ओम प्रकाश यादव लहान चैत २५ । सप्तरी र सिरहा जिल्लामा “Together for Health, Stand with Science” भन्ने मूल नाराका साथ विश्व स्वास्थ्य दिवस–२०२६ (२०८२ चैत्र २४ गते) भव्य रूपमा मनाइएको छ। स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्वयंसेविका तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।
सप्तरी जिल्लाको बलान बिहुल गाउँपालिकामा आयोजित कार्यक्रम गाउँपालिकाका अध्यक्ष खेम चन्द्र यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा स्वास्थ्यको महत्व, स्वच्छ जीवनशैली, पोषण तथा वैज्ञानिक सोचको आवश्यकतामाथि विशेष जोड दिइएको थियो। कार्यक्रम बलान बिहुल गाउँपालिकाको आयोजनामा सम्पन्न भएको थियो भने राष्ट्रिय कृषक समूह महासंघ नेपालको आर्थिक सहयोग रहेको थियो।
साथै सहयोगी संस्थाका रूपमा Nurture Every Future: Poshan Nepal, CARE Nepal तथा iDE को सक्रिय सहकार्य रहेको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि खेम चन्द्र यादवले स्वस्थ समाज निर्माणका लागि सबै पक्षको साझा पहल आवश्यक रहेको उल्लेख गरे। उनले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा पहुँच विस्तार गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको बताए। उनले भने, “स्वास्थ्य नै सबैभन्दा ठूलो सम्पत्ति हो, यसलाई संरक्षण गर्न वैज्ञानिक सोच र व्यवहार अपनाउनु अत्यावश्यक छ।”
यसैगरी सिरहा जिल्लाको भगवानपुर गाउँपालिकामा पनि विश्व स्वास्थ्य दिवस विशेष कार्यक्रमका साथ मनाइएको छ। भगवानपुर गाउँपालिकाको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा पनि राष्ट्रिय कृषक समूह महासंघ नेपालको आर्थिक सहयोग रहेको थियो। कार्यक्रममा भगवानपुर स्वास्थ्य शाखाका प्रमुख डा. हिरा लाल कामतीले प्रमुख सम्बोधन गर्दै स्वास्थ्य सेवाको पहुँच, जनचेतना र पोषणको सन्तुलनबारे प्रकाश पारे।
डा. कामतीले आफ्नो सम्बोधनमा भने, “स्वास्थ्य सेवा केवल उपचार मात्र होइन, यो चेतना, व्यवहार र जीवनशैलीसँग जोडिएको विषय हो। यदि हामीले समयमै सचेतना अपनायौं भने धेरै रोगहरूबाट बच्न सकिन्छ।” उनले विशेष गरी महिला स्वास्थ्य स्वयंसेविकाहरूको भूमिकाको प्रशंसा गर्दै उनीहरूलाई समुदायको मेरुदण्डको रूपमा चित्रण गरे। कार्यक्रममा गाउँपालिकाभित्रका प्रत्येक वडाबाट स्वास्थ्य स्वयंसेविका महिला दिदीबहिनीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उनीहरूले समुदायमा स्वास्थ्यसम्बन्धी सन्देश प्रवाह गर्न आफ्नो सक्रियता बढाउने प्रतिबद्धता जनाएका थिए।
त्यसैगरी कार्यक्रममा जामुन प्रसाद यादवले स्वास्थ्यको महत्वबारे जोड दिँदै भने, “स्वस्थ शरीर बिना कुनै पनि लक्ष्य प्राप्त गर्न सकिँदैन। त्यसैले प्रत्येक व्यक्तिले आफ्नो स्वास्थ्यप्रति सजग रहनुपर्छ।” उनले सन्तुलित आहार, नियमित व्यायाम र सरसफाइमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याए। कार्यक्रमको अन्त्यतिर भगवानपुर गाउँपालिकाका प्रतिनिधि राम चन्द्र यादवले सम्बोधन गर्दै सामूहिक प्रयासबाट मात्र स्वास्थ्यसम्बन्धी लक्ष्य हासिल गर्न सकिने धारणा व्यक्त गरे। उनले भने, “हामी सबै एकजुट भएर अघि बढेमा मात्र स्वस्थ समाज निर्माण सम्भव छ।
स्वास्थ्यलाई प्राथमिकतामा राखेर योजना बनाउनु आजको आवश्यकता हो।” कार्यक्रमको सञ्चालन देव नारायण चौधरीले गरेका थिए। उनले कार्यक्रमलाई प्रभावकारी ढंगले अगाडि बढाउँदै सहभागीहरूलाई सक्रिय सहभागिताका लागि प्रेरित गरेका थिए। दुवै स्थानमा आयोजित कार्यक्रमहरूले स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेका छन्।
सहभागीहरूले स्वास्थ्यप्रति जिम्मेवार बन्ने, वैज्ञानिक सोच अपनाउने र समुदायमा सकारात्मक सन्देश फैलाउने प्रतिबद्धता जनाएका छन्। यसरी, विश्व स्वास्थ्य दिवस–२०२६ को अवसरमा सप्तरी र सिरहामा आयोजित कार्यक्रमहरूले “Together for Health, Stand with Science” भन्ने नारालाई व्यवहारमा उतार्दै स्वस्थ समाज निर्माणतर्फ महत्वपूर्ण सन्देश प्रवाह गरेका छन्।
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic