लहान, २ चैत्र। दलित समुदायमाथि बढ्दै गएको हिंसा तथा विभेदको विरोधमा सिरहाको गोलबजारमा र्याली तथा कोणसभा सम्पन्न गरिएको छ। दलित विकास मञ्च (DDF) सिरहाको आयोजनामा सिरहाको गोलबजारमा आयोजित कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ।
कार्यक्रममा सिरहाको गोलबजारमा ईनिसा वि.क. माथि भएको घटना तथा रौतहट जिल्लामा दलित समुदायमाथि भएको हिंसात्मक घटनाको विरोध गर्दै स्थानीय दलित अधिकारकर्मी, सामाजिक अभियन्ता तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूले आवाज उठाएका थिए।
विरोध र्याली दलित विकास मञ्च सिरहाको कार्यालयबाट सुरु भई गोलबजार बजार क्षेत्रको परिक्रमा गर्दै गोलचक्कर पुगेर कोणसभामा परिणत भएको थियो। र्यालीका क्रममा सहभागीहरूले दलितमाथि हुने हिंसा बन्द गर, विभेद अन्त्य गर, पीडितलाई न्याय देऊ लगायतका नारासहित प्रदर्शन गरेका थिए।
कोणसभामा बोल्दै मुक्ति नेपालका कार्यक्रम संयोजक विशेश्वर दासले दलित समुदायमाथि हुने हिंसा र विभेद अझै पनि समाजमा विद्यमान रहेको उल्लेख गर्दै यस्ता घटनालाई नियन्त्रण गर्न राज्य गम्भीर हुनुपर्ने बताए। उनले पीडितलाई तत्काल न्याय दिलाउन सम्बन्धित निकायलाई आग्रह समेत गरे।
त्यस्तै भौतिकवादी समाजका शिवकुमार महराले दलित समुदायमाथि हुने अन्याय र अत्याचार सह्य नहुने भन्दै सामाजिक न्यायका लागि सबै एकजुट हुनुपर्ने धारणा राखे। दलित महिला केन्द्रकी रिता रजकले महिलामाथि हुने विभेद र हिंसा अझ बढी पीडादायी रहेको बताउँदै दलित महिलाको सुरक्षा र अधिकार सुनिश्चित गर्न राज्य तथा समाज दुवै जिम्मेवार बन्नुपर्ने बताइन्।
यसैगरी दलित विकास मञ्च सिरहाका कार्यकारी निर्देशक संजय महराले दलित समुदायमाथि हुने हिंसात्मक घटनाहरू दोहोरिन नदिन कडा कानुनी कारबाही आवश्यक रहेको बताए। उनले पीडित पक्षलाई न्याय दिलाउन नागरिक समाज र मानवअधिकारकर्मीहरूले निरन्तर आवाज उठाइरहने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा स्थानीय दलित समुदाय, सामाजिक अभियन्ता, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। आयोजकका अनुसार दलित समुदायमाथि हुने हिंसा र विभेदको अन्त्यका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने छ।
प्रतिक्रिया दिनुहोस
लहान प्रादेशिक अस्पतालमा ट्रमा सेन्टर निर्माण पहल, आगामी बजेटमा रकम विनियोजन गर्न मन्त्रालयसँग अनुरोध
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic