रहमुल लहान १ कात्तिक । जिल्ला प्रहरी कार्यालय सिरहामा ७०औं प्रहरी दिवसको अवसरमा विशेष कार्यक्रम सम्पन्न गरिएको छ। जिल्ला प्रहरी कार्यालयको प्राङ्गणमा आयोजित उक्त मूल समारोहमा निमित्त प्रमुख जिल्ला अधिकारी चेतराज बराल प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक (प्र.उ.) अनन्त राम शर्मा, अमर प्रहरी परिवारका सदस्यहरू, सेवामा कार्यरत तथा सेवा निवृत्त प्रहरी कर्मचारीहरू, सुरक्षासंवन्धी निकायका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमको सुरुमा प्रमुख अतिथि बरालले अमर प्रहरी स्मारकमा पुष्पहार चढाउँदै शहीद प्रहरीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो। उहाँले प्रहरी संगठनको स्थापनादेखि अहिलेसम्म देश र जनताको सुरक्षार्थ आफ्नो ज्यान आहुति दिएका अमर प्रहरी कर्मचारीहरूको योगदानको उच्च प्रशंसा गर्दै तिनप्रति गहिरो श्रद्धा प्रकट गर्नुभयो।
त्यस अवसरमा प्रमुख अतिथि बरालले कार्यरत उत्कृष्ट प्रहरी कर्मचारीहरूलाई पुरस्कृत गर्नुका साथै प्रहरी दिवसको शुभकामना व्यक्त गर्नुभयो। उहाँले प्रहरी संगठनले जनसेवामा देखाएको निष्ठा, समर्पण र प्रतिबद्धताको प्रशंसा गर्दै आगामी दिनहरूमा अझ अनुशासित, पारदर्शी र जनमुखी ढङ्गले सेवा प्रवाह गर्न आग्रह गर्नुभयो।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्र.उ. अनन्त राम शर्माले प्रहरी दिवसको महत्वबारे प्रकाश पार्दै संगठनले अपराध नियन्त्रण, शान्ति–सुरक्षा कायम र जनताको विश्वास जित्न निरन्तर प्रयत्नशील रहेको बताउनुभयो। उहाँले अमर प्रहरी कर्मचारीहरूको बलिदानकै कारण आजको प्रहरी संगठन बलियो र जनविश्वासयुक्त बनेको उल्लेख गर्नुभयो।
कार्यक्रममा सेवा निवृत्त प्रहरी कर्मचारीहरूलाई पनि सम्मान गरिएको थियो। कार्यक्रममा सहभागी अमर प्रहरी परिवारका सदस्यहरूले भावुक हुँदै प्रहरी संगठनप्रति आभार व्यक्त गरेका थिए। जिल्ला प्रहरी कार्यालय सिरहाले जारी गरेको विज्ञप्तिमा ७०औं प्रहरी दिवसले प्रहरी कर्मचारीहरूलाई राष्ट्र, जनता र सुरक्षाको हितमा अझ समर्पित भई कार्य गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ।
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2025 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic