Siraha Times
ताजा समाचार

शिक्षा सुधार भाषणमै सीमित : युवा नेता उमेश दुबे

  • चैत १, २०८२
  • ४११ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रंजित चौरसिया,बारा १ चैत्र। स्थानीय तह निर्वाचनका बेला शिक्षा सुधारका ठूला–ठूला प्रतिबद्धता गरिए पनि व्यवहारमा कुनै ठोस काम नभएको भन्दै युवा नेता उमेश दुबेले शिक्षा क्षेत्र अझै कमजोर अवस्थामा रहेको बताएका छन्।

जनमत पार्टीका केन्द्रीय सदस्य तथा फेटा गाउँपालिका अध्यक्ष पदका भावी उम्मेदवारसमेत रहेका दुबेले स्थानीय तहका जनप्रतिनिधिहरूले शिक्षा सुधारका विषयमा भाषण मात्रै गर्ने तर व्यवहारिक रूपमा काम नगर्ने प्रवृत्तिका कारण शिक्षा क्षेत्र अपेक्षित रूपमा अगाडि बढ्न नसकेको आरोप लगाए।

दुबेले स्थानीय सरकारको उदासीनता र अनियमितताका कारण फेटा गाउँपालिकाभित्रका विद्यालयहरूको अवस्था दिनप्रतिदिन खस्कँदै गएको बताए। उनका अनुसार गाउँपालिकामा ७ वटा वडा र १७ वटा टोल रहेका छन् भने यहाँ १८ वटा विद्यालय सञ्चालनमा छन्। यति धेरै विद्यालय हुँदाहुँदै पनि कुनै एउटा विद्यालयलाई नमूना विद्यालयका रूपमा विकास गर्न नसक्नु स्थानीय सरकारको असफलता भएको उनको टिप्पणी छ।

उनले निर्वाचनका बेला शिक्षा सुधारका मीठा भाषण गरिने तर निर्वाचन सकिएपछि ती प्रतिबद्धता कागजमै सीमित हुने गरेको बताए। “केवल भाषण र आश्वासनले मात्र शिक्षा क्षेत्र सुधार सम्भव हुँदैन,” दुबेले भने। दुबेका अनुसार विद्यालयमा शिक्षक नियुक्तिदेखि लिएर विद्यालय व्यवस्थापन समितिको गठनसम्म विभिन्न किसिमका अनियमितता र राजनीतिक हस्तक्षेप हुने गरेको छ। योग्य र दक्ष शिक्षकलाई अवसर दिनुको सट्टा पहुँच र राजनीतिक निकटताको आधारमा नियुक्ति गरिने प्रवृत्तिले शिक्षा प्रणाली कमजोर बन्दै गएको उनले बताए।

विद्यालय व्यवस्थापनमा पारदर्शिता र उत्तरदायित्वको अभाव रहेको पनि उनले औंल्याए। विद्यालय व्यवस्थापन समितिमा अत्यधिक राजनीतिक प्रभाव देखिने र त्यसले विद्यालय विकासभन्दा व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिएको उनको भनाइ छ। यसका कारण शिक्षाको गुणस्तरमा प्रत्यक्ष असर परेको र विद्यार्थीहरू गुणस्तरीय शिक्षाबाट वञ्चित हुन बाध्य भएको दुबेले बताए।

दुबेले शिक्षा क्षेत्र सुधारका लागि प्रभावकारी योजना र कडाइका साथ कार्यान्वयन आवश्यक रहेकोमा जोड दिए। शिक्षक नियुक्ति प्रक्रियालाई पूर्ण रूपमा पारदर्शी बनाउन तथा विद्यालय व्यवस्थापन प्रणालीलाई सुधार गर्नुपर्ने उनले बताए। साथै स्थानीय सरकारले शिक्षा क्षेत्रमा हुने भ्रष्टाचार र अनियमिततामाथि कडा निगरानी राख्नुपर्ने उनको भनाइ छ।

फेटा गाउँपालिकामा शिक्षा सुधारका लागि दीर्घकालीन योजना आवश्यक रहेको उल्लेख गर्दै उनले स्थानीय सरकार, शिक्षक, अभिभावक र समुदायबीच सहकार्य अपरिहार्य रहेको बताए। “यदि समाज र राष्ट्रलाई अगाडि बढाउने हो भने सबैभन्दा पहिले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्छ,” दुबेले भने, “नत्र शिक्षा सुधारका कुरा केवल भाषण र नारामै सीमित रहने खतरा रहिरहन्छ।”

प्रतिक्रिया दिनुहोस

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सेवा गर्न धन होइन मन ...

कृष्णानगर, अषाढ १ कपिलवस्तु जिल्लाको कृष्णानगर बजार संग सटेको भारतीय बजारमा भिडभाड प्राय बढी नै रहेक ...

कटारी वडा नं. ५ द्वा ...

विनोद अविरल, सिरहा आषाढ १ ​। उदयपुर जिल्लाको कटारी नगरपालिका वडा नं. ५ कार्यालयले आफ्नो क्षेत्रभित्र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१