Siraha Times
ताजा समाचार

‘सुनौलो हजार दिन’ अभियान सुरु: सखुवानन्कारकट्टीमा समुदायमै पुगेर आमा–बाल पोषण जाँच

  • वैशाख २२, २०८३
  • २५१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल, लहान, २२ वैशाख । मातृ तथा शिशु स्वास्थ्य सुदृढ गर्ने लक्ष्यसहित सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकामा समुदायमै पुगेर पोषण अवस्था मूल्याङ्कन गर्ने विशेष कार्यक्रम सुरु गरिएको छ। ‘सुनौलो हजार दिनका आमाहरू सँग ५ वर्षमुनिका बालबालिकाको समुदायस्तरमा पोषण लेखाजोखा कार्यक्रम’ नाम दिइएको उक्त अभियान Helen Keller International को सहयोग तथा सखुवानन्कारकट्टी गाउँपालिकाको आयोजनामा सञ्चालनमा आएको हो।

गाउँपालिकाको सभाहल बाट औपचारिक रूपमा सुरु गरिएको कार्यक्रमअन्तर्गत गर्भवती तथा सुत्केरी आमा र पाँच वर्षमुनिका बालबालिकाको पोषण अवस्था समुदायमै पुगेर जाँच गरिनेछ। यसमार्फत कुपोषणको अवस्था पहिचान गरी आवश्यक परामर्श प्रदान गरिनेछ भने जटिल अवस्थामा रहेका बालबालिकालाई सम्बन्धित सन्दर्भ केन्द्रमा प्रेषण गर्ने व्यवस्था गरिएको छ।

कार्यक्रमको उद्घाटन गाउँपालिका अध्यक्ष केदारनाथ यादवले गरेका थिए। उनले बालबालिकाको जीवनको प्रारम्भिक ‘सुनौलो हजार दिन’ लाई शारीरिक, मानसिक तथा बौद्धिक विकासको आधारभूत चरणका रूपमा व्याख्या गर्दै यस अवधिमा पोषणमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए। “स्वस्थ आमा र स्वस्थ बालबालिका नै समृद्ध समाजको आधार हुन्,” उनले भने।

दलित विकास मंचको सहकार्यमा सञ्चालन भइरहेको उक्त कार्यक्रम सिरहाका १७ वटै स्थानीय तहमा विस्तार गरिएको जानकारी दिँदै संस्थाका कार्यकारी निर्देशक संजय महराले समुदायमै पुगेर पोषण जाँच गर्ने अभ्यासले कुपोषण न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

पोषण सहजकर्ता सरस्वती विश्वकर्मा र शोभा महराका अनुसार प्रारम्भिक चरणमै हरेक बालबालिकाको पोषण स्क्रिनिङ गर्ने लक्ष्य राखिएको छ। स्क्रिनिङका क्रममा बालबालिकाको तौल, उचाइ, पोषण अवस्था तथा स्वास्थ्य जोखिमको मूल्याङ्कन गरिनेछ।

कार्यक्रममा सहभागी सेवाग्राहीहरूले यस पहललाई समयसापेक्ष र प्रभावकारी भन्दै समुदायमै सेवा उपलब्ध हुँदा आमा तथा बालबालिकाको स्वास्थ्य सुधारमा ठोस सहयोग पुग्ने बताएका छन्। साथै, सन्तुलित आहार, स्तनपान अभ्यास, सरसफाइ र बाल हेरचाहसम्बन्धी व्यवहारमा सकारात्मक परिवर्तन आउने अपेक्षा गरिएको छ।

स्वास्थ्य शाखा प्रमुख अशोक कुमार यादवका अनुसार कार्यक्रमलाई निरन्तरता दिँदै कुपोषण न्यूनीकरणका लागि थप अभियान सञ्चालन गरिनेछ। उनले स्वास्थ्यकर्मीको टोली गाउँ–बस्तीमा परिचालन भइसकेको जानकारी दिँदै सेवा लिनबाट कोही छुटेमा तुरुन्त सम्बन्धित निकायमा सम्पर्क गर्न आग्रह गरेका छन्। समुदायमै पुगेर पोषण अवस्था जाँच गर्ने यो अभियानले सखुवानन्कारकट्टीमा मात्र नभई समग्र सिरहामा आमा र बालबालिकाको स्वास्थ्य सुधारमा दीर्घकालीन प्रभाव पार्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

बलान बिहुलमा कुपोषण ...

रहमुल, लहान २२ वैशाख । “समृद्ध बलान बिहुल” अभियान अन्तर्गत सप्तरीको बलान बिहुल गाउँ ...

भगवानपुरमा मुद्दा घट ...

रहमुल, लहान २२ वैशाख । सिरहाको भगवानपुर गाउँपालिकामा पछिल्लो समय मुद्दा मामिलामा उल्लेखनीय कमी आएको ...

लहानमा ‘सुनौलो हजार ...

ओम प्रकाश यादव लहान, वैशाख २० । मातृ तथा शिशु स्वास्थ्य सुदृढ गर्ने उद्देश्यले लहान नगरपालिकामा &lsq ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१