ताजा समाचार

साथीसँग मिलेर श्रीमानको हत्यामा संलग्न इनरवती र नासिरलाई जन्मकैद सजाय

  • जेठ ६, २०८०
  • ७७८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

राजविराज, ६ जेठ । सप्तरीमा साथीसँग मिलेर श्रीमानको हत्यामा संलग्न विष्णुपुर गाउँपालिका ५ कट्टी टोलकी इनरवती महतोलाई जन्मकैदको सजाय भएको छ। श्रीमान रामसुन्दर महतोको हत्या आरोपमा उनलाई जन्मकैदको सजाय भएको हो। हत्या घटनाका मुख्य अभियुक्त सप्तरीको रूपनी गाउँपालिका १ रूपनी चौकका ३८ वर्षीय नाजिर मियाँ भनिने नासिर मियाँलाई समेत जन्मकैद सजायको फैसला भएको सप्तरी जिल्ला अदालतले जनाएको छ।

सप्तरी जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको इजलाशबाट अभियुक्तहरुलाई जन्मकैद सजायका साथै दुवै अभियुक्तले जनही दुई हजार आठ सय रुपैयाँ फौजदारी कसूर पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला भएको छ। अदालतका सूचना अधिकारी भरतमणि पोखरेलका अनुसार आरोपित नासिरले ५० हजार रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला पनि भएको छ। हत्या घटनाका तेस्रो आरोपित रोशन साह हालसम्म फरार छन्। उनको हकमा मुद्दा मुल्तबीमा राख्ने फैसला भएको छ।

नासिर जनतान्त्रिक तराई मुक्ति मोर्चा गोईत समूहमा आवद्ध थिए। बिष्णुपुर गाउँपालिका ७ बाट २०७४ जेठ १३ गते एक थान पेस्तोल र गोइत समूहको जनतान्त्रिक तराई मुक्ति मोर्चाको पर्चा पम्प्लेटसहित नासिर पक्राउ पनि परेका थिए। उक्त घटनामा जरिवाना तिरेर नौ महिनापछि नासिर जेलबाट रिहा भएका थिए। सप्तरीको शम्भुनाथ नगरपालिका १ स्थित खाँडो खोला नजिक रहेको सार्वजनिक पोखरीमा ०७८ असोज ९ गते पहिचान नखुलेको शव फेला परेको थियो। राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको शवगृहमा सनाखतका लागि शव पोष्टमार्टम नगरी राखिएको थियो। शवको पहिचान खुलेर असोज ११ गते सनाखत भएको थियो।

स्थानीय तहको निर्वाचन नजिकिएपछि उम्मेदवारहरूलाई सहयोग गर्ने बहानामा राजनीतिक सरंक्षण लिएर नेपाल भित्रिएको सूचना पाएको सप्तरी प्रहरीले नेपाल भारत सिमा नजिकै बोदे बर्साइन नगरपालिकाबाट नासिरलाई ०७९ वैशाख २३ गते पक्राउ गरेको थियो। नासिर पक्राउ परेपछि प्रहरीले इनरवतीलाई पनि ०७९ जेठ २४ गते पक्राउ गरेको हो। नासिर र रोशन साहले नै महतोको हत्या गरेको र इनरवतीको समेत संलग्नता रहेको प्रहरी अनुसन्धानले देखाएको छ। महतो बिहेको लगनका बेला हुने भोजभतेरमा खाना पकाउने काम गर्थे भने अरू बेला तरकारी बिक्री गर्थे।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤