवधिमा नियमानुसार जाँचपास सम्पन्न भएको निष्कर्ष निकालिएको विभागले जनाएको छ । रसुवा भन्सार कार्यालयको हकमा भने कर्मचारीहरूले आवश्यक सावधानी र पदीय जिम्मेवारी पूरा नगरेको पाइएको छ ।

अनुगमन टोलीले प्रज्ञापनपत्र तथा कार्यालय अभिलेखको स्थलगत अध्ययन गर्दा केही विद्युतीय सवारी साधन भन्सार क्षेत्रमा भौतिक रूपमा आइपुग्नुअघि नै कागजातका आधारमा जाँचपास गरिएको फेला पारेको जनाएको छ । विभागका अनुसार घटनाको थप अनुसन्धान र कानुनी प्रक्रिया जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

विद्यालयस्तरमा दलित ...

ओम प्रकाश यादव लहान २ साउन । विद्यालय तहमा दलित छात्रवृत्ति रकमको वितरण, प्रभावकारी कार्यान्वयन तथा ...

नेशनल मेडिकल कलेजमा ...

वीरगंज २ भदौ। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जमा GTA Foundation को सहकार्यमा एम्बुलेन्स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१