ताजा समाचार

मधेश प्रदेश :अप्रेशन गर्दा पेटमै छाडे कपास, आफ्नो भतिज जोगाउन अर्का डाक्टर फसाउदै मेसु

  • असार १, २०८०
  • ९३२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सुरेन्द्र कामती/सिरहा। महोत्तरीको गौशाला नगरपालिका– १० बटौवा टोलका अजयकुमार महतोले श्रीमतीको उपचारमा गम्भीर लापरबाही गर्ने चिकित्सकविरुद्ध कारबाही गर्न माग गर्दै प्रहरी प्रशासन गुहारेका छन् । तर, प्रहरी प्रशासनले जाहेरी दर्ता नगरिदिँदा उनी चिन्तामा परेका छन् । अजयले श्रीमती रिंकुकुमारी सिंहको शल्यक्रिया गर्ने प्रादेशिक अस्पताल सिराहाका चिकित्सक डा. तेजशंकर यादवमाथि कारबाहीको माग गर्दै २५ जेठमा जिल्ला प्रहरी कार्यालय सिराहामा किटानी जाहेरी दिएका छन् । रिंकुको शल्यक्रिया गर्ने क्रममा डा. यादवले गम्भीर लापरबाही गरेका रहेछन् ।

सर्जरी गर्ने क्रममा गज पिसको रगतले लत्पतिएको कपासको डल्ला बाहिर ननिकाल्दै सिलाइएको रहेछ । रगत लागेको कपास पेटभित्रै हुँदा कुहिएर उनको आन्द्रामा असर गर्‍यो । जसकारण फेरि शल्यक्रिया गरी उनको ३१ सेन्टिमिटर आन्द्रा काटेर फालिएको छ । जसकारण अहिले रिंकु हिँड्डुल गर्ने अवस्थामा छैनन् । शल्यक्रियाका क्रममा चिकित्सकले गरेको लापरबाहीले आफ्नी श्रीमतीलाई जीवनभर मानसिक तनाव हुन सक्ने भन्दै कारबाही र क्षतिपूर्तिको माग गरेको अजयले बताए ।

तर, एक साता पुग्न लाग्दा पनि प्रहरीले जाहेरी दर्ता गरेको छैन । जिल्ला प्रहरी कार्यालय सिराहाका अपराध अनुसन्धान शाखाका इन्चार्ज रामचन्द्र साहले चिकित्सा क्षेत्रको विषय भएकाले जाहेरी दर्ता नगरे पनि आवश्यक अनुसन्धान गरिरहेको दाबी गरे । प्रादेशिक अस्पतालबाट बुझ्ने र शल्यक्रिया गर्ने चिकित्सकलाई बोलाएर सोधपुछको काम भइरहेको भन्दै उनले घटना सम्बन्धमा थप प्रस्ट भएपछि जाहेरी दर्ता गरिने जानकारी दिए । शल्यक्रिया गर्ने डा. तेजशंकर प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नागेन्द्रप्रसाद यादवका भतिजा हुन् । उनी अहिले भतिजा जोगाउन अर्कै डाक्टरलाई फसाउन लागिपरेका छन् । प्रहरीले प्रादेशिक अस्पताल सिराहालाई पत्र पठाउँदै बिरामीको शल्यक्रिया गर्ने चिकित्सकको नाम मागेको थियो ।

प्रादेशिक अस्पताल सिराहाले २८ जेठमा जिल्ला प्रहरी कार्यालय (अपराध अनुसन्धान शाखा) लाई च.नं. ३३६ मार्फत पठाएको पत्रमा सर्जरी डा. राकेश सिंहले गरेको उल्लेख छ । डा. सिंहलाई प्रहरीले सोधपुछ गरेको छ । उनले आफूले रिंकुकुमारीको सर्जरी नगरेको प्रहरीलाई जानकारी गराएको बताए । ‘जिल्ला प्रशासन कार्यालयमा पनि निवेदन दिएको छु,’ डा. सिंहले भने, ‘मैले रिंकुको सर्जरी गरेको छैन । यसमा मलाई मुछ्न खोजिएको हो । प्रहरीले बोलाएपछि आश्चर्य लाग्यो । मेरो नाम सर्जनमा राखेर फसाउन खोजेको छ । छानबिन हुनुपर्छ ।’ रिंकुकुमारी सिंहको सर्जरी डा. तेजशंकर यादवले गरेको अस्पतालको कागजातबाट पुष्टि हुन्छ । ‘गाइने-ओब्स’ रजिस्ट्ररमा ७८ नम्बरमा रिंकुको नाम र सर्जरी गरेको चिकित्सक, असिस्ट गरेको अर्को चिकित्सक र अप्रेसनमा सहभागी स्वास्थ्यकर्मीको नाम उल्लेख छ ।

जसअनुसार रिंकुको सर्जरी डा. तेजशंकर यादव (रजिस्ट्ररमा छोटोमा अंग्रेजीमा टिएसवाई) लेखिएको छ । असिस्ट गर्ने चिकित्सकमा डा. आरकेएस, सरोज, लालपरी र ममताको नाम उल्लेख छ । डा. तेजशंकर स्त्रीरोग विशेषज्ञ हुन् । मातृ तथा नवजात शिशु सेवा रजिस्ट्ररमा पनि सुत्केरी गराउने स्वास्थ्यकर्मीको नाउँमा डा. तेजशंकर यादव लेखिएको छ । प्रादेशिक अस्पताल सिराहाका सूचना अधिकारी अशोककुमार सिंहले रिंकुको शल्यक्रिया प्रादेशिक अस्पतालमै भए पनि कुन चिकित्सकले गरेको हो भन्ने आफूलाई जानकारी नभएको बताएका छन् । यस विषयमा मेसु डा. नागेन्द्रप्रसाद यादवलाई जानकारी हुन सक्ने भन्दै उनी पन्छिए । मेसु डा. यादवसँग कुराकानी गर्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् । साभार : नयाँ पत्रिका

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤