Siraha Times
ताजा समाचार

डीएपी मलको चरम अभावः रोपाइँ सकिँदै, किसानको चिन्ता बढ्दै

  • असार ३१, २०८३
  • ३३९ पटक पढिएको
  • रहमुल
alt

रहमुल राइन लहान, ३१ असार । देशभर धान रोपाइँ अन्तिम चरणमा पुगिसक्दा किसानका लागि अत्यावश्यक डीएपी मलको अभावले कृषि क्षेत्र गम्भीर समस्यामा परेको छ। सखुवानन्कारकट्टी गाउँपालिका सहित पूर्वको झापादेखि पश्चिमको कञ्चनपुर–कैलालीसम्मका किसानले समयमै मल नपाउँदा धान उत्पादन प्रभावित हुने चिन्ता व्यक्त गरेका छन्।

यस वर्ष मनसुन अनुकूल हुँदा अधिकांश किसानले समयमै धान रोपाइँ सम्पन्न गरेका छन्। तर महँगो जोताइ, ज्याला मजदुरी र कृषि सामग्रीको बढ्दो लागतले थलिएका किसान अहिले डीएपी मलको अभावका कारण थप समस्यामा परेका छन्। कृषि प्राविधिकका अनुसार धान रोपेको केही समय भित्र पहिलो चरणको डीएपी मल प्रयोग गर्नु पर्ने हुन्छ। तर सरकारले पर्याप्त मल उपलब्ध गराउन नसक्दा किसान अन्योलमा परेका छन्।

किसानहरूका अनुसार स्थानीय सहकारीमा मागअनुसार मल नपुगेको कारण वितरण नै प्रभावित भएको छ। करिब एक हजार बोरा आवश्यक पर्ने स्थानमा एक सय बोरा मात्रै पठाइँदा किसान र सहकारी बीच विवादको अवस्था सिर्जना भइरहेको उनीहरूको गुनासो छ। कतिपय पालिकामा मल पुगे पनि मागभन्दा अत्यन्त कम भएकाले वितरण प्रक्रिया नै रोकिएको सहकारी सञ्चालकहरू बताउँछन्।

भारतबाट मल ल्याउने विकल्प भए पनि सीमापार बाट ल्याउँदा महँगो पर्ने, ढुवानी तथा प्रशासनिक झन्झट धेरै हुने भएकाले अधिकांश किसान त्यस बाट पनि लाभान्वित हुन सकेका छैनन्। यस विषयमा कृषि सामग्री कम्पनी लिमिटेड, लहान कार्यालयका प्रमुख चेवनकुमार खड्काले हाल तत्काल पर्याप्त मल उपलब्ध गराउने अवस्था नरहेको स्वीकार गर्दै प्रदेश सरकारसँगको समन्वयमा साउन ७ गतेभित्र थप डीएपी मल उपलब्ध गराउने प्रयास भइरहेको जानकारी दिए।

किसानहरूले भने सरकार प्रति असन्तुष्टि व्यक्त गरेका छन्। उनीहरूको भनाइमा हरेक निर्वाचनमा राजनीतिक दलहरूले किसानमैत्री नारा दिएर मत माग्ने, तर सरकारमा पुगेपछि मल, बीउ र सिँचाइ जस्ता आधारभूत समस्या समाधान गर्न नसक्ने प्रवृत्ति दोहोरिँदै आएको छ।

सिरहा र सप्तरीका विभिन्न स्थानमा दुई सातादेखि गरिएको स्थलगत रिपोर्टिङका क्रममा भेटिएका किसानहरूले यस पटक परिवर्तनको अपेक्षा सहित नयाँ नेतृत्वलाई समर्थन गरे पनि कृषि क्षेत्रका समस्या भने उस्तै रहेको गुनासो गरे। उनीहरूका अनुसार यस वर्ष धेरै किसानले अनुदानको उन्नत जातको धानको बीउ समेत प्राप्त गर्न सकेका छैनन्।

कृषियोग्य जमिन क्रमशः घट्दै गएको, खाद्यान्नको माग बढिरहेको र उत्पादन लागत निरन्तर उकालो लागिरहेका बेला सरकारले कृषि क्षेत्रमा आवश्यक योजना र आपूर्ति व्यवस्थापनमा पर्याप्त ध्यान नदिएको भन्दै किसान तथा कृषि सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्।

समयमै मल आपूर्ति हुन नसके उत्पादनमा प्रत्यक्ष असर पर्ने चेतावनी दिँदै किसानहरूले सरकारले तत्काल प्रभावकारी व्यवस्थापन गर्नु पर्ने माग गरेका छन्। अन्यथा कृषि पेशाप्रति नै किसानको मोहभंग हुने र यसको असर मुलुकको खाद्य सुरक्षामा समेत पर्ने उनीहरूको भनाइ छ। कृषि क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड मानिने नेपालमा हरेक वर्ष दोहोरिने मल अभावको समस्या अझै समाधान हुन नसक्नु सरकारका लागि गम्भीर चुनौती बनेको छ। अहिले किसानको एउटै प्रश्न छ—आखिर आवश्यक बेला मल कहिले उपलब्ध हुन्छ?

प्रतिक्रिया दिनुहोस

मलखाद वितरणमा पक्षपा ...

ओम प्रकाश यादव लहान, असार ३१ । खेतीपातीको मुख्य सिजनमा आवश्यक रासायनिक मलखाद नपाएको भन्दै सिरहाको भग ...

रितेश शर्मामाथिको कु ...

कपिलवस्तु, असार २९। प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाहले आफ्नो फेसबुकमार्फत प्रेस विज्ञप्ति सार्व ...

मोतिपुरमा ‘घर–घरको श ...

सिराहा, लहान। ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत लहान नगरपालिका–२०, मोत ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१