शम्भु चौधरी लहान, असार २५। सिरहाको धनगढीमाई नगरपालिका–११ सोनापुरमा सामान्य विवादले उग्र रूप लिँदा एकै परिवारमाथि कुटपिट र आगजनी भएको आरोप लागेको छ। घटनामा एकै परिवारका चार जनालाई कुटपिट गरेका छन् भने एक जनालाई हात भाची अस्पतालमा उपचाररत रहेका छन्। पिडित प्रमोद कुमार मण्डलले आफू, आफ्ना बुवा, वृद्ध आमा तथा बुहारीमाथि गाउँकै एक व्यक्तिले आक्रमण गरेको आरोप लगाएका छन्। पीडित मण्डलका अनुसार घटना आफ्नै घरअगाडि भएको हो।
उनका अनुसार उनी घरअगाडि गाउँकै तेजनारायण यादवसँग सामान्य हाँसोठट्टा गर्दै बसेका बेला सोही गाउँका रोशन कुमार यादव मादक पदार्थ सेवन गरेको अवस्थामा अचानक त्यहाँ आइपुगेका थिए। "कुनै पूर्वविवाद नभएको अवस्थामा उनले एक्कासि मलाई धक्का दिए, जसका कारण म नालामा खसेँ र मेरो दाहिने खुट्टाको बुढी औँला फ्र्याक्चर भयो," मण्डलले बताए।
घटनापछि प्रतिकार गर्न खोज्दा रोशन थप आक्रोशित भएको र त्यसपछि घरमै पुगेर पेट्रोल छर्की आगो लगाएको आरोप मण्डलको छ। आगलागीबाट घरमा क्षति नपुगेको उनले बताएका छन्। यति मात्र नभई आरोपितले कोदालोको बिँड प्रयोग गरी आफ्ना बुवामाथि आक्रमण गर्दा उनको हात नै भाँचिएको मण्डलले बताए। घाइते बुवाको हाल अस्पतालमा उपचार भइरहेको छ। घटनाका क्रममा घरमा रहेका वृद्ध आमा र बुहारीसमेत कुटपिटबाट प्रभावित भएको पीडित परिवारको भनाइ छ।
घटनापछि आफूहरूले तत्काल इलाका प्रहरी कार्यालय धनगढीमाईमा खबर गरेको मण्डलले बताए। प्रहरी घटनास्थलमा पुगेर प्रारम्भिक रूपमा दुवै पक्षलाई सम्झाइबुझाइ गरी फर्किएको भए पनि त्यसपछि पनि पटक–पटक आएर धम्की दिने क्रम नरोकिएको उनको आरोप छ। पीडितका अनुसार प्रहरीले सम्झाउँदा पनि आरोपित नमानेपछि अन्ततः मादक पदार्थ सेवन गरेको आरोपमा रोशन कुमार यादवलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ।
"म कुनै पनि किसिमले दोषी छैन। मेरो परिवारमाथि अन्याय भएको छ। हामीलाई सुरक्षा प्रदान गरियोस्, दोषीलाई कानुनी कारबाही गरियोस् र भएको क्षतिको उचित क्षतिपूर्ति दिलाइयोस्," मण्डलले माग गरेका छन्। यस घटनाले स्थानीयस्तरमा मादक पदार्थ सेवनपछि हुने हिंसात्मक घटनाप्रति चिन्ता बढाएको छ। स्थानीयवासीले यस्ता घटनालाई समयमै नियन्त्रण गर्न प्रहरी प्रशासनले अझ प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्।
यद्यपि, घटनाबारे इलाका प्रहरी कार्यालय धनगढीमाईको आधिकारिक धारणा सार्वजनिक हुन बाँकी रहेको छ। प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको स्रोतले जानकारी दिएको छ। पीडित पक्षले दोषीलाई कानुनबमोजिम कडा कारबाही गर्न तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन सम्बन्धित निकायले प्रभावकारी कदम चाल्नुपर्ने माग गरेको छ।
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic