ओम प्रकाश यादव लहान, ५ असार। सिरहा जिल्लाको भगवानपुर गाउँपालिका–५ लालपुरमा एक महिलामाथि आफ्नै जेठाजुले निर्घात कुटपिट गरेको घटना सार्वजनिक भएको छ। घटनामा पीडित महिलासँगै उनका दुई नाबालक छोरासमेत घाइते भएका छन्। घाइतेहरू विगत पाँच दिनदेखि लहानस्थित एक निजी अस्पतालमा उपचाररत रहेका छन्।
पीडित बबिता देवी यादवले अस्पतालको शैय्याबाटै पत्रकार सम्मेलन गर्दै आफू र आफ्ना छोरामाथि भएको हिंसाबारे सार्वजनिक गरेकी छन्। शरीरभरि देखिएका चोटपटक तथा निलडामहरू देखाउँदै उनले आफ्नो ज्यानको सुरक्षासँगै दोषीमाथि कानुनी कारबाहीको माग गरेकी छन्।
रोजगारीका सिलसिलामा श्रीमान भारतमा रहेका बेला जेठाजु रामलोचन यादवले आफूमाथि आक्रमण गरेको बबिताको आरोप छ। उनका अनुसार रामलोचनले यसअघि पनि पटक–पटक आफू तथा आफ्नी सासूमाथि कुटपिट गर्दै आएका थिए। यसपटक भने आफ्ना दुई नाबालक छोरासमेत कुटपिटको शिकार बनेको उनले बताइन्।
“हामीलाई निर्घात कुटपिट गरी अस्पतालसम्म पुर्याइयो। यस्तो घटना हाम्रो परिवारमाथि पहिलो पटक होइन, तेस्रो पटक दोहोरिएको हो,” पत्रकार सम्मेलनमा भावुक हुँदै बबिताले भनिन्।
पीडितका अनुसार घटना गाउँबाहिर चौरीको खेतमा बाख्रा चराउने क्रममा भएको थियो। उनले जेठाजुले आफूलाई ‘बोक्सी’ को आरोप लगाउँदै लामो समयदेखि मानसिक तथा शारीरिक यातना दिँदै आएको समेत दाबी गरेकी छन्। सोही विषयलाई लिएर विवाद चर्किएपछि आफूमाथि आक्रमण भएको उनको भनाइ छ।
आर्थिक अवस्था कमजोर रहेकाले हाल आफ्ना आमाबुवाको सहयोगमा उपचार गराइरहेको बताउँदै उनले उपचार खर्च जुटाउनसमेत कठिनाइ भइरहेको जानकारी दिइन्। घटनाबारे इलाका प्रहरी कार्यालय लहानमा लिखित उजुरी दर्ता गराइसकेको भए पनि हालसम्म प्रभावकारी कारबाही नभएको भन्दै उनले असन्तुष्टि व्यक्त गरिन्।
“म र मेरा छोराहरू असुरक्षित महसुस गरिरहेका छौं। दोषीलाई कानुनी दायरामा ल्याई हाम्रो सुरक्षा सुनिश्चित गरियोस्,” उनले आग्रह गरिन्।
घटनाबारे आरोपित रामलोचन यादवको धारणा बुझ्न सञ्चारकर्मीहरूले पटक–पटक सम्पर्क गर्ने प्रयास गरे पनि समाचार तयार पार्दासम्म उनको प्रतिक्रिया प्राप्त हुन सकेको छैन। यस कारण घटनाको अर्को पक्ष सार्वजनिक हुन बाँकी रहेको छ।
स्थानीयवासीहरूले आफ्नै परिवारभित्र हुने यस्ता हिंसात्मक घटनाले समाजमा गम्भीर प्रश्न खडा गरेको बताएका छन्। हिन्दू धर्म तथा मिथिला संस्कृतिमा जेठाजु र भाइबुहारीबीच सम्मानजनक सम्बन्धलाई विशेष महत्व दिइने भए पनि यस प्रकारको घटनाले सामाजिक मूल्य, मान्यता र पारिवारिक सद्भावमाथि चुनौती खडा गरेको उनीहरूको भनाइ छ।
स्थानीय सरोकारवालाहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न, पीडित परिवारको सुरक्षा सुनिश्चित गर्न तथा आवश्यक उपचार तथा राहतको व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। साथै, घटनाको सत्यतथ्य बाहिर ल्याउन आरोपित पक्षको धारणा सार्वजनिक हुनु पनि उत्तिकै महत्वपूर्ण रहने उनीहरूको भनाइ छ।
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic