पोषण बगैंचा कार्यक्रमअन्तर्गत भगवानपुरमा दलित महिला किसानलाई कृषि औजार र बीउ वितरण

  • फागुन २७, २०८२
  • ८६ पटक पढिएको
  • रहमुल
alt

रहमुल, लहान, २७ फागुन । कृषिलाई प्रवर्द्धन गर्दै किसानको आयआर्जन तथा पोषण सुधार गर्ने उद्देश्यले सिरहाको भगवानपुर गाउँपालिका–१ कल्याणपुरमा दलित कृषक समूहका महिलालाई कृषि औजार तथा तरकारीका उन्नत बीउबिजन वितरण गरिएको छ।

उक्त कार्यक्रम राष्ट्रिय कृषक समूह महासंघ नेपालको आयोजनामा तथा केयर नेपालको आर्थिक सहयोगमा सञ्चालन भइरहेको ‘पोषण बगैंचा कार्यक्रम’ अन्तर्गत सम्पन्न भएको हो। कार्यक्रम मार्फत दलित कृषक समूहका महिलालाई आधुनिक खेतीतर्फ आकर्षित गर्न र उत्पादन वृद्धि गर्न आवश्यक कृषि सामग्री उपलब्ध गराइएको आयोजकले जनाएको छ।

महासंघले भगवानपुर गाउँपालिकामा विगत लामो समयदेखि दलित मुसहर समुदायलाई लक्षित गरी ‘करार खेती’ कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ। उक्त कार्यक्रम बाट अतिविपन्न, गरिब तथा भूमिहीन परिवारहरू प्रत्यक्ष रूपमा लाभान्वित हुँदै आएका छन्। यसअघि पनि महासंघको सहयोगमा कृषि तालिम, बीउबिजन वितरण तथा किसान सशक्तीकरणसँग सम्बन्धित विभिन्न कार्यक्रम सञ्चालन भइसकेका छन्।

गाउँपालिकाका अध्यक्ष उग्रनरायण यादवका अनुसार भगवानपुर गाउँपालिका कृषिमा आधारित क्षेत्र भएकाले स्थानीय सरकारले कृषि विकासलाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम अघि बढाएको छ। “मेरो नेतृत्वको स्थानीय सरकारले कृषि आधुनिकीकरण, यान्त्रीकरण, कृषि विद्युतीकरण तथा कृषि सडक विस्तारजस्ता महत्वपूर्ण कामहरू अघि बढाइसकेको छ, जसको प्रत्यक्ष लाभ किसानहरूले लिइरहेका छन्,” उनले बताए।

अध्यक्ष यादवले गाउँपालिकामा आधुनिक सुविधा सहितको कृषि तथा पशुपन्छी सेवा केन्द्र सञ्चालनमा आइसकेको जानकारी पनि दिए। अत्याधुनिक प्रयोगशाला सहित सञ्चालनमा आएको उक्त केन्द्रले किसानलाई प्राविधिक सेवा, रोग परीक्षण तथा उत्पादन व्यवस्थापनमा सहयोग पुर्‍याइरहेको उनले बताए।

यस्तै, महासंघका मधेस प्रदेश सचिव यामुन प्रसाद यादवले अतिविपन्न दलित, गरिब तथा भूमिहीन किसानहरूको आर्थिक अवस्था सुधार गर्न र खाद्य संकट हुन नदिन महासंघ स्थानीय सरकारहरू सँग समन्वय र सहकार्य गर्दै विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताए। उनका अनुसार कृषिमा पहुँच, प्रविधि र सामग्री उपलब्ध गराएर किसानलाई आत्मनिर्भर बनाउने लक्ष्य राखिएको छ।

स्थानीय किसानहरूले कृषि औजार र उन्नत बीउबिजनको उपलब्धताले खेतीपातीमा उत्साह बढेको बताउँदै यसले उत्पादन वृद्धि, पोषण सुधार तथा आयआर्जनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्। कृषिलाई प्राथमिकता दिँदै यस्ता कार्यक्रमहरू निरन्तर विस्तार हुँदै गए स्थानीय किसान सशक्त बन्ने र गाउँपालिकाको समग्र आर्थिक विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

लहानमा ग्यास सिलिन्ड ...

लहान, २७ फागुन । २०८२ साल फागुन २४ गते सिरहा जिल्लाको लाहान नगर क्षेत्रमा एक अत्यन्तै निन्दनीय र दुः ...

पोषण बगैंचा कार्यक्र ...

रहमुल लहान, २७ फागुन ।  कृषि उत्पादन वृद्धि, पोषण सुधार तथा गरिबी न्यूनीकरणको उद्देश्यसहित सप्त ...

अन्तर्राष्ट्रिय नारी ...

रहमुल लहान २५ फागुन । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा शिव उदगार यादव (शिवा)ले सम्पूर्ण नारीहरूप्र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१