Siraha Times
ताजा समाचार

सशक्त महिला, समृद्ध नेपाल अभियानअन्तर्गत नवराजपुरमा क्षमता अभिवृद्धि तालिम सम्पन्न

  • जेठ १९, २०८३
  • ५३७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान, १९ जेठ । सिरहाको नवराजपुर गाउँपालिकाको सभा हलमा लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण (GEDSI) समितिका सदस्यहरूका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ। “सशक्त महिला, समृद्ध नेपाल” भन्ने मूल नारासहित आयोजित तालिममा लैङ्गिक समानता, महिला सशक्तीकरण, अपाङ्गता अधिकार तथा सामाजिक समावेशीकरणका विषयमा विस्तृत छलफल गरिएको थियो।

कार्यक्रम नवराजपुर गाउँपालिकाको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा लाइफ नेपाल को प्राविधिक सहयोग तथा समन्वय रहेको थियो भने युरोपियन युनियन र संयुक्त राष्ट्रसंघ को आर्थिक सहयोग रहेको आयोजकले जनाएको छ। कार्यक्रममा विभिन्न वडा तथा सरोकारवाला निकायका गरी २५ जना सहभागी रहेका थिए।

तालिममा आर्थिक वर्ष २०८३/०८४ का लागि गाउँपालिकाले तय गरेका लैङ्गिक तथा समावेशीकरणसम्बन्धी योजनाहरू प्रस्तुत गरिएको थियो। प्रस्तुत योजनाअनुसार विपद् संवेदनशील तथा समावेशी सामाजिक सुरक्षा सम्बन्धी स्थानीय तहको क्षमता विकास गर्ने, २० वर्षभन्दा कम उमेरमा हुने विवाहविरुद्ध समुदायस्तरमा अभियान सञ्चालन गर्ने तथा बालविवाह र दहेज प्रथाविरुद्ध विद्यालय र समुदायमा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिनेछ।

यस्तै, दाइजोविहीन विवाह गर्ने परिवारलाई सम्मान गर्ने, स्थानीय तहका सफल महिलाहरूलाई प्रत्येक वर्ष “एक वडा, एक महिला” अभियानअन्तर्गत सम्मानित गरी अन्य महिलालाई प्रेरित गर्ने तथा सफल महिला नेतृत्वहरूको अनुगमन कार्यक्रम सञ्चालन गर्ने योजना पनि गाउँपालिकाले अघि सारेको छ। गाउँपालिकाले आगामी वर्षभित्र आफ्ना भौतिक संरचनाहरूलाई बालमैत्री, अपाङ्गतामैत्री तथा ज्येष्ठ नागरिकमैत्री बनाउने लक्ष्य राखेको छ। यसका लागि आवश्यक मापदण्ड निर्माण गरी कार्यान्वयनमा ल्याइने जनाइएको छ। 

साथै, मानव स्रोत विकासका लागि शिशु स्याहार सेवा, प्रारम्भिक बाल विकास केन्द्र तथा बहुउद्देश्यीय वृद्ध स्याहार हब स्थापना तथा विस्तार गरिने कार्यक्रम पनि समेटिएको छ। दलित, मुस्लिम तथा अन्य सीमान्तकृत समुदायमा बालविवाह नियन्त्रण, गर्भनिरोधक साधनको प्रयोग, प्रजनन स्वास्थ्य अधिकार तथा सेवामा पहुँच अभिवृद्धि गर्न विशेष कार्यक्रम सञ्चालन गरिनेछ। यसका साथै समुदायमा स्वायत्तता तथा अधिकारसम्बन्धी जनचेतना फैलाउने अभियानलाई समेत प्राथमिकता दिइएको छ।

महिलामाथि हुने हिंसा तथा विभेद न्यूनीकरणका लागि हिंसा प्रभावित समुदायको गुनासो सुनुवाइ कक्ष स्थापना गर्ने तथा “छोरीलाई दाइजो होइन, सम्पत्ति, शिक्षा र सिप” भन्ने नारासहित छोरीको सम्पत्ति अधिकारबारे समुदायमा सचेतना फैलाउने कार्यक्रम पनि आगामी वर्षको प्राथमिकतामा परेको छ। दाइजो प्रथाका कारण सिर्जना हुने हिंसाविरुद्ध व्यापक अभियान सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ।

कार्यक्रमको समापन गर्दै गाउँपालिका उपाध्यक्ष निलम यादव ले महिला सशक्तीकरण, लैङ्गिक समानता तथा हिंसा न्यूनीकरणका क्षेत्रमा विगत चार वर्षदेखि गाउँपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताइन्। उनले आगामी दिनमा अझ प्रभावकारी ढंगले सबै समुदाय र वर्गलाई समेटेर कार्यक्रमहरू विस्तार गरिने उल्लेख गर्दै आर्थिक वर्ष २०८३/०८४ मा महिला, अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकमैत्री कार्यक्रमका लागि थप बजेट विनियोजन गरिने जानकारी दिइन्। उपाध्यक्ष यादवले समावेशी विकास र समान अवसरको सुनिश्चिततामार्फत “सशक्त महिला, समृद्ध नेपाल” को लक्ष्य हासिल गर्न गाउँपालिका प्रतिबद्ध रहेको समेत बताइन्।

प्रतिक्रिया दिनुहोस

बाढीपीडितका लागि एनआ ...

कतार । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालमा आएको बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकक ...

वर्षौ देखिको अवरोध त ...

ओम प्रकाश यादव सप्तरी, भदौ १४ । सप्तरीको बलानबिहुल गाउँपालिका–६ स्थित श्री जागेश्वर गरहाइ जनता ...

स्थगित परीक्षा पुनः ...

ओम प्रकाश यादव लहान , भदौ १३ । सप्तरीको बलान बिहुल गाउँपालिका–६ स्थित जागेश्वर गरहाई जनता माध् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१