ताजा समाचार

अल्ट्रा अभियानले मकवानपुर प्रहरी प्रशासनको आँखामा धुलो झोकी चिठ्ठा खोल्न सफल

चिठ्ठा खोलेको भिडियो पठाउनुस कारवाही गर्छु : प्रजिअ चिलुवाल

  • कार्तिक १, २०८१
  • १०३४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रंजित चौरसिया,वीरगंज १ कार्तिक । पर्सा जिल्लाका स्थानिय प्रहरी प्रशासनको मिलोमतोमा बिगत लामो समय देखि चिठ्ठा खोल्दै ठगी गर्दै आएका अल्ट्रा अभियान डिजिटल ईलेक्ट्रा प्रा.लि.का सञ्चालकहरु दिपेश वर्णवाल, ऋषिकान्त गुप्ता र सुशिल सर्राफले एसी प्रोजेक्टको ५ औं किस्ताबन्दीको चिठ्ठा बुधवार मकवानपुर जिल्लामा खोल्न सफल भएका छन् । अल्ट्रा अभियानको कार्यालय वीरगंज भिस्वाको त्रिशुल चौक नजिक रहेको भए तापनि स्थानिय प्रहरी प्रशासनको संरक्षणमा किस्ताबन्दीको सदस्यहरु सँग महिनै पिच्छे २२५० का दरले सञ्चालकहरुले किस्ता असुली गरिरहेपनि हालसम्म पर्सा जिल्लामा चिठ्ठा नखोली लुकिछिपी कहिले चितवन त कहिले मकवानपुर जिल्लामा खोल्दै आएका छन् ।

सोही क्रममा बुधवार मकवानपुर जिल्लाको हेटौंडा शहिद गेट निर रहेको स्मारक होटलमा एसी प्रोजेक्टको ५ औं किस्ताको चिठ्ठा खोल्न लाग्दा मकवानपुरका प्रहरी प्रशासनले सो होटलमा पुगी वीरगंजमा रहेको कार्यालयको कार्यक्रम पर्सा जिल्लामा नै प्रशासनको अनुमति लिएर गर्नु, मकवानपुर जिल्लाको कुनै पनि ठाउँमा अवैधानिक गतिविधि नगर्नु भनेर निर्देशन दिएर आए पनि सञ्चालकहरुले गर्दिन ढाटेर प्रहरी प्रशासनको आँखामा धुलो झोकी आफ्नो ५ औं किस्ताको चिठ्ठा खोल्न सफल भएका छन् ।

यस सन्दर्भमा जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवाल सँग अल्ट्रा अभियानले तपाईको जिल्लामा आज लुकिछिपी स्मारक होटलमा चिठ्ठा खोलेको सूचना छ, तपाईलाई थाहा छ कि छैन ? भनि जिज्ञासा राख्दा वहाँले अल्ट्रा अभियानका सञ्चालकहरुले चिठ्ठा खोल्ने कार्यक्रम रहेको थाहा पाउने वित्तिकै यस्तो अवैधानिक गतिविधि हाम्रो जिल्लामा कहि कतै नगर्नु, गरेमा कारवाही गर्छु भनेर निर्देशन दिएको बताए । तर उनीहरुले सोही होटलमा आफ्नो दुई घण्टाको चिठ्ठा कार्यक्रम सफल गरेको भिडियो सार्वजनिक गरेका छन् नि त ? भनि पुनः जिज्ञासा राख्दा वहाँले हो र ? भनि प्रतिप्रश्न गर्दै भिडियो कहाँ छ, मलाई पठाउनुस त, म भोली नै बोलाएर कारवाहीको प्रक्रिया अगाडि बढाउने भनि प्रतिक्रिया दिए ।

अल्ट्रा अभियान डिजिटलले कम्पनि रजिष्टारको कार्यालयबाट टिभी एसेम्बलिङ्ग गरी विक्री वितरण गर्ने अनुमति लिएपनि वीरगंजमा प्रहरी प्रशासनकै संरक्षणमा किस्ताबन्दीको सदस्यहरु सँग महिनै पिच्छे रकम असुली अन्य जिल्लाहरुमा लुकिछिपी चिठ्ठा खोल्दै आएका छन् । तत्कालिन कम्पनि अभियान नामकको नामले बितेको २६ महिनासम्म प्रत्येक महिनामा चिठा खोल्दै कहिले स्कूटी, कहिले मोटरसाईकल, कहिले कुलर, कहिले फ्रिज, कहिले वासिङ्ग मेसिन, कहिले सिलाई मेसिन, कहिले मोबाईल, ल्यापटप र सुनका आकर्षक गरगहनाहरु सदस्यहरुलाई परे पनि प्रायःलाई नदिई हालसम्म अल्झाएर राखेको र केही नपरेको सदस्यहरुलाई अन्तिममा सान्तावना स्वरुप ३२ हजारको टिभी दिने भनिए पनि सो पनि नदिई वीरगंजको कार्यालयमा सञ्चालकहरुले नगई महिनौं दिन देखि भुमिगत रुपमा बसी एसी प्रोजेक्टको नयाँ कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।

नेपालमा चिठा खेलाउन बन्देज रहे पनि स्थानिय प्रहरी प्रशासनको मिलोमतोमा अभियानले ठगी गरेको करोडौं रकम दम्पच गरी सदस्यहरुलाई सान्तावना पुरस्कार ३२ हजारको टिभी दिने भनिए पनि केही सदस्यहरुलाई कामै नलाग्ने गरी १३ हजार ५ सयको टिभी थमाउदै गाली खादै हैरान भएका छन् । कतिपय सदस्यहरुले आफु ठगीमा परेको दुःखित हुदै कामै नलाग्ने टिभीहरु फर्काउने क्रम जारी राखेका छन् । यस एसी प्रोजेक्टको नयाँ कार्यक्रममा ६ हजार ९ सय ९९ जना सदस्यहरु बनाईएका छन् । प्रत्येक सदस्यहरु सँग प्रति महिना रु. २२५० को दरले मासिक रुपमा १ करोड ५७ लाख ४७ हजार ७५० असुली गरि राखेका छन् । पुरानो स्किमको सदस्यहरुलाई ठगी गरी सञ्चालकहरु सम्पर्क विहिन भए पनि लुकिछिपी एजेन्टहरु मार्फत बितेको जेठ, असार, साउन, भदौ र असोज महिना सम्ममा ७ करोड ८७ लाख ३८ हजार ७५० रुपैया उठाई सकेको एक एजेन्टले नाम नछाप्ने शर्तमा बताए ।

चिट्ठा ऐन २०२५ को दफा २ मा चिट्ठा विक्रि वितरण गर्न र खोल्न नपाउने व्यवस्था रहेको छ । तर दफा ३ मा नेपाल सरकारको स्विकृति लिएर चिट्ठा खोल्न सकिने व्यवस्था पनि रहेको छ । ३ को उपदफा (क) मा कुनै परोपकारी वा सार्वजनिक हित सम्बन्धि कार्यको सहायतार्थ चिट्ठा खोल्दा संस्थाले मात्र खोल्न पाउने छ र त्यसरी चिट्ठा खोल्दा चिट्ठा विक्रि भई प्राप्त भएको कुल रकम मध्येबाट ६० प्रतिशत पुरस्कार बाँडिने छ । त्यसपछि बाकी हुन आएको रकमलाई सम्बन्धित संस्थाले परोपकारी सार्वजनिक हित सम्बन्धि र चिट्ठा सञ्चालन सम्बन्धि काममा लगाउन सक्ने व्यवस्था रहेको उल्लेख छ । तर गैरकानुनी रुपले चिट्ठा खेलाउनेलाई दफा ७ बमोजिम बिगो जफत गरी बिगो बमोजिम जरिवाना वा ६ महिना सम्म कैद वा दुबै सजाय हुन सक्ने व्यवस्था रहेको ऐनमा उल्लेख रहेको छ ।

प्रतिक्रिया दिनुहोस

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤