ओम प्रकाश यादव लहान कात्तिक १७ । सिरहा जिल्लाको नवराजपुर गाउँपालिकाले आयोजना गरिएको ‘तेस्रो गाउँपालिका अध्यक्ष कप क्रिकेट प्रतियोगिता २०८२’ सफलता पूर्वक सम्पन्न भएको छ। गाउँपालिकाको खेलकुद प्रवर्द्धन तथा युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगितामा आज वडा नं. १ र वडा नं. ५ बीच फाइनल खेलमा वडा नं. १ विजयी बनेको छ भने वडा नं. ५ उपविजेता बन्न सफल भएको छ।
प्रतियोगितामा गाउँपालिकाका ५ ओटै वडाबाट बनेका टिमहरूले सहभागिता जनाएका थिए। रोमाञ्चक तथा प्रतिस्पर्धात्मक खेलहरूमा उत्कृष्ट प्रदर्शन गर्दै वडा नं. १ ले उपाधि हात पार्न सफल भएको हो। उपविजेता वडा नं. ५ ले समेत राम्रो खेल प्रदर्शन गर्दै अन्तिम चरणसम्म यात्रा पूरा गरेको थियो। फाइनल खेलमा वडा नं. १ ले निर्धारित ओभरमा लक्ष्यमाथि उत्कृष्ट ब्याटिङ र कडा बलिङ गर्दै जित हासिल गरेको थियो।

समापन समारोहका प्रमुख अतिथि समेत रहेका नवराजपुर गाउँपालिकाका अध्यक्ष (शिव उदगार यादव शिवा) ले विजेता टोलीलाई ट्रफी, मेडल र प्रमाणपत्रसहित नगद पुरस्कार प्रदान गरे। उपविजेतालाई समेत सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो। कार्यक्रममा बोल्दै अध्यक्षले खेलकुदले युवाहरूलाई अनुशासन, एकता र स्वास्थ्यसँग जोड्ने बताए। “खेलकुद केवल मनोरञ्जन मात्र होइन, समाज रूपान्तरण र सकारात्मक सोच विकासको माध्यम हो,” उनले भने, “गाउँपालिकाले आगामी दिनमा अझ विस्तृत र ठूलो स्तरको प्रतियोगिता आयोजना बताए।”

प्रतियोगिताका उत्कृष्ट खेलाडी (म्यान अफ द सिरीज), उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्समेन, उदाउँदो खेलाडी लगायतका शीर्षकहरूमा समेत खेलाडीहरूलाई सम्मान गरिएको थियो। यसपटक खेलभित्रै खेल भावना, अनुशासन, टीम वर्कको उच्च स्तर देखिनु प्रतियोगिताको विशेषता रह्यो।

प्रतियोगिता गाउँपालिकाको आयोजना, र स्थानीय युवा क्लबहरूको सक्रिय सहकार्यमा सम्पन्न भएको थियो। नवराजपुरका ५ ओटै वडाका वडा अध्यक्ष सहित स्थानीयवासी दर्शक तथा खेलप्रेमीहरूको बाक्लो उपस्थिति रहेको फाइनल खेलले गाउँमा उत्सवजस्तै वातावरण बनाएको देखियो ।युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्दै स्वास्थ्य, सहकार्य र खेलभावनाको विकास गर्ने उद्देश्यसहित यस्ता प्रतियोगिताले ग्रामीण स्तरमा लुकेको प्रतिभा उजागर गर्ने विश्वास आयोजकहरूले व्यक्त गरे। गाउँपालिकाले आगामी वर्ष चौथो संस्करणलाई अझ ठूलो स्तरमा आयोजना गर्ने तयारीमा रहेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2025 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic