Siraha Times
ताजा समाचार

नेपाल पत्रकार महासंघ सिराहा शाखाद्वारा ज्ञापन पत्र बुझाइयो

  • चैत १८, २०८१
  • ८७९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव,लहान  चैत्र १८ । नेपाल पत्रकार महासंघ सिराहा शाखाका अध्यक्ष मनोज बनैता सहितको टोलीले पत्रकार हत्या, संचारमाध्यममाथि भएका आक्रमणमा संलग्नलाई कानुनी कारबाहीको माग गर्दै तथा पीडित पक्षलाई क्षतिपूर्ति उपलब्ध गराउन नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएको छ। नेपाल पत्रकार महासंघको केन्द्रीय सर्कुलर अनुसार देशव्यापी रूपमा महासंघ जिल्ला शाखाहरूले सरकारलाई ज्ञापन पत्र बुझाउने निर्णय अनुसार सिराहा शाखाले पनि प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापन पत्र हस्तान्तरण गरेको हो।

पत्रकारहरूको हत्या, सञ्चारगृह तथा सञ्चारकर्मीमाथि भएका आक्रमणहरूको विरोध गर्दै नेपाल पत्रकार महासंघ सिराहा शाखाका अध्यक्ष मनोज बनैता नेतृत्वको टोलीले जिल्ला प्रशासन कार्यालय, सिरहा पुगेर प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ। उक्त ज्ञापन पत्रमार्फत महासंघले पत्रकारहरूको सुरक्षाको सुनिश्चितता गर्न माग गरेको छ।

गत शुक्रबार काठमाडौँको तीनकुनेमा अज्ञात समूहको आक्रमणबाट ज्यान गुमाएका पत्रकार सुरेश रजकको घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीहरूमाथि कानुनी कारबाही गर्न महासंघले माग गरेको छ। साथै, मृतक रजकका परिवारलाई उचित राहत उपलब्ध गराउन र संचारकर्मी तथा संचारगृहमाथि आक्रमण गर्ने सबैलाई कानूनी कठघरामा उभ्याउन महासंघले जोडदार माग गरेको छ। घाइते पत्रकारहरूको उपचारको प्रबन्ध गर्न र संचारमाध्यमलाई क्षतिपूर्ति उपलब्ध गराउन पनि महासंघले सरकारको ध्यानाकर्षण गराएको छ।

पत्रकार महासंघले आन्दोलनका कार्यक्रमहरू घोषणा गरेअनुसार सिराहाका पत्रकारहरूले विभिन्न विरोधका कार्यक्रमहरू आयोजना गरेका छन्। शुक्रबार लहानमा नगर परिक्रमा गर्दै विरोध र्‌याली निकालिएको थियो भने शनिबार पत्रकारहरूले आफ्नो हात र टाउकोमा कालोपट्टी बाँधेर रिपोर्टिङ गरेका थिए। यसै क्रममा सोमबार जिल्ला प्रशासन कार्यालय, सिरहामा पुगेर सरकारलाई ज्ञापन पत्र बुझाइएको हो।

महासंघले पत्रकारहरूको हकहितको रक्षा गर्न तथा स्वतन्त्र प्रेसको सुनिश्चितता गर्न सरकारलाई दवाव दिने उद्देश्यले आन्दोलन जारी राख्ने चेतावनी दिएको छ। महासंघका अध्यक्ष मनोज बनैताले भने, "पत्रकारहरूको हत्या, आक्रमण र दमनलाई कुनै पनि हालतमा स्वीकार गर्न सकिँदैन। सरकारले दोषीमाथि कठोर कारबाही नगरे अझ सशक्त आन्दोलन गर्न बाध्य हुनेछौँ।"

प्रतिक्रिया दिनुहोस

धार्मिक सद्भाव कायम ...

ओम प्रकाश यादव लहान, साउन १५ । सप्तरी जिल्लाको खडक नगरपालिकाले देशका विभिन्न स्थानमा पछिल्लो समय देख ...

११ लाख घरधुरीको विश् ...

काठमाडौँ , १४ श्रावण नेपालको सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पन ...

विक्रीकर्ता खरिदकर्त ...

रंजित चौरसिया,वीरगंज १३ साउन । भ्रष्टाचार र राजस्व छलीको आरोपमा वीरगंज यातायातबाट श्रम तथा यातायात म ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१