Siraha Times
ताजा समाचार

लहान अस्पतालमा क्यान्सर विशेषज्ञ सेवा सुरु, अब छाला रोग, नाक–कान–घाँटी र सिटी स्क्यान सेवा पनि विस्तार

  • वैशाख १२, २०८३
  • ९२७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहाटाइम्स लहान बैशाख १२ । सिरहाको जिल्लाको लहानमा रहेको राम कुमार सारडा उमा प्रसाद मुरारका अस्पतालमा अब क्यान्सर रोगसम्बन्धी विशेषज्ञ सेवा नियमित रूपमा सञ्चालन हुने भएको छ। अस्पताल व्यवस्थापन समितिका अध्यक्ष राम नारायण मेहताको पहलमा अस्पतालले क्यान्सर उपचार तथा परामर्श सेवा सुरु गरेको हो।

अध्यक्ष मेहताका अनुसार, क्यान्सर रोग विशेषज्ञ डा. गुप्ता मार्फत अब लहानमै नियमित सेवा उपलब्ध हुनेछ। हाल बिराट टिचिङ अस्पताल मा कार्यरत डा. गुप्ता यसअघि भारतको प्रतिष्ठित All India Institute of Medical Sciences मा समेत सेवा दिइसकेका अनुभवी चिकित्सक हुन्। उनको विशेषज्ञता र लामो अनुभवलाई मध्यनजर गर्दै लहानमै क्यान्सर उपचार सेवा विस्तार गरिएको अस्पतालले जनाएको छ। अस्पताल र डा. गुप्ताबीच भएको सहमतिअनुसार, प्रत्येक महिनाको दोस्रो हप्ताको सोमबार बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म क्यान्सरसम्बन्धी परामर्श, परीक्षण तथा उपचार सेवा उपलब्ध हुनेछ। अस्पताल प्रशासनका अनुसार यो सेवा अत्यन्तै सुलभ र सहुलियतपूर्ण शुल्कमा प्रदान गरिनेछ, जसबाट स्थानीय तथा आसपासका जिल्लाका बिरामीलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ।

मेहताका अनुसार यस सेवाले सिरहा, सप्तरी, धनुषा तथा आसपासका जिल्लाका क्यान्सर बिरामीलाई उपचारका लागि काठमाडौं वा भारत धाउनुपर्ने बाध्यता कम गर्ने विश्वास गरिएको छ। अध्यक्ष मेहताले आफू नेतृत्वमा आएपछि अस्पतालमा देखिएका विभिन्न व्यवस्थापकीय चुनौतीहरू समाधान गर्दै सेवा विस्तारलाई प्राथमिकतामा राखिएको बताए। “हामी अस्पतालको समग्र व्यवस्थापन सुधार गर्दै जनताले आवश्यक सबै स्वास्थ्य सेवा यहीँबाट पाउने वातावरण निर्माण गरिरहेका छौं,” उनले भने। “जग्गा नामाकरण सम्पन्न भएपछि संरचनात्मक तथा सेवागत सुधारलाई थप तीव्रता दिएका छौं।”

उनका अनुसार, अस्पतालमा बिरामीको चाप दिनप्रतिदिन बढ्दै गएको छ, जसले अस्पतालप्रति आम नागरिकको विश्वास र भरोसा बढिरहेको स्पष्ट संकेत गर्दछ । “हाम्रो दीर्घकालीन लक्ष्य यस अस्पताललाई बहु-विशेषज्ञ स्वास्थ्य सेवा केन्द्रका रूपमा विकास गर्नु हो,” उनले थपे। अस्पतालले यसअघि नै आँखा, कान, दाँत तथा घाँटीसम्बन्धी विशेषज्ञ सेवाहरू विस्तार गरिसकेको छ । अब क्यान्सर उपचार सेवा थपिएसँगै अस्पताललाई क्षेत्रीय स्तरकै बहु-विशेषज्ञ सेवा केन्द्रका रूपमा स्थापित गर्ने योजना अघि बढाइएको छ ।

यससँगै अस्पतालबाट छाला रोग तथा नाक–कान–घाँटी (ईएनटी) सम्बन्धी विशेषज्ञ सेवा पनि सञ्चालन गरिने भएको छ। साथै, अत्याधुनिक सिटी स्क्यान सेवा समेत चाँडै सुरु गरिने अध्यक्ष मेहताले जानकारी दिए। यी सेवाहरू सञ्चालनमा आएपछि बिरामीले जटिल रोगहरूको परीक्षण र उपचारका लागि टाढा जानुपर्ने बाध्यता अझ कम हुने अपेक्षा गरिएको छ।

स्थानीयस्तरमै क्यान्सरजस्तो जटिल रोगको विशेषज्ञ उपचार सेवा उपलब्ध हुनु लहान क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि मानिएको छ। विशेषगरी आर्थिक रूपमा कमजोर तथा विपन्न बिरामीलाई यसबाट प्रत्यक्ष लाभ पुग्ने विश्वास गरिएको छ। विशेषज्ञ सेवा सहज, सुलभ र स्थानीयस्तरमै उपलब्ध हुँदा रोगको प्रारम्भिक पहिचान, समयमै उपचार र जीवनरक्षा सम्भावना समेत बढ्ने चिकित्सकहरूको भनाइ छ।

लहान तथा समग्र मधेश क्षेत्रको स्वास्थ्य सेवामा यो पहललाई एउटा ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ। आगामी दिनमा थप विशेषज्ञ सेवा विस्तार गर्दै अस्पताललाई आधुनिक, सुविधासम्पन्न र सर्वसुलभ स्वास्थ्य संस्थाका रूपमा विकास गर्ने तयारी अस्पताल प्रशासनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

जनताको सेवामा खटिने ...

लहान साउन १२। जनमत पार्टीका प्रत्याशी उम्मेदवार तथा समाजसेवी राम सुरेश यादवले इलाका प्रहरी कार्यालय ...

स्वास्थ्यमन्त्री घिम ...

प्रिन्स मिश्र कपिलवस्तु साउन १२ । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री रामजी प्रसाद घिमिरेले प्रदेश सर ...

नेपाल रेडक्रस धनुषाम ...

जनकपुरधाम, १२ साउन । नेपाल रेडक्रस सोसाइटी धनुषा जिल्ला शाखाको हालै गठित तदर्थ समितिलाई लिएर तीव्र व ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१